
गौरवशाली इतिहास हाम्रो गाथा बिरताको
शान्तिप्रिय सेना हाम्रो प्रतिक एकताको
गरी सम्हार आतंकको गर सम्भार देशको
बचाई संस्कृति गर रक्षा भाषा, भुषा र भेषको ।
दुरद्रष्टा, युगद्रष्टा तीक्ष्ण बुद्धी अनि चतुर
शैन्यकौशल, रणकौशलमा निपूर्णता प्रचुर
थिए एक कमाण्डर राजा पृथ्वीनारायण
राष्ट्रप्रति इमानदार अनि कर्तव्यपरायण ।
गोरखा हुँदै कान्तिपुर जुटाई देश सारा
सगौरब एकताको लगाउँछौं हामी नारा
स्वतन्त्र र सधैँ अटल संसारमै छ राम्रो
राष्ट्रनिर्माण गरी बन्यो मजबुत देश हाम्रो ।
तिलंगा भनि शुरु फौजी, नेपाली सेना बन्यो
विश्वभरका देशहरुले पनि उत्कृष्ट सेना भन्योे
पुर्खाको वीरता बोकी हिँड्ने सधैँ पाखुरामा
तराई, पहाड, हिमाल अनि अग्ला ती टाकुरामा ।
आँधिबेरी, बाढी पहिरो हिंडी सँगैसँगै
लड्दै कडा संकटबीच हाँसिरहने सधँै
भीरपाखा पहरामा बाटो खन्दाखन्दै
भए कति सहादत जय मातृभूमि भन्दै ।
अटल यो देशलाई छ तिम्रै आशा भरोषा
शान्ति अनि सुरक्षामा छाउन नदेऊ निराशा
अन्धकारमा ज्योति छर्दै दुःखको बन सारथी
चढाउँछु स–सम्मान तिमीलाई सम्मान गारती ।
बनाई मूलमन्त्र शान्ति, सुरक्षा अनि एकता
जोगाई सार्वभौमिकता, बचाऊ राष्ट्रियता
डमरु अनि त्रिशुल बोकी रच्यौ इतिहास पनि
देखाई माटोको माया जितेर आयौ अनि ।
टिस्टा अनि कांगडा लड्यौ नालापानीमा
देखाउ साहस एकफेर अव कालापानीमा
विकास निर्माण गर्न बनायौ पूल–पुलेसा र बाटो
मेची–काली जोगाऊ सधैँ अनि यो देशको माटो ।
कालु पाण्डे, भक्ति अनि अमरसिंह थापा
बहादुर शाहले बनाएको वीरताको गाथा
चन्द्र–सूर्य अंकित झण्डा छ जंगी निशान
विजयको किल्लामा फहराई गाऊ राष्ट्रगान ।
जपेर सधैँ मूलमन्त्र सेवाभाव र देशभक्तिको
सलाम छ सधैँ तिम्रो स्वाभिमान र अटुट शक्तिको
राष्ट्रनिर्माता पृथ्वीनारायणको गरौं सधैँ आरती
जननी जन्मभूमिश्च स्वार्गादपी गरियसी ।



























