भयानक संकटको चित्र र नेपाली विशेषताको समाजवाद

0
11

यतिबेला देशको राजनीतिक संकट चरम उत्कर्षमा पुगेको छ । राज्यले नागरिकहरूको आवश्यकता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसक्नुले आमजनताले बुझ्ने तहमा संकटहरू उजागर भएका छन् । जनयुद्ध, जनआन्दोलन र विभिन्न क्षेत्रीय स्तरमा भएका बलिदानीपूर्ण संघर्षको उपलब्धी स्वरूप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आफूलाई पूर्ण रूपमा परिभाषित गर्न नपाई नै पुँजीवादको कब्जा र परिचालनको सिकार बन्दै अवशानको संघारमा छ । र, अब यसको पतन सुनिश्चित जस्तै भएको छ ।

पुँजीवादी अर्थप्रणालीको अभ्याससँगै समाजवाद उन्मुखताको आश्वासन दिएर संविधान जारी गरेका जनताका प्रतिनिधि भनिएका दलहरु भित्रैबाट जन्मिएका केही थान कर्मचारी क्षेत्रबाट तयार गरिएका केही थान सुरक्षा निकाय, व्यापारिक क्षेत्र, वित्तीय क्षेत्रमा खडा भएका केही थान अर्थात् सबै क्षेत्रका डेढ, दुई सय दलालहरूको कब्जामा परेको देश यतिबेला कमिशन, लुटखोट, भ्रष्टाचार, राष्ट्रिय आत्मसमर्पण, भयानक राष्ट्रघात, जनदमन जस्ता शृंखलाको चाङमा छटपटाई रहेको छ ।

नेपाली जनता, नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको सारतत्व समतामुलक समाज नै हो । यसकै निम्ती नेपाली जनता आजका दिनसम्म लडिरहेका छन् । नेपाललाई समाजवाद चाहिएको छ । आजको नेपाली जनता र देशको स्वाधिनताबिरूद्ध शत्रुको रूपमा देखापरेको छ । र, यो शत्रुको समाप्तीमै नेपाल र नेपाली जनताको सुरक्षित भविष्य अन्तर्निहित रहेको छ । यही पुँजीवाद र यो प्रवृत्तिको जन्ति बनेर हिँडीरहेका नेपालका दलालहरूले नेपालमा जब एमसीसी परियोजनाको सम्झौता गरे त्यसपछि नेपालमा अन्तविरोध नयाँ ढंगले बाहिर आएको छ ।

संसदबाट कानूनको अङ्ग झैं बनाएर एमसीसी पास भएपछि अमेरिकाको चलखेल तीव्रतामा बढेको हो । बहुध्रुव वा दुई ध्रुवतिर प्रवेश गरेको विश्व राजनीतिक शक्ति सन्तुलन, विभिन्न देशमा जारी युद्धसँगै अमेरिका, ब्रीटेन चीन, रूस गतिविधि नेपालमा बढेको छ । पुँजीवाद नियन्त्रित नेपालको सरकार, रूस युक्रेन युद्धमा घोषित रूपमै युक्रेनको पक्षमा उभिएर आफ्नो असंलग्न परराष्ट्र नीतिलाई छाडेको छ । युक्रेन नेटो गठबन्धनको पक्षमा बोलेको एमसीसी नियन्त्रित नेपालको सत्ता अघोषितरूपमा नेटो गठबन्धनको साझेदार नेपाललाई बनाउने काममा अगाडि बढेको हो की ? भन्ने तथ्यहरूले देखाएका छन् ।

चाहे जे होस, यो वा त्यो बहानामा अन्तर्राष्ट्रिय अन्तर्विरोधको चंगुलमा नेपाललाई फसाउने काम भएको छ । यो नेपालको निम्ति असाध्यै घातक छ । जनताको दिनदैनिकी एकदमै कष्टकर बन्दै गएको छ । रोजगारी माग्दा गोली खानुपर्ने स्थिती बनेको छ । राज्यको गोलीले राज्यको भाषा बोल्छ जनताबिरुद्ध प्रयोग भएका गोलीहरूमा नवफासीवादको गन्ध आएको छ । नेपालको दलाल पुँजीवादी सत्ताले एमसीसी हुँदै उक्त फासीवादलाई आमन्त्रण गरिसकेको छ । र, यो नवफासीबाद यो वा त्यो बहानामा भयानक स्तरमा जाने निश्चित जस्तै छ । समयमै जनताले ध्यान पु¥याउन नसक्ने हो भने नेपाल द्वन्द्व, काटमार, हुँदै युक्रेन पछि अर्को युद्ध केन्द्रको रूपका बद्लिन सक्ने सम्भावना देखापरेको छ ।

