बिर्तामोड र भद्रपुरमा भाक्का दिवसको तयारी

0
19

झापा ।

सातौँ राष्ट्रिय भाक्का दिवसको तयारी पूरा भएको छ । कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवस यो वर्ष पनि मनाउन लागिएको हो । दिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा योपटक डोमालाल राजवंशी रंगशालामा सातौं भक्का दिवस मनाउन लागिएको बताइएको छ ।

पूूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवस पुस २९ गते हुँदै आएको छ । समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भाक्का दिवसमा सहभागी हुँदैछन् । राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवद्र्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको अध्यक्ष राजवंशीले बताए ।

भाक्का दिवस शुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पु¥याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए । यो वर्ष भाक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् ।

कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने पक्का भएको छ । पश्चिम बंगालको अलिपुरद्वारकी उनी सन् २०२२को सारेगमपको बिजेता हुन् भने २०१७को भ्वाइस अफ इण्डिया किड्सको उपविजेता र २०१८को इण्डियन आइडल जुनियरको तेस्रो हुन् ।

त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष साह पनि कार्यक्रममा आउने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा पाँच सयजना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

भद्रपुरमा पनि भाक्का दिवस

झापाको भद्रपुरमा प्रथम राष्ट्रिय भाक्का दिवस उत्सवको रुपमा मनाउन लागिएको छ । आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार भाक्का (भाका)लाई यही पुस २९ गते आइतबारका दिन उत्सवको रुपमा मनाउन लागेको राजवंशी समाज विकास समिति झापाले जनाएको छ ।

भद्रपुर–६स्थित सिटी गार्डेन होटेल परिसरमा बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मनाउन लागेको दिवसको बारेमा समितिले आयोजनास्थलमै बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भाक्का दिवसको तयारी लगभग पूरा भइसकेको समितिका अध्यक्ष उत्तम राजवंशीले जानकारी दिए । राजवंशी समुदायले पुस २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउँदै आएको बताउँदै समितिका अध्यक्ष उत्तमले भने– ‘चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का हाम्रो समुदायले चिसो मौसममा खाने प्रमुख परिकारमा पर्छ ।’

यस दिवसका दिन २५ जनाले सामूहिक रुपमा माटोको भाँडा र दाउराको चुलोमा भाक्का बनाउनुका साथै विभिन्न स्वादका अचार र तरकारीसहितको स्टल राखिने उनले बताए । सो दिन दुई हजारदेखि २५ सय जनालाई भाक्का खुवाउने तयारी छ । दिवसलाई भव्य रुपमा मनाउने विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने उनले बताए । कार्यक्रममा राष्ट्रिय कलाकार बलराम राजवंशी, कुसुम राजवंशी, सपना राजवंशी, उर्मिला राजवंशी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रममा काठमाडौँ, सुनसरी, मोरङसहित झापाका सबै स्थानीय तहबाट राजवंशी समुदायको सहभागिता रहने बताइएको छ । करिब ३ लाख रुपैयाँ अनुमानित खर्च हुने यस कार्यक्रममा स्थानीय तहसहित विभिन्न दाताहरूबाट सहयोग रकम जुटाइने उनको भनाइ छ । कोचिला गाभुर फ्रन्टले जिल्लामा भाक्का दिवसको सुरूवात गरेको केन्द्रीय समितिका सचिव लखनलाल राजवंशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here