चिसोमा रक्सी : भ्रम र यथार्थ

0
17


माघको चिसो, पसल बन्द नै थियो । विद्यालय पनि बिदा थिए । अगेनामा आगो ताप्दै मोबाइल चलाउँदै गर्दा म्यासेन्जर समूहमा मित्र मिलनजीको ट्वाक्क म्यासेज आयो–‘आज पनि मह र खुकुरी नतोडे मौसमले नामर्द भन्छ क्यार’, अर्कोले लेख्यो– ‘मलाई त खुकुरीले नाक लागेको छ ।’ म आफू मदिराको ब्रान्डप्रति अनविज्ञ भएकाले प्रतिक्रियाविहीन भएर हेर्दै गए एकछिनमै मिसाएर जिउ तताउनेको बहुमत जुट्यो । स्थान र समयमा पनि तुरुन्तै सहमति भयो । करिब एक दर्जन थम्सको चिन्हले पुनः सहमति जनायो । त्यसपछि म्यासेज बन्द भयो ।

सामान्यतयाः कुनै विषयवस्तु प्रतिको हाम्रो हेराइ, दृष्टिकोण या बुझाई नै धारणा हो । फुर्सदमा रमझमसहित आधुनिक हुनुपर्छ । समयसापेक्ष चल्न जान्नुपर्छ र समान हैसियत बनाउनु पर्दछ भन्ने विचार अहिलेको युवा वयस्क दुबैमा हावी छ । परिवार बन्धनका महिलाहरु र वृद्धवृद्धा समेत यस्ता धारणाबाट अछुतो छैनन् । जसको बहुमत हाम्रो समाजमा छ । यस्तो निष्प्रभावी बनाउन थौरैमात्र कसरतले पुग्दैन । शिक्षित जमातमा समेत रहेका यस्ता नकारात्मक धारणा परिवर्तका निमित्त विशेष किसिमका तथ्यहरुलाई जोड दिएमा मात्र सफलता प्राप्त गर्न सकिन्छ ।

यहाँ प्रसंग जाडो महिनाको हो । यस महिनामा यहाँका आधुनिक समाजले प्रयोगमा ल्याउने मद्यपान र धुम्रपानको हो । ‘कस्तो चिसो छ एउटा दिनु त साहुजी’ भन्दै विभिन्न ब्राण्डका चुरोट माग्ने स्कूल कलेजका ड्रेसमै पनि नजलाउने साहसी ठान्ने विद्यार्थी युवाको हो अनि छुट्टि मनाउन साथीभाइ भेला गरी शरीर तताउन भन्दै मद्यपान गराउने र गर्ने मेरा मित्र जस्ता केही कर्मचारी–व्यापारी, बुद्धीजीवी, महिला अनि मजदुरवर्गको पनि हो । जसलाई नयाँ वर्ष, पुर्नमिलन, ग्यादरिङ, रिफ्रेसमेन्ट पार्टी, वर्थ डे, एनिभर्सरी, गुड फ्राइडे र पिकनिक इत्यादिले एकजुट बनाउने गर्दछ ।

यो मौसममा शरीर तताउनै आउने यस्ता व्यक्तिहरुको जमात हामी हाम्रै स्थानीय पिकनिक स्पट तथा पर्यटकीय स्थलहरुमा नियाल्दा प्रशस्तै भेट्ने गर्दछौं । यसबाट निम्तिएको घटना र दुर्घटनाबारे हामी दिनदिनै अद्यावधिक भइरहेका छौं । जाडोमा जिउ तताउन रक्सी (अल्कोहल) खाएमा फाइदा गर्छ भन्ने भ्रम यो पिउने समुदायमा व्याप्त छ । धर्म–संस्कृतिका नाममा, सगुनका नाममा चलनचल्तीको नाममा अनि जातले पाएको भन्दै प्रतिष्ठा बढाउन र हैसियत समान बनाउन समेत मदिराको प्रयोग बढ्दो छ ।

त्यसलाई हाम्रो जस्तो बहुसांस्कृतिक समाजले नकार्न समेत सक्दैन । त्यसमाथि जाडो महिनामा सधैँ थोरै–थोरै पिएमा जाडो काट्छ, जिउ तताउँदछ र दवाईको काम गर्दछ भन्ने पनि सोचाइ छ । यस्ता गलत र भ्रामक विचारले त झनै बुझ्नेलाई पनि अबुझ बनाइ दिएको छ । यसमाथि चिसोमा बिहान–बेलुका लामो यात्रा गर्दा, सवारी चलाउँदा, चिसोमा काम गर्दा बिहानैबाट अल्कोहल पिएर मात्र काम गर्ने र यात्रा गर्ने पनि हुने गर्दछन् । जसले गर्दा कुहिरोको समयमा सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र अन्य आकस्मिक स्वास्थ्य जोखिमहरु बढ्दै गएको छ ।

