हृदयरोग निवारण प्रतिष्ठानद्वारा कनकाई नगरपालिकालाई सम्मान

0
9

कनकाई ।

कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले पुस २७ र २८ गते ललितपुरको जावलाखेलस्थित बगैंचा रेष्टुरेण्टमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा कनकाई नगरपालिकालाई विशेष सम्मान गरेको हो ।

नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीवितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटुरोग, दीर्घ स्वाशप्रश्वास, क्यान्सर जस्ता नसर्ने घातक रोगहरुबाट नगरबासीलाई जोगाउन नगरपालिकाको तर्फबाट खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गर्दै कनकाई नगरपालिकालाई सम्मान गरेको आयोजक संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले बताए । कनकाई नगरपालिकाले गरेको ऐतिहासिक निर्णयबाट नेपाल हृदयरोग निवारण प्रतिष्ठानको उद्देश्य प्राप्तिमा थप ऊर्जा मिल्ने विश्वास गरिएको अध्यक्ष न्यौपानेले बताए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गरेको सम्मानसँगै थप जिम्मेवारी आएको बताउँदै कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले यो सम्मानको कदर गर्दै यसलाई जोगाएर राख्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानका तर्फबाट सञ्चालन गरेको मुटुरोगसँग सम्बन्धित अभियानलाई हरेक पालिकासम्म पु¥याउन अनुरोध गर्दै नगर प्रमुख पोखरेलले अभियानमा कनकाई नगरपालिकाको पूर्ण साथ रहने बताए ।

सम्मान ग्रहणसँगै गोल्यान समूहको जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँग व्यवसायीक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रबद्र्धन गर्ने गरी सम्झौता गर्ने कार्यक्रम समेत रहेको हुँदा कनकाई नगरपालिकाबाट नगर प्रमुख पोखरेलको नेतृत्वमा आवश्यकता अनुसार नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ ।

टोलीमा उपप्रमुख आशा शर्मा शिवाकोटीसहित नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधिसहितको टोली कार्यक्रम स्थलमा सहभागी भएको नगरपालिकाका प्रवक्ता कृष्णबहादुर राईले जानकारी दिए । सम्मान ग्रहणसँगै सम्बोधनका क्रममा कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरपालिकाले गरेको निर्णयमा स्थानीय मुख्य राजनीतिक दलसहित सम्पूर्ण कनकाई नगरबासी हकदार भएको बताए ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष न्यौपानेको सभापतित्व एवम् प्रतिष्ठानका संरक्षक डा.मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रमको पहिलोसत्रमा शाखा सुदृढीकरणका उपायहरु, बाल मुटुरोग रोकथामसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठान झापाका सह–सचिव रामप्रसाद निरौलाले आगामी योजनासहित झापाको प्रगति विवरण प्रस्तुत गरेका थिए । अन्य जिल्ला साथै प्रदेशका तर्फबाट समेत आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रतिष्ठानका केन्द्रिय महासचिव बालगोविन्द बिष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रोग्राम अफिसर बिमला महर्जनले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here