राष्ट्रनिर्माता पृथ्वीनारायण

0
11

पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन । पछि ‘श्री ५ बडामहाराजाधिराज’ उपाधिले विभूषित यिनको जन्म यिनी जन्मनुभन्दा मोटामोटी डेढ सय वर्षअघि विक्रम सम्वत् १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले स्थापना गरेको एउटा सानो, विपन्न र पहाडी राज्य गोरखाको राजदरबारमा वि.सं. १७७९ पुस २७ गते (७ जनवरी १७२३ इस्वी)मा भएको थियोे । बुवा राजा नरभूपाल शाहका चारवटी विवाहित रानीहरू मध्ये माहिली रानी पाल्पाली राजकुमारी कौशल्यावतीको गर्भबाट सात महिना मै जन्मेका उनको लालनपालन भने जेठी महारानी खाँचीकी राजकुमारी चन्द्रप्रभावती (निसन्तान)बाट भएको थियो । यिनको व्यक्तित्व र चरित्र निर्माणमा यिनै महारानीको ठूलो भूमिका रहेको थियो । यी महारानी महाराजपछिको दोस्रो स्थानको ‘चौतारा’ पदमा नियुक्त थिइन् । यिनी अत्यन्त प्रतिभा सम्पन्न नारी थिइन् । दलमर्दन शाह पृथ्वीनारायणका सहोदर भाइ थिए । साँहिली रानी बुद्धिमती (पर्वत)बाट सुरप्रताप र कान्छी रानी सुभद्रावती (तनहुँ)बाट महोद्दामकीर्ति र दलजित शाहको जन्म भएको थियोे ।

आफूसहितका पाँच भाइलाई उनले आफ्नो दिव्य उपदेशमा ‘पाँच पाण्डव’ भनेका छन् । आफ्ना बुवा महाराजको मृत्युपछि २० वर्षको कलिलो उमेरमा गोरखा राज्यको राजा भएका (२५ चैत १७९९)उनले युवराज हुँदैको अवस्थामा नेपाल खाल्डोका तीनै वटा समृद्ध राज्यहरू भक्तपुर, कान्तिपुर र ललितपुर (पाटन)को गहिरो अध्ययन गरिसकेका थिए । १६ वर्षकै उमेरमा (वि.सं. १७९५) मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह भएको तर बेहुली नलिई फर्किनुपरेको अवस्थामा उनले चन्द्रागिरीको डाँडाबाट पहिलो पटक काठमाडौं उपत्यकाका तीन वटै शहर (राज्य) देखेका थिए । त्यतिखेरै उनी ती राज्यहरूको राजा हुन लालायित भएका थिए । पहिलो विवाह सफल हुन नसकेपछि गोरखपुरकी कन्या नरेन्द्रलक्ष्मीसँग उनको दोस्रो विवाह भएको थियो (वि. सं. १७९७÷सन् १७४० फरवरी) ।

राष्ट्रनिर्माणको महान योजना बोकेका उनी दाम्पत्य जीवनको सुखभोगमा अल्मलिन चाहेनन् । आफ्ना बुवाको प्रतिनिधित्व गर्दै उनी तुरुन्तै भक्तपुर राज्यमा गए (सन् १७४१) । त्यहाँका राजा रणजित मल्लका एक छोरा वीरनरसिंहसँग मीत लगाएर लगभग एक वर्ष त्यहीँ बसे । त्यतिखेरै उनले तीन वटै मल्ल राज्यको गहिरो अध्ययन गरेका थिए । बुवाको मृत्युुपछि वि.सं. १७९९मा आफू राजा हुने बित्तिकै उनी राष्ट्र एकीकरण अभियानमा जुटिहाले । बुवा नरभूपाल शाहले आफ्नो जीवनको अन्त्यकालतिर गरेको युद्धमा हार खानु परेको कान्तिपुरको एउटा प्रदेश नुवाकोटमाथि उनले राजा हुने बित्तिकै आक्रमण गरिहाले । तर, विजय हासिल भएन । दोस्रो पटक आक्रमण गरी १५ असोज १८०१ मा नुवाकोट जित्न सफल भए । उपत्यकाका तीन वटा समृद्ध मल्ल राज्यहरू जित्न भने उनलाई सजिलो थिएन ।

