दर्शक र कलाकार तान्दै दोकानडाँडा

0
7

युद्धबहादुर बोहोरा,
इलाम।

जब विभिन्न पर्वहरु आउँछन् तब दर्शक, श्रोता र कलाकारले सम्झिन्छन्– दोकानडाँडा । पञ्चायतकालदेखिनै द्वितीया मेला लाग्ने जिल्लाको पुरानो स्थानको रुपमा परिचित इलामको फाकफोकथुम–७मा अवस्थित एकतप्पाको दोकानडाँडा बजार हो ।

यसले धेरै भूगोलका मानिसलाई समेट्ने गरेको छ । चाहे धुलाम्य र हिलाम्य बाटो किन नहोस्, पर्व आएपछि स्थानीयले कुनै न कुनै कार्यक्रमको आयोजना गरेरै छाड्छन् । यहाँ गएपछि दर्शकलाई मनोरञ्जनात्मक कार्यक्रम हेर्न साथै आफ्नो कला दर्शक सामु प्रस्तुत गर्न पाइन्छ भन्ने धेरै कलाकारलाई छाप परिसकेको छ । त्यसैले पनि हुनसक्छ दोकानडाँडाले बिगत लामो समयदेखिनै दर्शक र कलाकारलाई तानिरहेको छ । मन लोभ्याउँदै हरेक समय ध्यान खिचिरहेको छ । तर, दोकानडाँडाको सेरोफेरोमा भने व्यवस्थित कार्यक्रम स्थलको अभाव उतिकै खड्किएको देखिन्छ ।

यो ठाउँमा हुने विभिन्न कार्यक्रममा दर्शकको घुइँचो त्यतिकै हुने गर्दछ तर निर्माणाधीन राँके–गैंडे सडकको काम सुस्त गतिले हुँदा यात्रा कठिन हुने र कार्यक्रम गरिने आधिकारिक स्थान उपलब्ध नहुँदा धेरै चुनौति खेप्नु परेको आयोजकले बताएका छन् । कहिले खेतबारीमा त कहिले बाटोमा र खेलमैदान तिर आयोजना गर्नु परेको स्थानीयबासीको दुःखेसो छ ।

विभिन्न चाडपर्वको अवसरमा फुटबल, भलिबल, रोटेपिङ्ग, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न जातजातिको पहिचान झल्कने सांस्कृतिक प्रदर्शनी भएतापनि हालसम्म सहज ठाउँ उपलब्ध नहुँदा सोचेजस्तो आगन्तुकलाई सम्मान गर्न नसकिएको स्थानीय समाजसेवी पञ्चबहादुर योङ्हाङ लिम्बू बताउँछन् । लोप हुँदै गएका कला, संस्कृति, परम्परा संरक्षण गर्दै आन्तरिक पर्यटनको विकाशमा सहायता पु¥याउने र युवापिढीलाई संस्कार र संस्कृति हस्तान्तरण गर्न सहायता पुग्ने उद्देश्यले फरक–फरक किसिमका मेला, महोत्सव, प्रदर्शनी तथा कार्यक्रमको आयोजना गरिँदै आएको समाजसेवी अगुवा योङ्हाङ लिम्बूको भनाइ छ ।

progrem

चर्चित धार्मिकस्थल गजुरमुखी धाम जाने बाटोमा पर्ने यो ठाउँ नजिकै किराँत माङ्हिम, अतिउर्वर क्षेत्र खबुवा बेंशी, सत्ती ढुंगा लगायतका धार्मिक तथा पर्यटकीय स्थानहरु छन् । भौगोलिक हिसाबले जम्काभेट हुने संगमस्थल मानिने यस भूगोलका बासिन्दा सामाजिक कार्यमा एकजुट हुने गरेका छन् ।

बहुभाषिक, बहुधार्मिक मिश्रित मानव बस्तीले यस ठाउँमा सुन्दरता थपेको छ । यसकारण सबैले हातेमालो गर्दै साथ सहयोग गरेर हरेकपटक कार्यक्रमको आयोजना गर्नु यहाँका स्थानीयको विशेषता नै बनिसकेको स्थानीय अगुवा युवक प्रकाश परियार बताउँछन् । यस ठाउँमा आयोजना गरिने कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु समेतको उपस्थिति हुने गरेको छ । उनीहरुलाई देख्न पाउँदा बुढापाका र युवायुवतीहरु दंग पर्दै सांगीतिक माहोलमा रात बितेको पत्तै पाउँदैनन् ।

यसैबीच कक्फेक्वा तङ्नाम (५०८४) २०८० माघ १ गते किराँत याक्थुङ चुम्लुङ वडाकमिटीको आयोजनामा भलिबल, बृहत् राष्ट्रिय तथा स्थानीय कलाकारहको उपस्थितिमा साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, विभिन्न जातिहरूको झाँकी प्रदर्शन, च्याब्रुङ नाच, हुर्रा, मारूनी, लाखे, साकेला नाच, भाले झिक्नेलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको गरिएको थियो । उक्त कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन फोरका उपबिजेता गायिका सविना योङ्हाङ र फक्तालुङ आइडल तथा गायक आइन्द्र नेम्वाङलगायतका स्थानीय कलाकारले भरपुर मनोरञ्जन दिलाएका थिए ।

भलिबल र नृत्य प्रतियोगितामा बिजेता तथा उपविजेताहरुलाई कार्यक्रममा प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बू, कल्पना राईले पुरस्कार तथा मेडल, ट्रफी प्रदान गरेका थिए ।

वडाकार्यालयको ५० हजार रुपैयाँ, विदेशमा रहेका युवा साथै स्थानीयबासीको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । यसअघि पनि वडाले अन्य कार्यक्रमहरुमा आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here