किन नेपालमा सरकारका संकल्प असफल हुन्छन् ?

0
9


राणा शासनको कुरै नगरौं, २००७ सालको परिवर्तनपछि नेपालमा कुनै पनि सरकारले पाँच वर्षको अवधि पूरा गरेका छैनन् । राजा÷महाराजाहरूले नियुक्त गरेका प्रधानमन्त्रीले पूरा अवधि काम गर्न पाएनन् । तर, जननिर्वाचित प्रधानमन्त्रीहरूले पनि तोकिएको समय पूरा गर्न पाएनन् वा सकेनन् । हामीमा त्यस्तो के कमजोरी छ, जसले गर्दा हामी व्यक्तिगत, सामुहिक वा राष्ट्रिय संकल्प पूरा गर्न सक्दैनौं ? हामीलाई थाहा छैन कि हामी अल्छी जन्मेका हौं ? हाम्रा आनुवांशिक कोशिकाहरू मुख्यतयाः ऊर्जा संरक्षण, बाँच्न र पुनः उत्पादन गर्न लाखौं वर्षदेखि विकसित भएका छन् ।

हाम्रो अस्तित्व खतरामा नपरुञ्जेलसम्म हामी जन्मजात आलश्यको सिकार बन्दछौं, जसले हामीलाई हाम्रा संकल्प, वाचा, प्रतिज्ञा र प्रतिबद्धता पूरा गर्न धेरै असहज बनाउँछ । आधुनिकीकरण र भूमण्डलीकरणले हाम्रो आलस्यलाई ज्यामितीय अनुपातमा बढाएको छ । त्यसैले नयाँ सरकार पनि आफ्नो प्रतिबद्धता पालना गर्न अनिच्छुक देखिने गरेका छन् । कतिपय अवस्थामा त सरकारका प्रधानमन्त्री र मन्त्रीहरू आफूले गरेका प्रतिबद्धता गरेको हो भन्न पनि र स्वीकार गर्न पनि मान्दैनन् । यो व्यक्तिको कुरा हो कि हाम्रो संस्कृतिको कुरा हो ?

कतै हामी त्रुटिपूर्ण निर्णय लिने वा हुनै नसक्ने संकल्प गर्ने गलत परिपाटीबाट ग्रस्त त छैनौं ? दुःख वा पद प्राप्तिको संवेगात्मक वा मनोवैज्ञानिक अवस्थामा नयाँ संकल्प गर्छौं । हामी परिवार, साथी, कार्यर्ताहरूले घेरिएको, अनन्त विज्ञापन र सञ्चार क्षेत्रले हाम्रो संवेगात्मक अवस्थालाई उद्वेलित गरेको अवसरमा हामी निर्णय लिन्छौं । हाम्रो भावना जति तरल हुन्छ, हाम्रो बौद्धिकता कम हुन्छ । निर्णय लिँदा आफ्नो छनोटमा आफ्नो वातावरण र भावनाहरूको प्रभाव बुझ्न आवश्यक हुन्छ । देशवासी समक्ष आफ्नो संकल्प चयन गर्न सबै आग्रह र आवेगबाट मुक्त हुन जरुरी हुन्छ । दोस्रो महŒवपूर्ण कुरा हामी उत्साहपूर्वक संकल्प लिन्छौं । तर, समयान्तरमा अझ भनौं धेरै चाँडै संकल्पका सम्बन्धमा धेरै परिवर्तनहरू गर्छौं । हाम्रो उत्प्रेरणा घट्दै जाँदा र समयले हाम्रो इच्छाशक्तिलाई परीक्षण गर्न लगाउँदा, हामी मध्ये धेरैजसो विचारमा, व्यवहारमा टुक्रा–टुक्रा हुन्छौं ।

