झापामा फैलिँदै विषालु ‘उल्टा काँडा’ झार

0
10

झापा,

लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता र पशुपालनमा सङ्कट थपिएको विज्ञहरूले जनाएका छन् ।

फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा लीलानाथ शर्माले झापाको मेचीनगरमा हालै भएको ताजा अध्ययनले १५ वटै वडामा ‘उल्टा काँडा’ फैलिएको भेटिएको र त्यसबाट जैविक विविधतामा सङ्कट निम्तिएको बताउनुभयो । झापाको १५ वटै पालिकामा यो मिचाहा वनस्पति फैलिइसकेको शर्माले बताउनुभयो ।

डिभिजन वन कार्यालय झापा, सामुदायिक वन उपभोक्ता महासङ्घ र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा फरेस्ट एक्सन नेपालले मेचीनगरमा छजना प्राविधिक टोली खटाएर स्थलगत अध्ययन गरेको थियो । अध्ययनले सबै वडामा फैलिएको तथ्य फेला परेपछि यसको नियन्त्रण अभियानमा मेचीनगर नगरपालिकाले समेत चासो बढाएको छ ।

वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा विषालु झुस हुन्छ भने यसको घाँस खाएका पशु बिरामी भएर मर्ने गर्छन् । झापा, मोरङ र सुनसरी जिल्लाका अधिकांश सामुदायिक वन र खाली जमिनमा ‘उल्टा काँडा’ झार डरलाग्दो रूपमा फैलिरहेको अनुसन्धाता शर्माले बताउनुभयो । यसको तत्काल नियन्त्रण गर्न विशेष कार्यक्रम नै चाहिने उहाँको सुझाव छ ।

‘उल्टा काँडा’ झार नियन्त्रण अभियान सञ्चालन गरिरहेको फरेस्ट एक्सन नेपालले केही वर्षअघि गरेको अर्को अध्ययनले झापाका अधिकांश सामुदायिक वन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारलाई विस्थापित गरिरहेको निष्कर्ष निकालेको थियो । झापा र मोरङमा एक दशकमा पाँच सयभन्दा बढी चौपाया ‘उल्टा काँडा’को घाँस खाएर मरिसकेको फरेस्ट एक्सन नेपालले जनाएको छ । ‘उल्टा काँडा’को विषाक्त घाँस खाँदा मरेका पशुमा बाख्राखसीको सङ्ख्या आधाभन्दा बढी रहेको बताइएको छ ।

‘उल्टा काँडा’ बहुवर्षीय मिचाहा प्रजातिको झार हो । यसको बोट हरेक वर्ष फैलिरहन्छ । यसको उद्गम थलो अमेरिकी महाद्वीप मानिएको छ । दुई दशकअघिदेखि नेपालमा यसले फैलिन थालेको मानिन्छ । भुटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको बीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको विज्ञहरूको अनुमान छ । हाल पूर्वी नेपालमा मात्र यो पाइएको छ ।

अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीव्रगतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुला ठाउँ, जङ्गल, सडक छेउछाउ र ढुङ्गा बालुवा छरिएको ग्राभेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुङ्गा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको हो ।

यसले खेतबारीमा फैलिएर अन्नबाली र चरन क्षेत्र मास्ने गरेको सामुदायिक वन महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो । झापाका २२ सामुदायिक वनमा अध्ययन गर्दा यसले जैविक विविधतामा सङ्कट निम्त्याइसकेको पाइएको उहाँले बताउनुभयो । “यो झार जहाँ फैलिन्छ, त्यहाँ रैथाने झार र बुट्यान मासिन्छन्”, भण्डारीले भन्नुभयो, “फूल, जरा र लहराको माध्यमबाट यसको झाडी छिटो बढ्ने गरेको छ । झाडीभित्र वन्यजन्तुसमेत छिर्न नसक्ने अवस्था सिर्जना हुन्छ ।”

मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँस खाएका अर्जुनधाराका थुप्रै पशु चौपाया मरेको उहाँले बताउनुभयो । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीरमा चिलाउने र घाउ बन्ने गर्दछ । यसको डाँठमा उल्टो परेको काँडा हुने भएकाले स्थानीयले यसको नाम नै ‘उल्टा काँडा’ भन्ने गरेका हुन् ।

झापाको टिमाइ, विरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको विज गाउँबस्तीमा फैलिने गरेको छ । बिर्तामोडको निचाझोडा सामुदायिक वनको २० हेक्टरभन्दा बढी जमिनमा ‘उल्टा काँडा’ झारले रैथाने वनस्पतिलाई विस्थापित गरिसकेको छ ।

“जहाँ फैलिएको छ, त्यहीँ यसलाई मास्ने कार्य गरेमा मात्र नियन्त्रण प्रभावकारी हुन्छ”, फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा शर्मा भन्नुहुन्छ, “स्थानीय तह, वन समिति र नागरिक समाज नै यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्न आवश्यक छ ।” झाडीलाई समूल फाँडेर र उखेलेर आगो लगाई नष्ट गरेर यसको नियन्त्रण गरिँदै आएको उहाँले बताउनुभयो ।

जैविक विविधता जोगाउन यस्ता मिचाहा झारको नियन्त्रणको खाँचो औल्याउँदै फरेस्ट एक्सन नेपालले झापाको हल्दिबारी, मेचीनगरलगायतका पालिकामा विशेष अभियान सञ्चालन गरिरहेको छ । “यो माइकेनिया झारभन्दा पनि डरलाग्दोसँग फैलिएको छ”, उहाँले भन्नुभयो, “तत्काल नियन्त्रण गर्न पहल नगर्ने हो भने मास्नै नसक्ने गरी फैलिनेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here