यी सबै तथ्यहरूले देशको राजनीतिक संकट कुन स्तरमा छ भन्ने तथ्यलाई स्पष्ट गर्छन् । र, यस्ता तथ्यहरू क्षेत्रीय स्तरमा नयाँ ढंगले व्यक्त भइरहेका छन । पूर्व क्षेत्रमा कोशी प्रदेशको नामाङ्नको विषय, त्यसले पैदा गरेको विभाजित मनोविज्ञान, धरान लगायत क्षेत्रमा भएका साम्प्रदायिक, धार्मिक सदभाव भड्काउने क्रियाकलाप, प्रतिगामी र साम्राज्यवादले तयार गरेका नयाँ पात्र र नयाँ भाष्यको पूर्वका अस्वभाविक क्रियाशिलता यी सबै विषय माथि गहिरो गरी अध्ययन गर्ने हो भने पूर्व क्षेत्रको संकट र यसको पछाडि साम्राज्यवाद कसरी खेलिरहेको छ ? यो प्रष्ट हुन जान्छ ।
सम्भवतः पूर्वमा संवेदनशील नहुने हो र यहाँको मनोविज्ञानको उचित सम्बोधन नगरेर पश्चिमा साम्राज्यवादकै गोटी बनेर समस्या चर्काउने हो भने पूर्वलाई मणिपुर तरिकाको हिंसामा लैजान सक्ने समते संकेत देखापरेका छन् । मधेश, पश्चिम थारूबाट क्षेत्रमा समेत नयाँ–नयाँ गतिविधि सञ्चालित छन् । नेपालको सत्तालाई आफ्नो पक्षमा अमेरिकाले सुदृढ गर्ने कि भारतले ? भन्ने टकराव पनि एक हदसम्म देखिन्छ । तर, एमसीसी संसदबाट पारित भएपछि भने नेपालको हरेक मामिलामा भारतभन्दा अमेरिका नै निर्णायक बन्दै आइरहेको पाइएको छ ।

यो बेला अमेरिकी साम्राज्यवाद र नेपाली जनताबीचको अन्तरविरोध नै मुख्य रहेको हाम्रो पार्टीको निष्कर्ष रहेको छ । नेपालको पुँजीवादको निर्देशकको रूपमा रहेको अमेरिकन साम्राज्यवादले निम्त्याइरहेको संकटबाट देशलाई मुक्त गर्न र कमिशनखोर दलाल पुँजीवादी सत्ताको शोषणबाट नेपाली जातालाई मुक्त गर्न, हामीले नयाँ राजनीतिक प्रणालीको स्थापना गर्नु पर्ने आवश्यकता टड्कारो बनेर आएको छ । यसो हुँदा हामीले आजको संकटको समाधान नेपाली विशेषताको समाजवाद हुने कुरालाई अगाडि सारेका छौं । देशमा मडारिएको यो संकटलाई सबै दलले बुझेकै पाइन्छ । निकासतर्फ सोचेको पनि पाइन्छ, तर व्यवहारमा पुग्दा दवाव, प्रभाव र अकर्मण्यताको सिकार भएर पछि हटिरहेको पाइन्छ ।

नेपालमा यतिबेला प्रतिगामी धारा जसले २०४७ सालको संविधान र राजसंस्थाको स्थापनाको कुरा गरिरहेको छ । अर्कोतर्फ पुराना दल र नेताहरूलाई ठेगान लगाएपछि र नयाँ आएपछि ठिक हुन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा यही व्यवस्था ठिक भएको जिकिर गर्दै आएका आइरहेको धार पनि अगाडि आएको छ । तर, यी दुबै धारा नेपाली समाजको अग्रगमन र रूपान्तरणकारी प्रवृत्तिको विरोधी धारा हो । धेरैले यतिबेला मिसन २०८४ भन्दै कुर्लदै हिँडिरहेका छन् । कसैले यही प्रणालीमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा गरिरहेका छन् । तर, यी सबैको अन्तर्यमा अमेरिकी साम्राज्यवादी शक्तिले आफू अनुकूल नेपालमा सत्ता सुदृढ गर्ने तयारी गरिरहेको तथ्यहरूले देखाएका छन ।

यस्तो गम्भीर अवस्थामा मिसन २०८४ को धङ्धङीले लोकतान्त्रिक गणतन्त्रवादीहरूलाई पनि छोएको देखिन्छ । तर, यो उनीहरुको एकदमै सतही बुझाइ हो । तर, यही शृंखलाको मिसन २०८४ आजको संकटको निकास होइन र हुन सक्दैन । आज नेपालका लोकतान्त्रिक गणतन्त्रवादीहरूले जनताको बीचमा ‘नेपाली विशेषताको समाजवाद’लाई अबको निकासको रूपमा प्रस्तुत गरेर जानुपर्ने आवश्यकता पैदा भएको छ । जुन समाजवादले नेपाली जनताका आधारभूत समस्याहरू समाधान गर्न सकोस, देशको स्वाधिनताको रक्षा गर्न सकोस । अर्थात् यस समाजवादको अन्र्तवस्तुबारे साझा निष्कर्षमा पुग्न पर्याप्त छलफल पनि गर्न सकिन्छ । यस्तो प्रकारको समाजवादमा मुलुकलाई लैजान नेपालका सबै समाजवाद चाहाने दलहरू एक ठाउँमा आउन तयार हुनुपर्ने स्थिती बनेको छ ।