यसले हृदयघात, मस्तिष्कघात, मुटु कलेजो सम्बन्धी समस्याहरु, कडा प्रकृतिका आकस्मिक स्वासप्रश्वास सम्बन्धी समस्याहरु त यसका मुख्य जटिलता नै हुन् । अखबारहरुले देशका विभिन्न ठाउँमा राति मदिरा सेवन गरी सुतेको व्यक्ति बिहानको सूर्योदय र उज्यालो देख्न नपाएको दुःखद् समाचारहरु पढ्छौं÷सुन्छौं । चिसो मौसममा मानिसको शरीरको रक्तचाप बढ्ने नै हुन्छ भने विशेषज्ञहरुको व्यक्तिगत अभिलेखहरुमा र अस्पतालको रिपोर्टिङ हेर्दा गत वर्ष झैं यस चिसो मौसममा धुम्रपान, मद्यपानका कारण यस्ता प्रकृतिका आकस्मिक तथा दिर्घरोग भएका विरामीको अस्पतालमा चाप बढेको देखिन्छ । त्यस्तै सर्तक रहन सम्बन्धित पक्षबाट विज्ञप्ति नै निकालेर सुझाएको अवस्था पनि छ । कम वर्षाका कारण भएको अत्यधिक प्रदुषण र मानवीय व्यवहारले गर्दा चिसो हुन सक्ने जोखिमको मात्रा अझ बढ्दै गइरहेको छ ।
यो मौसममा चिसो स्थान र हिऊँ जम्ने ठाउँ भएको वातावरणमा त झन् हाम्रो गलत सोचाई र चरित्रले मृत्यु समेतको जोखिम निम्त्याएको छ । हाम्रो शरीर छालाले ढाकिएको छ । जसको मुनि असंख्य स्नायु रेसाहरु र रक्तप्रवाहका निम्ति रक्तकोषिकाहरु जालो झैँ फैलिएका हुन्छन् भने तापक्रम अनुभव गर्ने केन्द्रहरु पनि ठाउँ–ठाउँमा हुने गर्दछन् । जसले चिसो र तातोपनाको अनुभवहरु मस्तिष्कमा पठाउने गर्दछ । जब व्यक्तिले मादकपदार्थ या रक्सी सेवन गर्छ यसमा हुने विशेषताले मानवलाई भ्रम पैदा गर्दछ । मादकपदार्थमा हुने एक विशेषता भनेको रक्तकोषिकाहरुलाई फराकिलो पार्नु या फुकाउनु हो ।

मानिसले यस्तो अदृष्य प्रक्रियालाई सजिलै विश्वास त गर्न सक्दैन । तर, के हो भने अल्कोहल सेवनपश्चात् छालामा रहेका रक्तकोषिकाहरु फुल्दछन् । फलस्वरुप रगतको प्रवाह बढ्छ र शरीरभित्र प्रवाहित भइरहेको तातो रगत छालामुनिको भागमा आउने गर्दछ । फलस्वरुप हामीलाई क्षणिक तातो भएको महशुस हुन्छ । किनकि त्यहाँका ताप केन्द्रहरुले मस्तिष्कमा त्यही सूचना दिने गर्दछन् । तर, यदि हामी चिसो मौसममा छौँ भने या यो तापक्रम कमी हुने मौसममा हाम्रो बाहिरी छालाको सतहमा आएको रगत तुरुन्त चिसो भई मुख्य सञ्चार नलीमा गइरहेको हुन्छ । यो एक साइकल प्रकियामा हुने गर्दछ । फलस्वरुप मुख्य अंगहरु मस्तिष्क, कलेजो, मुटु, फोक्सो, मृगौला इत्यादिको तापक्रम चिसो रगतले गर्दा न्यून हँुदै जाने गर्दछ भने बाहिरी भागका हिट सेन्सरहरुले आफू तातो नै भएको मस्तिष्कलाई सन्देशहरु पठाउँदछन् ।

किनकि उसले शरिरभित्रको रगत बाहिर छालामुनि आएको मात्र पहिचान गरेको हुन्छ । यसरी यहीक्रम धेरै बेरसम्म रहेमा भित्रि अंगहरुमा चिसो रगत प्रवाह हुन पुग्दछ । फलस्वरुप मुटुको चालमा असर गर्ने, श्वासप्रश्वास प्रक्रियामा असर गर्ने, चेतना हराउने र काम्ने हुने गर्दछ । शरिरका मुख्य अंगहरुमा तापक्रम कमी हुन जाने हुन्छ । व्यक्ति अचेत भई मृत्यु समेत हुन सक्दछ । चिसो मौसममा शरीर तताउन भनेर अल्कोहलमा मह, चाकु तथा अन्य पदार्थ मिसावट गरी सेवन गर्ने पनि चलन छ ।

यसरी पिउँदा पसिना आएको र यसले आनन्दको अनुभव दिलाएको भन्ने पनि सुनिन्छ । तर, यस्तो अवस्थामा भित्रि अंगहरुमा चिसो रगत प्रवाह हुनेक्रम अझ तीव्र हुन्छ । किनकि यसबेला मुटुले तीव्रगतिमा चाल पैदा गरी रक्त प्रवाह बढाएको हुन्छ । यसरी हाम्रो बहिरी भागहरु आँखा, अनुहार, नाक, कान, हत्केला आदिका छालामा तीव्र रक्त प्रवाहका कारण तातो र रातो भएको हुन्छ भने यथार्थमा हाम्रा भित्रि मुख्य अंग र प्रणालीहरु चिसिँदै गएका हुन्छन् । जसले व्यक्तिलाई मृत्युको मुखसम्म पु¥याउन सक्छ । त्यसकारण यस चिसो मौसममा शरीर तताउँछ र आनन्द दिलाउँछ भनेर मदिरा सेवन गर्नु ठूलो भ्रम, जोखिम र हानिकारक हो ।

sureshkhatiwada112@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here