वास्तवमा संकल्प एकै पटकमा एक रातमै पूरा हुँदैन । सगरमाथा आरोहण गर्नेले आफ्नो यात्रा एक पाइलाबाट शुरु गरेको थियो भने विश्वको सबैभन्दा ठूलो पर्खाल चीनको ग्रेटवाल पनि एक पटकमा एउटा इँटा बिछ्याएर निर्माण कार्य शुरु गरिएको थियो । त्यसैले, हरेक मुलुकमा बहुप्रतिक्षित राष्ट्रिय संकल्प आउँछन्, प्रधानमन्त्री परिवर्तन हुन्छन्, संकल्पको म्याद सकिन्छ । हाम्रो मुलुकमा पनि हरेक शासकको हामीले गीत गायौं, हामीले नाच्यौं, हामीले हाम्रो मन खन्यायौं र सामाजिक सञ्जालमा सेल्फीहरू पोष्ट ग¥यौं । हामीले हाम्रा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको सम्मान र समर्थनमा हरेक पटक ताली बजायौं । नेपाली आकाशलाई राष्ट्रिय झण्डाले लपेट्यौँ ।

हामीले हाम्रो देशलाई हाम्रो अटुट माया छ भनेर पुनः प्रतिज्ञा ग¥यौं । हामीले हाम्रा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका कुरा सुन्यौं । हामीलाई लाग्यो उनीहरूले हृदयबाट बोलेका थिए । हामी सबैले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको पछि लाग्ने र दृढतापूर्वक जुट्ने वाचा गरेका थियौं– आँशु, रगत र पसिनाको त्रिवेणीबाट सृजित यो राज्यव्यवस्थाबाट जनताले ठूलो आशा राखेका थियौं । इमानदारीपूर्वक भन्नुपर्दा, जनताको रूपमा, प्रतिबद्धता र व्यवहार परिवर्तनको सन्दर्भमा, राष्ट्रियरुपमा विगतका संस्करणहरू हेर्दा हाम्रो देशभक्तिको जीवन, हाम्रो मुलुकप्रतिको समर्पण पूरा नभएका वा पुरा नगरिएका संकल्प जस्तो त होइन । हाम्रो जीवनको कार्यकाल वा नियुक्तिको कार्यकाल धेरै छोटो छ जस्तो देखिन्छ । पदबाट हटेपछि हामी हाम्रो पुरानो स्वार्थमा फर्किन्छौं ।

हामी पदानुक्रम, नोकरशाही र सानो ठूलो भेद छुट्याउने संस्कृतिमा फर्कने गरेका छौं । नयाँ अवसरहरू खोज्नुको सट्टा, नयाँ सीपहरू सिक्नु वा आफ्ना उत्पादनहरू वा सेवाहरू नवीकरण गर्नुको सट्टा पसलहरू ग्राहकहरूको पर्खाइमा अलमलमा फर्किएका छन् वा धनी बन्ने छिटो दृष्टिकोणमा फर्किएका छन् । हामीलाई सधैँको ग्राहक चाहिएको छैन । एकै पटक धेरै नाफा चाहिएको छ । सरल शब्दमा भन्नुपर्दा, हाम्रा यस्ता व्यवहारले धेरै परिवर्तन हुने छैन । यो एक ठूलो विरोधाभाष हो । किनकि हाम्रा लागि हाम्रो मुलुकको माया र सम्मान वास्तविक छ, नेपाली दाजुभाइ दिदीबहिनीका लागि खसेका आँशु वास्तविक छन् र सबैको हित हुन सकोस् भन्ने भावनाहरू वास्तविक छन् । हाम्रो हृदयमा आगो छ कि वा यसको अभाव छ ? हाम्रो भौतिक परिवेशले, हाम्रो संस्कृतिले हाम्रो आफ्नै विचार र कार्यहरू निर्धारण गर्दछ । हुन त कतिपयले मुलुकमा विद्यमान अन्तरविरोधको दोष हाम्रो शिक्षा प्रणालीलाई दिन पनि सक्लान् ।

