२४ सैं घण्टा पेट्रोलपम्प खुल्ला

0
11

विनोद पाण्डे
चारपाने।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने झापाको बिर्तामोड व्यस्त शहरमा पर्दछ । भारतसँगको सिमाना नजिकै पर्ने भएकाले पनि बिर्तामोडमा लामो तथा छोटो दूरीका लागि चल्ने सवारीहरुको संख्या दैनिक लाखौं हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

रात्रिकालीन समयमा भारतबाट नेपाल भित्रिने मालबाहक सवारी, झापाबाट छुट्ने र पूर्व पहाडी जिल्लाहरुबाट झरेका सवारीसाधनहरुको संख्या बिर्तामोड र आसपासका शहरहरूमा उल्लेखनीय रहने गरेको छ । झापा त्यसमा पनि बिर्तामोड, मेचीनगर, कन्काई लगायतका शहरहरू सुगममा पर्दछन् । तर विडम्बना भनौँ या परिस्थितिले हो । झापाका यी शहरहरूको ठूला अस्पताल बाहेक सबै क्षेत्र साझ नपर्दैै बन्द हुने गरेका छन् । विभिन्न व्यवसायीक स्थलहरू राति बन्द हुदाँ सर्वसाधारणको जनजीवनमा खासै अप्ठ्यारो त पर्दैन, तर बिर्तामोडका पेट्रोलपम्पहरू बन्द भइदिनाले सर्वसाधारणहरूले निकै समस्या झेल्नु परेको अवस्था रहेको बताउँछन् ।

बिर्तामोड क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमै नौ वटा पेट्रोलपम्पहरू रहेका छन् । त्यस्तै कनकाई नगरपालिका क्षेत्रमा तीन वटा पेट्रोलपम्पहरू सञ्चालनमा रहेका छन् । यी मध्ये धेरै पम्पहरु साँझ पर्ने बित्तिकै बन्द गरिने गरेको छ । तर, बिर्तामोड र कनकाईका केही पेट्रोलपम्प सञ्चालकहरूले भने २४ घण्टा नै आफ्नो पम्प खुला राख्न थालेका छन् । बिर्तामोड–चारपानेको गौरव ट्रेड एण्ड सप्लायर्स, राम चोकको आसमा ट्रेड एण्ड सप्लायर्स, कनकाई सुरुङ्गा पुल छेउमा रहेको पवित्रा आयल ट्रेडर्सले रात्रिकालीन सेवा शुरु गरेको गौरव ट्रेडका सञ्चालक बन्टी गिरीको भनाइ छ ।

अरुले पनि पम्प खुला गर्दै होलान् नी ? भनेर गरेको प्रश्नमा गिरीले भने– ‘अरु पनि पम्पहरूले रात्रिकालीन सेवा दिन थालेका होलान् तर जानकारी प्राप्त छैन । मेरो पम्प चौबिसै घण्टा नै गेट खुला राखेर सञ्चालन गर्दै आएको छु । केही पम्पहरुले १० बजेसम्ममा गेट खुला राख्ने गरेका छन् । समय र उपभोक्ताको माग अनुसार सबै पम्पहरु राति पनि खुला गरिनु पर्ने हो ।’

झापामा रात्रिकालीन समयमा पेट्रोलियम पदार्थ खरिद गर्न पाइन थालेपछि सर्वसाधारणहरू पनि खुशी भएका छन् । दिनभरी रोजगारी तथा यात्रा गरेर फर्किएका र रात्रिकालीन समयमा कामका लागि निस्कनेहरूले विगतका दिनमा पम्पहरु बेलुका नै बन्द हुने हुँदा किराना लगायतका पसलमा बोतल भुल्डुङमा बेच्न राखेको पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य भएको र अहिले तीन वटा पम्पहरू २४ घण्टा खुला हुन थालेपछि रातको समयमा महँगो मूल्य र मिसावट पेट्रोलियम पदार्थ प्रयोग गर्नुपर्ने सर्वसाधारणको बाध्यता टरेको आसमा पम्पका व्यवस्थापक मातृका पराजुलीले बताए ।

बेलुका ७ बज्दा–नबज्दै पेट्रोल पम्पहरू बन्द हुने हुँदा, गस्तीमा खटिएको प्रहरी भ्यान, एम्बुलेन्स, कृषिजन्य सामग्री ढुवानी गर्ने सवारीसाधन, सार्वजनिक बसदेखि अटोरिक्सासम्मका सवारीचालकहरूले तेल अभावको समस्या झेल्दै आएका थिए ।

बढ्दो सवारी चाप र नागरिकको व्यस्त जीवनशैली अनुसार सबै ठाउँका पेट्रोल पम्पहरू चौबिसै घण्टा खुला गरिनुपर्ने हो । सर्वसाधारणहरूले पनि रात्रिकालीन सेवा प्रवाह गर्न आग्रह गरिरहेका छन् । पेट्रोलपम्पहरू प्रायः एकान्त ठाउँमा रहने र सुरक्षाको हिसाबले सबै पम्पहरू राति खुला हुन नसकेको सञ्चालकहरुको भनाइ छ । स्थानीय सरकार, प्रहरी प्रकाशनले सुरक्षाको प्रत्याभूति दिलाउन सके सबै पम्पहरू खुला गर्न सकिने अवस्था रहन्छ । यसतर्फ संघले पनि आवश्यक पहल गर्दै आएको मेची पेट्रोलियम व्यवसायी संघका महासचिव बिनोद बस्नेतको भनाई छ ।

बिर्तामोड पूर्वकै व्यापारिक शहर भनेर जति चर्चा हुने गरेको छ । त्यति व्यवस्थापन पक्षमा सरकारले ध्यान पु¥याउन सकेको छैन । बिर्तामोड बजारलाई रात्रिकालीन खुला राख्नुपर्ने व्यवसायीबाट माग पनि उठिरहेको छ । बिर्तामोडलाई समृद्ध नगर बनाउन व्यवसायिक क्षेत्रको प्रबन्धन गर्न जरुरी रहेको छ । केही पेट्रोलपम्प सञ्चालकहरूले रात्रिकालीन सेवा शुरु गर्दा हजारौं सवारी चलाउने सर्वसाधारणहरूले सुविधा पाउन थालेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here