त्यसबखत अहिलेको नेपाल ५० वटाभन्दा बढी राज्यहरूमा विभक्त थियोे । पश्चिमका बाइसे र चौबिसे राज्य, उपत्यकाका तीन राज्य, मकवानपुर र त्यससँग सम्बन्धित पूर्वका चौदन्डी, विजयपुर लगायतका राज्यहरू थिए । लगभग मध्यतिर अवस्थित सानो पहाडी राज्यले यी सबैसँग लड्नु थियोे । यी मध्ये थुप्रै राज्यहरू आफूभन्दा धेरै शक्तिशाली, समृद्ध, सम्पन्न र सङ्गठित थिए । पृथ्वीनारायण शाह यस्तो यथार्थसँग पूर्ण जानकार थिए । आफ्नो महान आकांक्षा ‘फत्य’ गर्न आफ्ना मामा पाल्पाली राजकुमार (युवराज) उद्योत सेनको सल्लाहलाई उनले मार्गदर्शक सिद्धान्त बनाए । दिव्योपदेशमा उनले यस सल्लाहलाई बडो महत्व दिएका छन् । त्यसपछि उनी व्यापक तयारीमा जुटे । आफ्नो दोस्रो ससुराली जाने निहुँ पारी गोरखपुरतिरबाट बन्दुक, गोलाबारुद किनेर ल्याए । साथै कुशल मुसलमान कालिगडहरू पनि लिएर आए । गोप्यरूपमा हातहतियार, गोलाबारुद लगायत युद्ध सामग्रीहरू निर्माण गराए । काठमाडौं उपत्यकालाई पहिलो गन्तव्य बनाए ।

नुवाकोट लगायत स–साना ठाउँहरू जित्दै कालु पाँडेको नेतृत्वमा २८ मई १७५७ (वि.सं. १८१४) मा कीर्तिपुरमाथि पहिलोपटक आक्रमण गरे । त्यहाँ नराम्रो हार प्यहोर्नुप¥यो । वीर योद्धा कालु पाँडे मारिए । यो वर्ष अत्यन्त महत्वपूर्ण किन पनि छ भने यो युद्ध भएको लगभग महिना दिनपछि उत्तरी भारतको पलासी भन्ने ठाउँमा भएको युद्धमा भारतमा पहिल्यै प्रवेश गरिसकेको अंग्रेजी इस्ट इण्डिया कम्पनीले पृथ्वीनारायण शाहकै समवयी रोबर्ट क्लाइव नामका एकबहादुर युवकको नेतृत्वमा विजय हासिल गर्दै भारतमा अंग्रेजी शासनको बलियो जग हालिएको थियोे । पछि त्यही जगमा उसले विशाल साम्राज्य विस्तार गर्न पूर्ण सफलता पाएको थियो । नेपाल सङ्गठित र बलियो राष्ट्र हुन नसके एकएक गर्दै उसको पन्जाभित्र पर्दै जाने खतराप्रति पृथ्वीनारायण शाह सचेत थिए । यसैबाट प्रेरित भएर उनी आफ्नो अभियानमा दृढतापूर्वक लागिरहे ।

किर्तिपुरमाथि १६ सेप्टेम्बर १७६४ मा गरेको दोस्रो युद्धमा पनि गोर्खाली सेनाले हार नै व्यहोर्नुप¥यो । तर, गोर्खाली राजाले हरेस खाएनन् । ३ चैत १८२२ (अक्टोबर १७६५)मा भएको तेस्रो युद्धमा गोर्खालीको जित भएरै छाड्यो । त्यसपछि १३ असोज १८२५ (२५ सेप्टेम्बर १७६८) का दिन काठमाडौं जित्न पृथ्वीनारायण शाह सफल भए । ललितपुर (विजय २४ असोज १८२५) र भक्तपुर (विजय २८ कात्तिक १८२६) सजिलै हात लागे । यति लामो अवधिमा यसअघि नै गोरखालीहरूले साँखु, चाँगु, नाल्दुम, महादेवपोखरी, लामिडाँडा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा जितिसकेका थिए । त्यसैले गर्दा उपत्यकामाथि लगाइएको नाकाबन्दी सफल भएको थियो । यसबीचमा गोरखाली सेनाले मिरकासिमको आक्रमण , क्या. किनलक नेतृत्वको अंग्रेजी आक्रमणको सफलतापूर्वक सामना गरिसकेको थियो ।

