नवजागरण सम्बृद्धिको दशौं सभा

0
9

सुरुङ्गा।

नवजागरण सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुरुङ्गाको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षता र कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष उप्रेतीद्वारा प्रस्तुत आ.व. २०७९÷०८० को कार्यक्रम तथा कारोवारको प्रगति समीक्षा र आ.व. २०८०/०८१ को कार्ययोजना तथा कार्यक्रम समेटिएको वार्षिक प्रतिवेदन सभाको बन्द सत्रले पारित गरेको थियो ।

अध्यक्ष उप्रेतीले कोरोना महामारीले आक्रान्त पारेको सहकारी क्षेत्र आर्थिक मन्दी र महँगीको मारमा परेको र सहकारीका विरुद्ध फैलाइएका भ्रमका कारण सृजित असहजता, प्रतिकूलता र षडयन्त्रसँग जुध्दै शेयर सदस्यसँगको एकाकार हुँदै नवजागरण सहकारी संस्था अघि बढिरहेको बताएका थिए ।

प्रमुख अतिथि चम्लागाईंले शेयर सदस्यहरुको पूँजी, श्रम र सीपलाई अधिकतम सदुपयोग गरी स्वरोजगार सृजना गर्न सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । राज्यले संविधानको मर्मअनुरुप रोजगारको हकको व्यवस्था गर्ने परिकल्पना गरेको भए पनि हाल राज्यको परिकल्पनाअनुरुप व्यवहारमा काम नभएकाले सहकारीले स्वरोजगारका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो ।

संस्थाले कृषकका लागि मल, बीउ र विषादी उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने, युवा स्वरोजगार कोषबाट संस्थाले ल्याएको ऋण असुली भएकाले थप १ करोड रुपैयाँ कोषसँग माग गर्ने, सहकारी ऐन र मर्म अनुरूप सहकारी अभियानलाई अझै सुदृढ र व्यवस्थित गर्न अन्य सहकारी संस्थाहरुसँग एकीकरणको लागि पहल गर्ने, संस्थाबाट ऋण लगानी गर्दा ऋणको बिमा गर्न बिमा कम्पनीसँग समन्वय गर्ने, शेयर सदस्य मृत राहत कोष, सदस्य उपचार कोष र जोखिम कोष स्थापना गर्ने, ऋण लगानीको सीमा १० लाख रुपैयाँसम्म कायम गर्ने, बिना धितो प्रदान गर्ने गरिएको कर्जालाई निरुत्साहित गर्ने, कर्जा प्रवाहका लागि १६ प्रतिशत ब्याजदर कायम गर्ने लगायतका निर्णय गरिएको संस्थाका कोषाध्यक्ष डिल्लीराम पौडेलले जानकारी दिए ।

सो साधारणसभामा उत्कृष्ट बचतकर्ताको रूपमा रमेश प्रसाईं, असल ऋणीको रूपमा सुरेश तिवारी र वर्ष उत्कृष्ट कर्मचारीका रूपमा टीकादेवी खनाललाई पुरस्कारसहित सम्मान गरिएको थियो । साधारणसभामा लेखा संयोजक सागर ओलीद्वारा प्रस्तुत आ.व. २०७९÷०८० को लेखा परीक्षण प्रतिवेदन पारित गरिएको थियो ।

कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, संस्थाका सल्लाहकार प्रेमप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभाले सल्लाहकार तेजप्रसाद आचार्यको संयोजकत्वमा लेखा समिति सदस्य उपेन्द्र अधिकारी र सञ्चालक समितिका सचिव बद्रीकुमार दाहाल सदस्य रहेको संस्थाको विधान संशोधनका लागि मस्यौदा समिति गठन गरिएको थियो ।

१ सय ११ जना महिलासहित २ सय २३ शेयर सदस्य रहेको संस्थाको कुल चुक्ता शेयर पुँजी ५४ लाख ५ हजार ३ सय रुपैयाँ रहेको बताइएको छ । संस्थाका उपाध्यक्ष जानुका आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव बद्रीकुमार दाहालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here