पूर्वमा पहिचान पक्षधरहरूको आन्दोलन पनि तीव्रतामा अगाडि आएको छ । पहिचानको पक्षमा उठेको यो आवाजलाई नजरअन्दाज गर्न मिल्दैन । यहाँ जनजाति वा पहिचान पक्षधरहरूको माग सम्बोधन गर्न सक्नु पर्छ । तर, यसमा ख्याल गर्नुपर्ने कुरा नेपालको दलाल पँुजीवाद अर्थात् अमेरिकी साम्राज्यवाद नियन्त्रित दलाल सत्ताले पहिचानको मुद्दालाई सुनिश्चित गर्न सक्दैन । पहिचान र जातीय बिषय जस्ता संवेदनशील र गम्भीर मुद्दाहरूमा धारिलो तरिकाले चलखेले गरिरहेको अमेरिकी साम्राज्यवादबाट पूर्वमा उठिरहेको न्यायोचित पहिचानको आन्दोलनलाई जोगाउनुपर्नेछ÷देखिन्छ । पुँजीवादबाट कुनै पनि हालतमा पहिचान सम्भव छैन । यसकारण समाजवाद स्थापना गरांै र समाजवादवाट पहिचानको मुद्दालाई सुनिश्चित गरौं । यसका निम्ती पनि पूर्वका र खास गरेर यस क्षेत्रका बुद्धिजीवी, नेता, सामाजिक अगुवा सबैले सम्वेदनशील भएर भूमिका खेल्नुपर्ने आवश्यकता टड्कारो बन्न पुगेको छ ।

अब नेपालमा देखिएको तमाम संकटको साझा समाधान नेपाली विशेषताको समाजवाद हो । हाम्रो पार्टीले नेपालका कम्युनिष्ट र बामपन्थीहरूसँग सहकार्य, मोर्चाबन्दी र एकताको प्रयत्न गरिरहेको छ । नेपालको मध्यमवर्गलाई यो निकासमा सामेल र नेत्रित्वदायी भूमिकामा सहभागी गराउने नीति लिएको छ । देशभक्त शक्तिको पहिचान र भूमिकालाई नयाँ ढंगले विकास गर्दै देशभक्तहरूको धारालाई आगामी निकासमा जोड्ने नीति बनाएको छ । लोकतान्त्रिक गणतन्त्रवादी र दलाल पुंजीवादी एउटै होइनन भन्ने विषयलाई अगाडि सार्दै लोकतान्त्रिक गणतन्त्रवादीहरूलाइ निकासमा जोड्ने र दलाल पुँजीवादलाई एक्ल्याउने नीति लिएको छ । आजका युवा, विद्यार्थीलाई आगामी निकासको अग्रभागमा उभ्याउने गरी पार्टीले आफ्ना नीतिहरूलाई प्रस्तुत गरेको छ ।

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी सबै मोर्चाबाट साहस र विवेकका साथ लड्छ भन्ने बिषयलाई स्पष्ट गरेर जनताको बीचमा क्रियाशील नै छ । आज सम्पूर्ण रूपले नेपाल र नेपाली जनताको विरोधी शक्तिको रूपमा रहेको पुँजीवादलाई एक्ल्याउने र यसलाई ध्वस्त गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न सकेको खण्डमामात्र देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने बिषय प्रस्ट छ । यसो नगर्ने हो भने देश प्रतिगामी हुन वा यथास्थितिवादी पश्चिमा स्वार्थ अनुरुप भयानक संकटको दलदलमा भासिने निश्चित प्रायः छ ।

अतः आज नेपालको अन्तर्बिरोध नयाँ ठाउँमा अर्थात् सोझो बुझ्ने तहमा अमेरिकी साम्राज्यवाद र नेपाली जनताबीचमा पुगेको र हामीले मित्रहरूको घेरालाई फराकिलो र शत्रूको घेरालाई साँघुरो पार्दै देशको स्वाधिनताको रक्षार्थ नयाँ मोर्चाबन्दीहरूको विकास गर्नु पर्ने अवस्था आएको छ । नेपालका लोकतान्त्रिक गणतन्त्रवादी र नेपालको संसदवादले समेत समाजवाद उन्मुख प्रणालीलाई स्विकारेको स्थिती छ । तर, पुँजीवाद र अमेरिकी साम्राज्यवादी नियन्त्रण र प्रभावले यो देशको स्वाधिनता र नागरिकहरूको जीवन कष्टकर बन्न पुगेको छ ।

यो बेला राजनितिक दल, सामाजका विभिन्न ओहोदामा बसेका व्यक्तित्व सबैले खुल्ला मनले देश, जनता र परिवर्तनको पक्षमा फराकिलो छाती बनाएर सोच्ने बेला आएको छ । त्यसैले आजको राजनीतिक संकटको निकासको रूपमा प्रस्तुत भएको नेपाली विशेषताको समाजवादमा यो मुलुकलाई लैजादै, सबै अग्रगामीहरूको प्रतिनिधित्वलाई सुुनिश्चित गर्दै बृहत् मोर्चा निर्माण गर्न सबैले गम्भीरतापूर्वक सोचौं र लागौं ।

(लेखक नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो इञ्चार्ज हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here