त्यसपछि उनी पश्चिमी अभियानमा लागे । तर, त्यसमा सफलता हात लागेन । प्रारम्भमा तनहुँ, लमजुङ, कास्की, सतहुँ, पर्वत, रिसिङ, घिरिङ, ढोर, स्याङ्जा, गरहुँ, पैँयु राज्यहरू हात लागे पनि तुरुन्तै तिनीहरू स्वतन्त्र भए । यस अभियानमा बख्सी केहरसिंह बस्नेतसहित पाँच सय जति सैनिकले ज्यानै गुमाउनुप¥यो । वीर योद्धा वंशराज पाँडे लामो समयसम्म शत्रुको कैदमा रहनुप¥यो । १८२८ पुस ५ मा भएको भीषण युद्धमा पराजय भएपछि गोरखालीले पश्चिमी अभियान स्थगन गरे । हिजोआज पृथ्वीनारायण शाहका प्रशंसक, समर्थकहरूले भन्ने गरेको– ‘पृथ्वीनारायण शाहले बाइसे, चौबिसे राज्यहरू जितेर नेपाल एकीकरण गरे’ भनाइ सत्य साबित हुँदैन । उनको पूर्वी अभियान भने पूर्णतः सफल रह्यो । अभिमानसिंह बस्नेत, रामकृष्ण कुँवर, अमरसिंह थापा(बडा) लगायतको नेतृत्वमा गएको गोरखाली फौजले सहजै जीत हासिल ग¥यो । सिक्किमको कब्जामा परिसकेको इलाम क्षेत्र बिनायुद्ध फिर्ता आयो । नेपालको पूर्वी सिमाना टिस्टा नदीसम्म पुग्यो । यसै बखत १ माघ १८३१ ÷११ जनवरी १७७५ मा ५२ वर्षको अल्पायुमै नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको दुःखद् निधन भयो । उनको निधन सम्पूर्ण नेपालीका लागि दुर्भाग्य सावित भयो ।
आफ्नो छोटो जीवनकालमा नेपाल राष्ट्रको हितमा गरेको महान् कार्यका लागि पृथ्वीनारायण शाहप्रति कृतज्ञ हुनुको सट्टा उनलाई गाली गर्ने, सराप्ने, थुक्ने कृतघ्न बैगुनी नेपालीहरू अचेल थुप्रै देखिन थालेका छन् । उनको सुकार्यलाई ‘खुनी हमला’ ‘गोर्खा राज्यको विस्तार’ ‘सामन्ती निरङ्कुशता’ आदि आरोप लगाइन्छ । यस्ता कृतघ्नहरूले नेपालका साथै भारत, युरोप, अमेरिका लगायत विश्वकै प्राचीन, मध्यकालीन र आधुनिक आधिकारिक इतिहासका किताबहरू पढे राम्रो हुने थियो । डलर खुवाएर लेखाइएका भ्रामक इतिहासका ‘बुक्स’ले धेरैलाई दिग्भ्रमित बनाइदिएका छन् ।

आन्तरिक र बाह्य आक्रमणहरू कति घातक र पीडादायक हुन्छन् भन्ने बुझ्न काठमाडौं उपत्यकाको इतिहास मात्रै सरसर्ती हेरे पनि हुन्छ । त्यहाँका बासिन्दाले झेल्नुपरेका सिन्जाका खस राजा जितारी मल्लको दुई पटकको आक्रमण (१३४४ पुस र १३४५ फागुन), खस राजा रिपु मल्लको आक्रमण (वि.सं. १३४६), तिरहुतका सेनाको आक्रमण (वि सं १३४७, पुस १३५६, माघ १३६७, कात्तिक १३६८), खस राजा आदित्य मल्लको आक्रमण (फागुन १३८४) कति भयावह थिए ! यी मध्ये धेरैजसोले लुटपाट मात्र गर्थे, कसैले आगलागी समेत गराउँथे । कतिपयले भने पशुपतिनाथ लगायतका मन्दिरहरूमा पूजापाठ गर्ने, आकर्षक भेटी चढाउने समेत गर्थे । तर, बाह्य आक्रमणहरू भने अत्यन्तै क्रूर र पीडादायक हुन्थे । वि.सं. १४०६ मा भएको बङ्गालको सुल्तान समसुद्दिन इलियसको आक्रमण नृशंस र क्रूरताको हद थियो । उसले लुटपाट गर्ने, आगो लगाउने, तोडफोड गर्ने जस्ता विध्वंस मात्र गरेन हाम्रा आस्थाका केन्द्रहरूमा गई भगवानका मूर्तिहरू तोडफोड समेत ग¥यो । कैयौं महिला बलात्कृतसम्म भए ।

