कनकाईमा पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता

0
9

झापा ।

झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथअघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरुसहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ । यसै क्रममा प्रतिष्ठानले अघिल्ला वर्षहरुझै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

सोही अनुरुप कनकाई माविको खेल मैदानमा यही माघ ६ गतेदेखि वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । झापाका १० वटा पालिकाको सहभागितामा सञ्चालन हुने प्रतियोगिता १७ गते समापन हुने खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए ।

प्रतिष्ठानकातर्फबाट झापाका १५ वटै पालिकालाई प्रतियोगितामा सहभागिताका लागि अनुरोध गरिएको भए पनि केही पालिकाको आफ्नै समस्याका कारण सहभागी हुन नसक्ने जानकारी आएपछि यसपटक १० वटा पालिकाकोबीचमा प्रतियोगिता सञ्चालन गर्न लागिएको खेल संयोजक मैनाली बताउँछन् ।

माघ ६ गते शनिवार दिउँसोको ठीक १ः३० बजेदेखि औपचारिक कार्यक्रम साथै २ बजेदेखि खेल सञ्चालन गर्ने गरी समयको व्यवस्थापन गरिएको बताइएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट समुद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबीच हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न आर्थिक स्रोत व्यवस्थापनमा कठिनाइ रहेको भए पनि प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण–पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए । प्रत्येक दिनको म्यान अफ द म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १ सय साथै मेन अफ द सिरिज ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए ।

मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहने प्रतियोगितामा खेल सम्पन्न गर्न ६ लाख ४९ हजार ४ सय खर्चको अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा खेलप्रेमी व्यक्तित्वहरु, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था साथै प्रतिष्ठानका सदस्यहरुबाट समेत आर्थिक सहयोग प्राप्त हुने विश्वास गरिएको छ ।

भmापा जिल्लाकै उच्चस्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको आयोजक समितिले जनाएको छ । प्रतिष्ठानले जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरु फुटबल, क्रिकेट, भलिबल लगायतका प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here