यौन सम्बन्ध राख्न नमान्दा पुलामीको हत्या, पक्राउ परेका प्रसाई सार्बजनिक

0
7

झापा । बिर्तामोड–५ बस्ने ५० बर्षीया माया पुलामी मगरको अबैध यौनसम्वन्धका कारण हत्या भएको खुलेको छ । एक साताअघि पुलामीको अर्जुनधारा–६ बिहानीटोलस्थित वीग ब्रोदर ब्याडमिन्टन कबर्डहलको गेटछेउमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–८ गरामनी घर भई हाल बिर्तामोड–५मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेसँगै महिलाको हत्या अवैध यौन सम्बन्धका कारण भएको खुलेको हो ।
आइतवार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरी पुलामीको हत्यामा संलग्न प्रसाईलाई सार्वजनिक गर्दै घटनाका विषयमा प्रहरीले जानकारी गराएको हो । पुलामीको हत्या गत माघ ८ गते भएको थियो । मृतक पुलामीसँग प्रसाईको चिनजान माघ ६ गते मात्रै भएको थियो । मृतक पुलामीलाई उनकी साथी ऐनु राईले बिर्तामोडस्थित पश्चिम बसस्टयाण्डमा चिनजान गराई प्रसाई र पुलामीबीच शारीरिक सम्बन्ध राख्न सहमत गराएकी थिइन् । त्यस लगत्तै प्रसाईले पुलामीलाई आफ्नो डेरामा लगी निर्माणाधीन घरको दोस्रो तलामा एकपटक शारीरिक सम्बन्ध राखेको र पुनः भेट्ने सहमति समेत भएको प्रसाईले बयान दिएको बताइएको छ ।
माघ ७ गते प्रसाईले खोज्दै जाँदा अर्जुनधारा–६स्थित पुल चौक नजिकै पुलामीसँग भेटघाट भई गफगाफ शुरु भएको थियो । गफ गर्दै उनीहरु ब्याडमिन्टन खेल्ने कवर्ड हल छेउमा आएर बसेर कुराकानी गरेका थिए । कुराकानीकै क्रममा प्रसाईले पुलामी मगरसँग विवाह गर्ने प्रस्ताव समेत राखेको अनुसन्धानमा खुलेको छ ।
विवाह गर्ने प्रस्ताव गरेका प्रसाईले सो दिन पनि पुलामी मगरसँग शारीरिक सम्बन्ध राख्ने प्रस्तावसहित कोठामा लाने प्रस्ताव गरेका थिए । त्यसक्रममा पुलामी मगरले प्रसाईको प्रस्ताव अस्वीकार गर्दै दाहिने आँखामा हातले हानेपछि प्रसाईले पुलामी मगरलाई मार्ने नियत राखेर ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।
मादक पदार्थ समेत सेवन गरेका प्रसाईले पुलामी मगरलाई टाउकोमा पटक–पटक ढुङ्गा प्रहार गरी हत्या गरेर कबर्ड हलको छेउमा छाडेर भागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न प्रसाई अविवाहित रहेको र उनी भारतको आसामस्थित डिब्रुगढमा १७ वर्ष काम गरी २०७२ सालमा झाापाको बिर्तामोडमा फर्किएर हर्कलाल मार्गस्थित दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थाई रुपमा बसोबास गर्दै आएका थिए । घटनामा संलग्न प्रसाईलाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
इलाका प्रहरी कार्याालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र कोशी प्रदेश प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेको थियो । घटनाका क्रममा मृतक पुलामीका तीन जना श्रीमान रहेको र हाल कान्छो श्रीमानसँग पनि पारिवारिक खट्पट भएका कारण केही समय अघिदेखि छोराबुहारीको घरमा बसोबास गर्दै आएकी थिइन् । मृतक पुलामी मगरको आचारण बुझ्दा उनी मादक पदार्थ सेवन गर्ने र गाउँघरमा रहेकाहरुको घरायसी काम गर्दै हिँड्ने बुझिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
प्रसाईले हत्यामा प्रयोग गरेको आठ इञ्च लम्वाई र ६ इञ्च चौडाई भएको रगत लागेको ढुङ्गा समेत बरामद भएको छ । मृतकले लगाएको स्वीटरबाट नेपाली दरका २० रुपैयाँका नोट तीन थान, १० रुपैयाँ दरका नोट ५ थान र ५ रुपैयाँ दरका नोट ५ थान नोट बरामद भएको प्रहरीले जनाएको छ ।
मृतक मगरको माइती इलाम माई नगरपालिका–१ महमाई कलकत्ते रहेको प्रहरीले जनाएको छ । पुलामी मगरको हत्यामा संलग्न प्रसाईलाई प्रहरी निरीक्षक नरेश लिम्बूको नेतृत्वमा रहेको अनुसन्धान टोलीको निष्कर्षपछि माघ १३ गते बिर्तामोडबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here