छिमेकी देश भारतले त झन् सदियौँसम्म विदेशीहरूको शासन, दमन, अत्याचार खप्नु परेको थियो । मुस्लिम र अंग्रेज शासकहरूको कठोर शासन दीर्घकालसम्म भोग्नुपरेको थियो । यसैबीच उत्तरबाट पसेका हूणहरूको जघन्य, क्रूर हमलाको पनि सामना गर्नुपरेको थियो । युरोपका विभिन्न राज्यहरूले व्यापारको नाममा शोषण त गरे नै इङ्ल्यान्डबाट आएका अंग्रेजहरूले त लगभग दुई सय वर्ष दमनकारी शासन नै गरेका थिए । नादिर शाहले गरेको नरसंहार र लुट (सन् १७३९), जालियाँवालावागको सामुहिक हत्याकाण्ड (१३ अप्रिल १९१९) भारतीयहरूले कहिल्यै बिर्सन सक्लान् र ? सन् १९४७ देखिमात्र उनीहरूले आफ्नो देशको शासनसत्ता सम्हाल्न पाएका हुन् । आफू अत्यन्तै कमजोर भएको हुँदा अमेरिकालीहरूले त आफ्नो महादेश नै युरोपेलीहरूलाई सदाका लागि सुम्पिनुप¥यो । युरोपेलीहरूले अफ्रिकी महादेशभरि ताण्डव देखाए । त्यहाँका अंकुत सम्पत्ति सयौँ वर्षसम्म ओसारिरहे । त्यहाँका जनतालाई दास बनाएर पशुवत् व्यवहार गरे । लुटिएका सम्पत्ति त्यहाँका बिलयाबाङ्गा युवालाई कुरुस्त बोकाएर त लगे नै तिनलाई उतै दास बनाएर राखे । पशुलाई जस्तो घाँटीमा फलामका साङ्लाले बाँधेर बेचबिखन समेत गर्थे ।

हाम्रा पृथ्वीनारायण शाहले त्यस्तो अमानवीय व्यवहार कहीँ कतै गरे ? कसैलाई दास बनाए ? लुटपाट, बलात्कार, हिंसा, तोडफोड गरे ? कतिपयले’ कीर्तिपुरेहरूको नाक काटेको घटना’लाई अतिरञ्जित गरेर प्रस्तुत गर्छन् । टुक्रा–टुक्रामा विभाजित नेपालका साना, ठूला राज्यहरूलाई अंग्रेजी सत्तामुनि पु¥याउने कुत्सित उद्देश्य बोकेर आएका कथित धर्म प्रचारकहरूलाई उपत्यका जित्ने बित्तिकै पृथ्वीनारायण शाहले खेदेका थिए । त्यसको बदलास्वरूप तिनीहरूले लेखेका कथित इतिहासमा अतिरञ्जनापूर्वक वर्णन गरे । त्यसै आधारमा उनीमाथि यस्ता आरोप लगाइएका हुन् । समान धर्म र नश्लका, नेपाली भाषालाई माध्यम भाषा बनाएका, अनादि कालदेखि बसोबास गरिआएका सम्पूर्ण बासिन्दाहरूलाई एक सूत्रमा बाँध्दै साझा ‘नेपाली’ नाम दिनु उनको अपराध हो ? ‘नेपाल ’ शब्द गोर्खाली भाषाबाट ल्याइएको हो ? इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइ यहाँ सान्दर्भिक होला– ‘युद्धकालमा अन्य देश वा जातिका मूल्य–मान्यता तथा भावनाहरूमा कुनै पनि किसिमले आघात नपार्ने, हातहतियार लिएर अघि नसर्ने कृषक, शिल्पकार तथा अन्य सर्वसाधारण जनतालाई कुनै किसिमले हानी–नोक्सानी नपु¥याउने र आफ्ना विपक्षीहरू नै भए पनि उनका जहान–परिवारहरूको भने जिउधनको सुरक्षा गरिदिने जस्ता यिनले आजीवन अपनाएका अनुकरणीय एवम् आदर्श नीति नै यिनका एकीकरण अभियानका सफलताका परिचायक भएर रहेका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here