मेची-महाकाली अभियानमा ब्लड डोनर्स सोसाइटी नेपाल

0
9
चितवन,
रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरणा जगाउँदै आएको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान उत्प्रेरणा अभियानलाई देशभरी सञ्चालन गर्दै आएको छ । मेची–महाकाली अभियानको  पहिलो चरणमा रक्तदातालाई उत्प्रेरणा गर्ने गरी अभियान सञ्चालन गरिएको हो ।
गत पुस ७ देखि मेची पुलबाट सुरु भएको अभियानले पूर्वी नेपाल, काठमाडौँ उपत्यका र आसपासका जिल्लाका विभिन्न स्थानमा रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम गरी सकेको छ ।  हालसम्म २५ भन्दा बढी स्थानमा कार्यक्रम सम्पन्न भइसकेको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत विभिन्न विद्यालय तथा क्याम्पसमा गएर युवालाई रक्तदानसम्बन्धी उत्प्रेरणा र जनचेतनामुलक कार्यक्रम गर्ने गरिएको उहाँको भनाइ छ । उहाँले एक घर एक रक्तदाता भन्ने मूल नारा लिई समाजमा रगतसम्बन्धी चेतना अभिवृद्धि गराउने र  रगत अभाव हुनबाट बचाउनका लागि युवामा सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले युवा विदेश पलायन हुनु र स्वदेशमा नै रहेकाले रक्तदानलाई खासै चासो नदिनुले गर्दा रगतको अभाव दिनानुदिन बढ्दै गएको छ । रक्तदानसम्बन्धी सचेतना जगाउनका लागि अभियान सञ्चालन गरीएको हो ।”
मेची-महाकाली अभियानको क्रममा यही माघ ८ गते तनहुँबाट पश्चिम नेपालमा अभियान सञ्चालन गर्न लागिएको अधिकारीले बताउनुभयो । अभियानका क्रममा तनहुँ, लमजुङ, कास्की, पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, सुर्खेत, कैलालीमा रक्तदानसम्बन्धी सचेतना जगाइने उहाँको भनाइ छ । उहाँका अनुसार माघ २१ गते चितवनमा अभियानको समापन गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here