‘अपराध नियन्त्रणमा अपराध अनुसन्धान गोष्ठी फलदायी’

0
6
काठमाडौँ ,
नेपाल प्रहरी अपराध अनुसन्धान विभागको आयोजनामा भएको ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८०’ अपराध अनुसन्धानका लागि फलदायी भएको सुरक्षा अधिकारीहरुले बताउनुभएको छ ।
काठमाडौँमा सम्पन्न उक्त गोष्ठीमा अपराध अनुसन्धान कार्यमा लागेका प्रहरीसहितका विभिन्न निकायका अधिकारीबीच हाल भइरहेका अनुसन्धान कार्य र आगामी दिनमा गर्नुपर्ने योजनाबारे समीक्षा भएको थियो ।
गोष्ठी समापन गर्दै विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले गोष्ठीका दौरान प्राप्त तथ्य र तथ्याङ्कका साथै अनुसन्धानकर्ता र सरकारी वकिलसमेतको प्रत्यक्षरुपमा अभिव्यक्त बुझाई र अनुभवले अपराध अनुसन्धानको आगामी योजना निर्माणका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले यस गोष्ठीले अपराध अनुसन्धानका सवल पक्षलाई उत्कृष्ट अभ्यासका रुपमा कार्यान्वयन गर्ने, देखिएका समस्या र चुनौतीलाई योजनाबद्धरूपमा सम्बोधन गरी आगामी रणनीति र योजना निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अपराध नियन्त्रण र अनुसन्धानमा बहुपक्षिय सहयोग र समन्वय आवश्यक भएकाले केन्द्र, प्रदेश, जिल्ला र ईलाका तहसम्मले सबैबाट सहयोग प्राप्त गर्न पहल गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
गोष्ठीमा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिल कार्यालय, सहकारी विभाग, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, मानव बेचबिखन अनुसन्धान ब्यूरो, लागूऔषध नियन्त्रण ब्यूरोका प्रतिनिधिको सहभागिता थियो ।
यस्तै साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी प्रतिनिधिको पनि सहभागिता थियो । सो क्रममा अपराध अनुसन्धानको अवस्था, अनुसन्धानमा देखिएका चुनौतीलगायतका विषयमा प्रस्तुतीकरण भएको थियो ।
गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधानलगायतका विषयमा विस्तृत छलफल भएको र यसले आगामी रणनीति निर्माणमा सहयोग पुग्ने प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here