सेटिङमा भारतबाट औषधि भित्र्दै:उपभोक्ता ठगिँदै, राजश्व गुम्दै

0
9

शम्भु दाहाल,
झापा।

भन्सार कर्मचारी, प्रहरी, प्रशासन र औषधि तस्करको मिलेमतोमा झापामा बिरामी ठगिने क्रम बढेको छ ।

काँकरभिट्टा नाका हुँदै भारतबाट मूल्यसूची (एमआरपी) नराखिएका औषधि ल्याएर कमिशनका लागि बिरामीको स्वास्थ्यमा खेलबाड गरिने गरेको खुलेको हो । यसरी ल्याइएका औषधि झापामै एमआरपी लगाएर बिक्री हुने गरिएको छ । यस्ता औषधिले सेवाग्रहीको स्वास्थ्यमा मात्र हानी पु¥याएको छैन लाखौँ राजश्व पनि छली भइरहेको छ । औषधिमा पाइने कमिसनका कारण केही चिकित्सकहरूले बिरामीलाई आवश्यकताभन्दा बढी र कमिशन पाउने कम्पनीको औषधि मात्र सिफारिस गर्ने गरेको भन्दै यसलाई रोक्न जनस्वास्थ्य सेवा ऐन, २०७५ जारी गरे पनि कार्यान्वयनमा सरकारले कडाइ नगर्दा झापामा उपभोक्ता ठगिने क्रम अझ बढेको छ ।

झापामा डाक्टरले मात्र औषधि लेखेर कमिशन खाँदैनन् । भारतबाट एमआरपी उल्लेख नभएका औषधि ल्याएर आफैँ एमआरपी हानेर बेच्ने तस्करहरूको गिरोहका कारण पनि बिरामी मारमा रहेको जानकारहरू बताउँछन् । छालाको रोगमा प्रयोग हुने मल्हमहरू, फुडसप्लीमेन्ट्री भारतबाट ल्याएर आफैँ एमआरपी राखेर बेच्ने गरेका छन् । भारतमा नेपालका लागि मात्र बिक्री गर्ने भनेर लेखिएका बिरामीका लागि प्रयोग गरिने यी औषधिमा भारतमा एमआरपी हालिएको हुँदैन । नाम नबताउने शर्तमा एक एमआरले भने– ‘काँकरभिट्टा भन्सारबाट ल्याइन्छ र झापाकै कुनै ठाउँमा एमआरपी हानेर बिक्री गरिन्छ ।’

जनस्वास्थ्य सेवा ऐन, २०७५ मा डाक्टरहरूले बिरामीलाई औषधि सिफारिस गर्दा कम्पनीको ब्रान्ड लेख्न नपाउने ऐनको दफा २९ मा उल्लेख छ । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधि सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्नेछ’– ऐनमा भनिएको छ । यसले डाक्टरले औषधिमा खाने कमिशनमा कमी आउने प्रष्ट थियो । तर, सरकार कानून कार्यान्वयन गर्न असफल भएको छ । यो ऐनसँगै कमिशनमा औषधि वितरकले खाने बाटो पनि खुलेको छ । डाक्टरले अहिले पनि औषधि लेख्दा ट्रेड नेम लेख्ने गरेका छन् ।

कमिसनको जालोमा बिरामी

औषतमा १० देखि २० वर्षसम्म लिइएको पेटेन्टको अवधि पूरा भएपछि सोही औषधिमा भएको सक्रिय तत्वको नाममा अन्य कम्पनीले पनि औषधि बनाउन पाउँछन् । त्यो नै जेनेरिक औषधि हो । कुनै एउटा रोगको उपचारका लागि विभिन्न प्रकारको अध्ययन अनुसन्धानपछि तयार पारिने रसायनको जेनेरिक नाम विश्वभर नै एउटै हुन्छ । ग्याष्ट्रिकको पेन्टाप्राजोल जेनेरिक नाम हो । ग्याष्ट्रिककै ग्रोपान, पेन्टाजलागायतका ट्रेड नेम भएका औषधि छन् । डाक्टरले ग्याष्ट्रिकको बिरामीलाई औषधि लेख्दा पेन्टाप्राजोल लेखेको देखिँदैन ।

अधिकांश डाक्टरले मेड्ली कम्पनीको पेन्टाज सिफारिस गर्ने गरेका छन् । एउटै मूल्य भएको ग्रोपान किन सिफारिस गर्दैनन त ? तर, बिरामी बिना जाँच आफैँ फार्मेसी गएर ग्याष्ट्रिकको औषधि मागे फार्मेसीवालाले ग्रोपान दिने गरेका छन् ।

किन हुन्छ यस्तो ?

कम्पनीले ग्रोपानमा रिटेलरलाई १०० प्रतिशत छुट दिन्छ यो भनेको सय पिस किन्दा सय पिस बेच्नेलाई फ्रिमा दिने हो । त्यही कारण फार्मेसीले यही औषधिमात्र दिन खोज्छ । पेन्टाजले भने १० प्रतिशतमात्र रिटलरलाई दिन्छ । रहेको ९० प्रतिशत एमआरमार्फत डाक्टरलाई प्रलोभनमा पार्छ । त्यही कारण डाक्टरले पेन्टाज नै सिफारिस गर्ने गरेका छन् । यो एक उदाहरण हो । हरेक औषधिमा यस्तै धेरै ब्राण्ड रहेका हुन्छन् । तर, १०० प्रतिशत कमिशन दिने औषधिले पनि बिरामीलाई भने छुट दिँदैन ।

टिटानसको सुई, रेबीजको सुईलगायतका प्रिपज मेन्टिनेन्स गर्नुपर्ने कुराहरुमा एक ठाउँबाट अर्को ठाउँमा लाँदा यो मेन्टिनेन्स गरिएको÷नगरिएको अनुगमन भएको छैन । केही औषधिमा २२ सय गुणासम्म नाफा खाने गरेको विभिन्न समय चर्चामा आइरहन्छ । अधिकांश औषधिमा भने वितरकले १६ प्रतिशत नाफा पाउँछ । तर, कमिशनका औषधिहरूले सरकारलाई सँधै कर छली गर्ने गरेको छ । भारतबाट आउने औषधिमा सीसी चार्ज भनेर ७ दशमलव ५ प्रतिशत थप हुन्छ । नेपालका कमिशनको औषधिले कर तिरेको देखिँदैन ।

कुन–कुन कम्पोजिसनलाई मिसाएर औषधि बनाउन पाइने भन्ने निर्धारण गरिएको भए पनि भारतबाट आउने धेरै औषधि नेपालको मापदण्डमा पर्दैनन् । तर, अनुगमन नहुँदा बिरामीको स्वास्थ्यमा खेलबाड भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here