ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएकोमा अमेरिकासँग चीन रुष्ट

0
6

काठमाण्डौं ।

ताइवानको राष्ट्रपतिमा निर्वाचित भएका विलियम लाईलाई बधाई दिएको विषयमा चीनले अमेरिकाको खरो आलोचना गरेको छ।

अमेरिकाको यस्तो कदमले यो टापुको स्वतन्त्रताका लागि वकालत गरिरहेकाहरूमाझ गलत सन्देश गएको चीनको दाबी छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बधाई दिन जारी गरेको वक्तव्यले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने वासिङ्टनको प्रतिबद्धता उल्लङ्घन गरेको बेइजिङको टिप्पणी छ।

बेइजिङले यस विषयमा औपचारिक कूटनीतिक विरोध गरिएको जनाएको छ।

ताइवानलाई चीनको हस्तक्षेपबाट मुक्त गर्ने र देशको प्रजातान्त्रिक पद्धतिलाई संरक्षण गर्ने वाचा गरेका विलियम लाईलाई विश्वभरिका नेताहरूले बधाई दिइरहेका छन्।

चीनले भने उनको विजयलाई स्वीकार गरेको छैन र स्वशासित हैसियतमा रहेको यो टापु आफ्नै भूभागको हिस्सा रहेको दोहोर्‍याएको छ।

४० प्रतिशत मत ल्याएका लाईले आफ्ना प्रतिद्वन्द्वीहरूलाई सहजै हराएका थिए

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,लाईले आफ्ना दुई प्रतिद्वन्द्वीलाई सहजै हराएका थिए

ताइवानका मतदाताहरूले उक्त टापुको सार्वभौमसत्ताको पक्षधर रहेका उम्मेदवार विलियम लाईलाई एउटा ऐतिहासिक निर्वाचनमा राष्ट्रपतिका रूपमा चुनेका थिए।

उक्त मतलाई चीनभन्दा पृथक् धारणा राखेको अर्थ लगाइएको छ। त्यसप्रति आक्रोश व्यक्त गर्दै बेइजिङले एउटा विज्ञप्ति जारी गरेको छ जसमा “ताइवान चीनको हिस्सा रहेको” अडान व्यक्त गरिएको छ।

बेइजिङले “शान्तिपूर्ण पुन:एकिकरण” को कुरा उठाउने गरेको भए पनि उसले बल प्रयोग गर्ने विषयलाई पनि नकारेको छैन।

त्यसले ताइवानको निर्वाचनलाई “युद्ध वा शान्ति”बीचको रोजाइका रूपमा हेरिएको थियो।

जितपछि लाईले चीनलाई के सन्देश दिए

हालैका महिनाहरूमा चीनले उक्त प्रायद्वीप वरपर सैनिक उपस्थिति वृद्धि गरेको छ जसले सम्भावित द्वन्द्वको भय बढाएको छ।

बेइजिङको कम्युनिस्ट सरकारले ताइवानमा आठ वर्ष शासन गरेको लाईको स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)लाई निन्दा गर्छ।

आफ्नो दलले अभूतपूर्व तेस्रो कार्यकाल राष्ट्रपति चुनाव जितेपछि लाईले नयाँ कीर्तिमान रचेका छन्। विपक्षीहरूले पराजय स्वीकार गरेपछि उनले अब पछाडि फर्किने बाटो नरहेको सङ्केत गरे।

“देशले सही मार्गमा अघि बढ्ने कामलाई निरन्तरता दिनेछ। हामी यता उता फर्कँदैनौँ वा पछाडि फर्किँदैनौँ,” उनले एउटा पत्रकार सम्मेलनमा भने।

ताइवान

तस्बिर स्रोत,DANIEL CENG/EPA-EFE/REX/SHUTTERSTOCK

ताइपेईमा दशौँ हजार समर्थकहरूलाई सम्बोधन गर्दै उनले जितलाई लोकतन्त्रको विजयका रूपमा चित्रण गरेका थिए।

उनले भने, “हामीले गरि छाड्यौँ। हामीले विदेशी शक्तिहरूलाई हाम्रो चुनावलाई प्रभावित पार्न दिएनौँ। किनभने हामीले हामी आफ्नो राष्ट्रपति आफैँ चुन्नेछौँ भनेर निर्णय गरेका थियौँ।”

मतदान अघि ताइवानले चीनलाई चुनावी प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाएको थियो।

लाईले चुनावमा विजयपछि चीनलाई पनि सन्देश दिएका छन्।

उनले सम्वाददाताहरूसँग आफूले चीनसँग अवरोध वा द्वन्द्व भन्दा बढी संवाद र आदानप्रदान चाहेको बताए। शान्ति र स्थिरताका लागि उनले बेइजिङलाई आह्वान पनि गरेका छन्।

