जलकन्या देवी मन्दिरमा श्रीमद् भागवत महापुराण

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० चुथाईस्थित जलकन्या देवी मन्दिरमा पाँचौं धार्मिक अनुष्ठानको रुपमा यहि माघ ११ गतेदेखि श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।

वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै समाजमा सद्भाव कायम गरि मन्दिरलाई सबै धर्मको साझा आस्थाको केन्द्रविन्दुको रुपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञको आयोजना गरिएको मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

परापूर्व कालदेखि स्थानीय आदिवासीहरुबाट देवीस्थानको रुपमा पूजाअर्चना हुँदै आएको उक्त मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मन्दिर व्यवस्थापन समितिको लक्ष्य रहेको छ ।

समितिको लक्ष्यलाई पूर्ण गर्न मन्दिर व्यवस्थापनको लागि आवश्यक अक्षयकोषको स्थापना, मन्दिर परिसर घेराबारा तथा अन्य भौतिक पूर्वाधारहरु निर्माण, गौतम बुद्धको प्रतिमा स्थापना, जलाशय तथा दुर्लभ वृक्षहरुको संरक्षण गर्नु उक्त अनुष्ठानको अर्को उद्देश्य रहेको समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिए ।

बिर्तामोड निवासी धार्मिक व्यक्तित्व एवम् दाता झुमादेवी बस्नेतले उद्घाटन गर्ने उक्त महायज्ञको प्रमुख वाचक पण्डित अर्जुन भट्टराई र उपवाचक पण्डित रोशन भट्टराई रहेका छन् । माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञ अन्र्तगत दैनिक पूजाअर्चना, आरती, कथा प्रवचन, सन्ध्या आरती, भजनकीर्तन, महात्म्य कथा, झाँकी प्रदर्शन, दाता सम्मानलगायतका कार्यक्रम हुने बताइएको छ ।

महायज्ञबाट अक्षयकोषको लागि जम्मा ३० लाख रुपैयाँसहित अनुमानित ५० लाख रुपैयाँ आम्दानी गर्ने र १० लाख रुपैयाँ खर्च हुने महायज्ञ मूल आयोजक समितिका सहसंयोजक कृष्णप्रसाद चापागाईंले जानकारी दिए । महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रशेखर दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहसंयोजक चापागाईं, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवाल, सामाजिक व्यक्तित्व लवकुश गौतमलगायतले मन्दिरको स्थापना र विविध गतिविधि बारे आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here