विदेश जानु रहर होस्

0
14

बितेको वर्ष सन् २०२३ मा मात्रै १६ लाख नेपाली विभिन्न उद्देश्यले बिदेशिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले सो वर्ष मात्रै सोह्र लाख तीन हजार आठ सय छत्तीस जना नेपाली विदेश गएको उल्लेख गरेको हो । तीमध्ये आधा उच्च शिक्षाका लागि गएका हुन् । अध्ययनका लागि गएका विद्यार्थीबाट मात्रै ४७ अर्ब ३५ करोड रूपैयाँ बाहिरिएको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार विगतको तुलनामा अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दै गएको छ । अध्ययनका लागि विदेशिनु नेपालीको बाध्यता हो तर सरकार र सरकारी पक्ष यसलाई मान्न तयार छैन । विदेशमा काम गरेरै पढाइ खर्च जुटाउन सकिन्छ । काम गरेरै निर्धारित समयमै अध्ययन पूरा गर्न सकिन्छ । हामीकहाँ शिक्षा क्षेत्र पनि राजनीतिबाट मुक्त हुन सकेको छैन । जसका कारण प्लस टु सक्ने बित्तिकै विदेशिने विद्यार्थीको चाप बढ्छ ।

रोजगारीका लागि विदेश जाने नेपाली युवाहरूको संख्या उत्तिकै छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि त विदेश जानेहरूको लहर नै चलेको छ । उच्च शिक्षाका लागि विदेश जाने बाध्यताको अन्त्य गर्ने घोषणा र प्रतिबद्धता जनाएर मात्र नपुग्ने यस क्षेत्रका जानकारहरू बताउँछन् । कति लगानी गरेर शिक्षालाई गुणस्तरीय बनाउने भन्नेमात्र नाराले पुग्दैन त्यसका लागि कार्यान्वयन हुनुपर्छ । हामीकहाँ त्यसकै अभाव छ । विदेश जानबाट रोक्न आकर्षक कार्यक्रम ल्याउनुपर्छ । पाठ्यक्रममा परिमार्जन, शिक्षकहरूलाई राजनीतिबाट अछुतो राख्नु पर्छ । प्रविधिको उच्चतम् प्रयोग गरी सिकाइ गर्नुपर्छ । त्यसो भएमात्र अहिले देखिएको उच्च शिक्षा अध्ययनका लागि विदेश जाने लामो लर्कोलाई रोक्न सकिन्छ । त्यसैगरी वर्षेनि उत्पादन हुने चार लाख जनशक्ति श्रम बजारमा आउँछन् । उनीहरूलाई रोजगारी अथवा आयमूलक व्यवस्था गर्न नसक्नु अहिले विदेशिने नेपाली युवाको बाध्यता हो ।

देशमा लामो समयसम्म रहेको द्वन्द्व र राजनीतिक अस्थिरताले देशमा रोजगारीको अवसर सृजना गर्न नसक्नु, देशमै लगानी गरेर आय आर्जन गर्न सकिन्छ भन्ने विश्वास राज्यले दिन नसक्नु, श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास नहुनु जस्ता कारणले नेपाली युवा विदेशिने दौडमा छन् । देशमा एक त काम छैन भए पनि न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता र बढ्दो महङ्गो जीवनशैली, छिटो धन कमाउने लालसा, कृषि पेसाप्रति घट्दो आकर्षण र विदेशबाट फर्किएकाहरूको जीवनस्तर देखेर पनि युवावर्गमा विदेशको मोह बढेको छ । यद्यपि विदेश जानासाथ सबै इच्छा, आकांक्षा र सपनाले पूर्णता पाउँदैनन् । सिप नसिकी, दक्षता हासिल नगरी, क्षमता प्राप्त नगरी गएका नेपाली ठगिएका छन् । न्यून पारिश्रमिकमा काम गर्नु परेको छ । दुर्घटनामा परेर अङ्गभङ्ग भई फर्किनु परेको छ भने कतिको निधन नै भएको छ ।

वैदेशिक रोजगारको बाटोबाट अहिले देशको आर्थिक जीवन सञ्चालित छ । उनीहरूका माध्यमबाट भित्रिएको विप्रेषणले देशका यावत कार्यक्रम चलेका छन् । तर यही क्रममा कैयौं नेपाली विचौलियाका कारण ढगिएका छन् । युवा र सक्षम युवाशक्तिलाई विदेश पठाएरै देशमा समृद्धि ल्याउन सकिँदैन । त्यसैले सरकारले वैदेशिक रोजगारलाई न्यूनीकरण गर्न आवश्यक कदम चाल्नु पर्छ । आयमूलक अवस्था सृजना गरेर जनशक्तिलाई उपयोग गर्ने नीति बनाउनुपर्छ । यसले मात्र विदेश जानु बाध्यता नभएर रहर हो भन्ने कुरा प्रमाणित गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here