अस्वस्थ प्रतिष्पर्धाले केटाकेटीहरू वयस्कतामा प्रवेश गर्दा, कतै हामी तिनीहरूको हृदयमा आगो निभाउने प्रबन्ध गर्छौं र उनीहरूलाई उनीहरूको बाल्यकालको जिज्ञासा, समानुभूति, आलोचनात्मक सोच र जोशबाट वञ्चित गर्छौं ? यसको सट्टा हामी तिनीहरूलाई अनुरूपता, सम्मेलन, आत्मसन्तुष्टि र अस्वस्थ प्रतिस्पर्धा तिर बढाउँछौं । त्यसो भए, के हामी भन्न सक्छौं ः हामीसँग भेडाको बगालको मानसिकता छ र व्यक्तिगत रचनात्मकता छैन ? हामीले अनुरूपताको सट्टा रचनात्मकता, प्रतिस्पर्धाको सट्टा समुदाय र अहंकारमा दयालाई प्रोत्साहन दिन आवश्यक छ ।

हामीले प्रत्येक बालक वा विद्यार्थीलाई आफ्नै अधिकारमा नायक वा च्याम्पियनको रूपमा विकास हुन सक्छौ भनेर मनाउन आवश्यक छ । हरेक विद्यार्थी व्यक्तिगत रूपमा मूल्यवान छ । र ऊ पहिलो वा दोस्रो, पास वा फेलको रूपमा राखेर अर्कोको बिरुद्धमा अस्वस्थ स्पर्धामा जाँदैन भन्न र सो अनुसारको शिक्षा प्रणाली विकसित गर्न सक्छौं ? के हामी कल्पनाशील, रचनात्मक, नवीन वा समानुभूतिशील हुन सक्दैनौं ? हामी कसरी शिक्षित हुने कुरा र हाम्रो सामाजिकीकरणको परिणामले सबै कुरा निर्धारण गर्दछ ।

सारमा भन्ने हो भने हामीलाई चाहिएको नयाँ दर्शन हो । प्रत्येक पुस्तालाई आफ्नो योग्यता प्रमाणित गर्न चुनौती हुन्छ, आजका चुनौती सामना गर्न आजको विचार चाहिन्छ । राष्टिय संकल्प पूरा गर्न भूमण्डलीकरणबाट अछुतो रहन सकिन्न । तर, हरेक देशले आफ्नो आर्थिक, सामाजिक, राजनीतिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्दछ र आफैलाई बचाउनुपर्दछ । शुरुमा, हामी नेपालीहरूले संसारले हामीलाई केही दिनुपर्छ भन्ने मानसिकतालाई त्याग्नु पर्छ । सबैभन्दा पहिले, हामी अब, कसैको सहानुभूतिको माग गर्ने कम विकसित देशहरूको सूचीमा रहिरहने छैनौं भनेर संकल्प गर्दै त्यो संकल्प पूरा गर्न कार्यनीति, कार्यक्रम र कार्ययोजना निर्माण गर्नुप¥यो ।

हामीले जे योजना बनायौं, नेपालका युवाहरू अन्ततः त्यसको एक हिस्सा बन्नैपर्छ र दूरदृष्टिको स्वामित्व लिनुपर्छ । तर, हाम्रा युवाहरूले कस्ता प्रतिक्रिया दिइरहेका छन् ? निश्चय नै युवा पलायन डरलाग्दो छ । हजारौं युवाहरू नेपाल छोडेर किन विदेश गइरहेका छन् ? कस्तो अन्तरविरोध छ ः नेपाली युवाहरू मुलुकलाई माया खन्याइरहेका छन् । तर, पसिना र रगत विदेशी भूमिमा खन्याइरहेका छन् ।

आफ्नो रगत र पसिना अर्पण गर्न तयार युवाहरू किन आफ्ना आमाबाबु, परिवार र जन्मभूमि छाडेर विदेसिरहेका छन् ? हुन सक्छ आजको नेतृत्व गर्ने पुस्ताले ती नेपाली युवाहरूको हृदयको आगोमा पानी त खन्याइरहेका छैनौं ?तसर्थ प्रेमको आगो, निःस्वार्थ सेवाको आगो र सगरमाथा, गोर्खाली र गौतम बुद्ध भनेर चिनिएको हाम्रो सानो तर महान् राष्ट्रको हृदयलाई न्यानो बनाउने आगो निभ्न दिनुहुँदैन भनेर संकल्प गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here