जनअपेक्षा पूर्ण होउन्

0
8

राष्ट्रिय सभाको भर्खर सम्पन्न निर्वाचन परिणामलाई लिएर सत्ता गठबन्धनमा शीतलहर पसेको छ । १९ सिटका लागि भएको निर्वाचनमा गठबन्धनले सात वटै प्रदेशमा साझा उम्मेदवार बनाएको थियो । निर्वाचन परिणाम छ वटा प्रदेशमा गठबन्धनको पक्षमा आए पनि कोशीमा भने साझा उम्मेदवारमध्ये माओवादीकी चम्पादेवी कार्की पराजीत भइन् । गठबन्धनबाटै कांग्रेस उम्मेदवार कृष्ण सिटौलाले जित्नु र कार्कीले हार्नुलाई माओवादी पक्षले संशयको दृष्टिले हेरेको छ । कोशी प्रदेशमा कांग्रेसबाट बारम्बार धोका खाएको भन्दै माओवादीका उपमहानगर वर्षमान पुनले कांग्रेससँगको गठबन्धनमै पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

त्यसो त राष्ट्रिय सभाको औचित्यमाथि नै सवाल उठिरहेको छ । विषय विज्ञ, पछि पारिएका र अवसर नपाएकाहरूको सभा भनिने राष्ट्रिय सभामा जनताबाट बारम्बार अस्वीकृत भएका र शीर्ष नेताका गोजीका मान्छेहरू नै पुग्ने गरेका छन् । आर्थिक, प्रशासनिक तथा राजनीतिक हिसाबले पनि राष्ट्रिय सभाको औचित्य र आवश्यकता पुष्टि हुन सकेको छैन । माथिल्लो सभा भनिने सभाले जनताको न प्रतिनिधित्व गरेको छ, न त जनमतको कदर गर्छ । यस्तोमा माओवादी नेताले भने जस्तै यो निर्वाचन परिणामले राजनीतिमा नयाँ मोड ल्याए पनि त्यो आश्चर्यको विषय हुने छैन । किनकि कोशीको गठबन्धनबाट हात झिक्नुपर्ने दवाब प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पलाल दाहाल समक्ष कोशी प्रदेशस्तरका नेताहरूको रहेको छ ।

प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन सर्वोत्कृष्ट विधि हो । यसले जनमतको सम्मान गर्छ । जनताद्वारा प्रकट मतको आधारमा निर्वाचित प्रतिनिधिले जनतालाई सरल, सहज र आवश्यक सेवा प्रदान गर्छन् भन्ने अपेक्षा गरिन्छ । तर, हामीकहाँ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई कार्यान्वयनको दोस्रो कार्यकाल भइसक्दा पनि त्यस्तो अपेक्षाले लय पक्रेको छैन । बरू अकुत सम्पत्ति आर्जन गर्ने, शक्तिको उन्मादमा रहने र जनभावनाको उपेक्षा गर्ने मानसिकता बलियो हुँदै गएको घटनाक्रमले देखाइरहेको छ । यही परिप्रेक्ष्यमा राष्ट्रिय सभा अध्यक्षका लागि हुने निर्वाचनलाई अर्थपूर्ण रूपले हेर्न थालिएको छ । कोशीमा कांग्रेसले पटक–पटक धोका दिएको भन्दै आसन्न अध्यक्षको निर्वाचनमा राष्ट्रिय सभाको पहिलो दल हुनुको नाताले माओवादी नेताहरूले दवाब दिन थालेका छन् । राजनीति स्वार्थकै खेल हो भन्ने प्रमाणित भइसकेको सन्दर्भमा यो विवाद पनि लेऊ–देऊ मै टुङ्गियो भने पनि अनौठो मान्नु पर्दैन । राजनीतिले स्थिरताको बाटो समातोस्, जनअपेक्षाले आकार लिओस् र वेथितिहरू अन्त्य होउन् जनताले त्यत्ति खोजेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here