उनले यथास्थितिको अवस्थालाई कायम राख्ने उल्लेख गरे जसको अर्थ चीनबाट स्वतन्त्रता नखोज्ने र चीनसँग एकीकरण पनि नगर्ने हुन्छ। तर “चीनको खतराबाट ताइवानको रक्षा” गर्ने वाचा उनले गरेका छन्।

चीनको आक्रोश

ताइवानको स्वतन्त्रतालाई एउटा सीमा रेखा मान्ने गरेको बेइजिङले विगतमा उक्त अवधारणाको पक्षमा गरेको टिप्पणीका कारण लाईलाई “पृथकतावादी” र “समस्या निम्त्याउने” नेताका रूपमा टिप्पणी गरेको थियो।

तर हालैका महिनाहरूमा उनले औपचारिक स्वतन्त्रताको पक्षमा आफूलाई नउभ्याउने सङ्केत गरेका छन्।

शनिवार चीनको राज्य परिषद्को ताइवान मामिलासम्बन्धी कार्यालयले जारी गरेको विज्ञप्तिले निर्वाचनको नतिजाले “मातृभूमिको एकीकरण रोक्न नसकिने प्रक्रियालाई अवरुद्ध बनाउन नसक्ने” जनाइएको छ। साथै चुनाव जितेको दलले ताइवानको “मूलधारको सार्वजनिक अभिमत” सम्बोधन गर्न नसक्ने भनिएको छ।

ताइवान देखाउने चित्र

बेइजिङको उक्त धारणापछि ताइवानले चीनलाई ‘वास्तविकता स्वीकार गर्न’ र शनिवारको निर्वाचन परिणामप्रति सम्मान व्यक्त गर्न भनेको छ।

ताइवानको विदेश मन्त्रालयले चीनलाई ‘ताइवानमाथिको दमन रोक्न’ पनि भनेको छ।

ताइवानको सबैभन्दा ठूलो साझेदार संयुक्त राज्य अमेरिकाले जितका लागि लाईलाई तत्कालै बधाई दिएको थियो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त टापुको “मजबुत लोकतान्त्रिक प्रणाली र निर्वाचन प्रक्रिया” को प्रशंसा गरे।

एउटा विज्ञप्तिमा उनले वासिङ्टन उक्त ‘प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्नका लागि प्रतिबद्ध’ रहेको उल्लेख गरे। त्यसअघि राष्ट्रपति जो बाइडनले अमेरिकाले “ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने” बताएका थिए।

अब के होला?

डीपीपीका समर्थक

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,खुसीयाली मनाउँदै डीपीपीका समर्थकहरू

ताइपेईमा डीपीपी दलको मुख्यालयबाहिर जम्मा भएर समर्थकहरूले चुनावी परिणामलाई स्वागत गरेका छन्। “म एकदमै खुसी छु। अधिकांश ताइवानी नागरिकहरू हाम्रो लोकतान्त्रिक जीवनशैलीको रक्षा गर्न चाहन्छन्,” चेङ यू-साईले भने।

“मलाई मतलब छैन (चीनले कसरी प्रतिक्रिया जनाउँछ)। हामी हाम्रो मान्यतामा कायम रहनुपर्छ र हामीलाई ठिक लागेको कुरामा अडान लिँदै अघि बढ्नुपर्छ,” वे यीसाइले भने।

जम्मा ४० प्रतिशत मत ल्याएका लाईले प्रमुख विपक्षी कुओमिन्टाङ (केएमटी) दलका आफ्ना प्रतिस्पर्धी हू यी-यीलाई सहजै पराजित गरेका हुन्।

सन् २००० यता ताइवानमा डीपीपी र बेइजिङसँग अलि बढी मित्रवत् सम्बन्ध रहेको केएमटीले पालै पालो शासन गर्दै आएका छन्।

हालै राजनीतिक परिदृश्यमा उदाएका र युवा मतदातामाझ लोकप्रिय रहेका ताइवान पिपुल्स पार्टीका को वेन-जेले एक चौथाइ मत ल्याएका थिए।

शनिवार मतदाताहरूले व्यवस्थापिकाका नयाँ सदस्यहरू पनि चयन गरेका छन्। डीपीपीले त्यहाँ बहुमत गुमाएको छ भने विपक्षी बलियो भएको छ। ताइवानका सञ्चारमाध्यमहरूका अनुसार संसद्‌मा नियन्त्रण कायम गर्ने आवश्यक सीट कुनै दलसँग छैन।

कतिपय विश्लेषकहरूले विपक्षीको प्रभुत्व रहेको संसद् र डीपीपीबाट चुनिएका राष्ट्रपतिहुँदा ताइवानमा सत्ता सञ्चालन थप जटिल बन्न सक्ने टिप्पणी गरेका छन्।

साइमा खालिलको थप रिपोर्टिङ। बिबिसी बाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here