रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन

0
9

खजुरा (बाँके),

बाँकेमा रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालनमा ल्याएको हो ।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धनसिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गर्दै आज सेवाको शुभारम्भ गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रक्त सङ्कलन बस सेवा सुरु गरेको हो ।

बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख कमरुद्दिन राई र डा केसीले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । अत्याधुनिक सुविधासहितको वातावरण अनुकुलित बस सेवामा प्राविधिक समूह, रगत सङ्कलन कक्ष, भण्डारण फ्रिज, आराम कक्षको व्यवस्था गरिएको छ ।

ग्रामीण इलाकामा पुगेर रगत सङ्कलन गर्न सहज बनाउने उद्देश्यले अहिले लुम्बिनीसहित पाँच प्रदेशमा रक्त सङ्कलन घुम्ती बस हस्तान्तरण गरिसकिएको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले जानकारी दिनुभयो । उहाँका अनुसार अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने छ ।

नेपालगञ्ज उपमहानगरका कार्यवाहक प्रमुख राईले सरकार पुग्न नसकेका ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त सङ्कलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गर्नुभयो । उहाँले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत सङ्कलन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनएका अध्यक्ष डा केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुके, रेडक्रस बाँकेकी उपसभापति शान्ति श्रेष्ठले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here