भारतीय जलसेनाद्वारा १९ पाकिस्तानीको उद्धार

0
20

एजेन्सी ।

भारतीय जलसेनाले सोमालियानजिकै समुद्रमा समुद्री डाँकाहरूले अपहरण गरेका १९ पाकिस्तानी नाविकलाई मुक्त गराएका छन्।

भारतीय सेनाको पानीजहाज ‘आईएनएस सुमित्रा’ले ३६ घण्टाको अवधिमा दोस्रो पटक कारबाही गर्दै उनीहरूको उद्धार गरेको हो। त्यसअघि समुद्री डाँकाहरूले अपहरण गरेको एउटा इरानी जहाजका १७ जनालाई मुक्त गराइएको भारतीय जलसेनाले जनाएको छ।

विगत केही सातामा विभिन्न पानीजहाज र नाविकहरूले उद्धार र सहयोगका लागि गरेको आग्रहअनुसार आफूले काम गरेको भारतीय जलसेनाले जनाएको छ।

केही समययता सोमालियानजिकै समुद्रमा पानीजहाजमा भएका आक्रमणहरूले उक्त क्षेत्रमा लुटेराहरू पुनः सक्रिय हुन थालेका हुन् कि भन्ने चिन्ता बढेको छ।

आईएनएस सुमित्रा सोमालियाको पूर्वी तट र गल्फ अफ एडनमा सामुद्रिक सुरक्षा अभियानअन्तर्गत पारिचालित छ।

गुहार मागिएपछि प्रतिक्रिया

भारतीय जलसेनाले जारी गरेको विज्ञप्तिअनुसार ज्यानुअरी २८ मा गुहार माग्दै पठाइएको एउटा सन्देश प्राप्त भएपछि आईएनएस सुमित्राले उद्धारको काम थालेको थियो। त्यस क्रममा इरानी झण्डा भएको एउटा जहाजलाई रोकिएको उसले जनाएको छ।

सामाजिक सञ्जालमा जलसेनाले जनाएअनुसार त्यसपछि जलसेनाका अधिकारीहरूले “समुद्री डाँकाहरूलाई जहाज र त्यसका कर्मचारीलाई मुक्त गर्न बाध्य पारेका थिए”।

जहाजका १७ कर्मचारी मुक्त भएपछि जहाजको सरसफाइ गरियो र त्यो आफ्नो यात्रा पुनः निस्कियो।

तर जलसेनाको विज्ञप्तिमा समुद्री डाँकाहरूको अवस्थाबारे केही उल्लेख गरिएको छैन।

मङ्गलवार भारतीय जलसेनाले आईएनएस सुमित्राले फेरि अर्को इरानी झण्डावाहक जहाजको अवस्थिति पत्ता लगाएको र त्यसलाई रोकेको जनाएको छ। ‘अल नईम’ नामक उक्त जहाज माछा मार्ने प्रयोजनमा प्रयोग हुन्छ।

आफ्ना जवानहरू सरसफाइ गर्न र चालकदलका सदस्यको अवस्था बुझ्न उक्त जहाजमा गएको पनि भारतीय जलसेनाले जनाएको छ।

उक्त घटनामा पनि लुटेराहरूको अवस्थाबारे केही भनिएको छैन। तर ‘एक्स’मा प्रेषित एउटा तस्बिरमा हात पछाडि लगेर बाँधिएका मानिसहरूनजिकै जलसेनाका जवान उभिएको देखिन्छ।

आक्रमण र उद्धारको शृङ्खला

शनिवार सेशेल्सको सुरक्षा फौजले श्रीलङ्काका छ माझीलाई उद्धार गरेको थियो। उनीहरूको जहाज अपहरणमा परेको थियो।

ब्लूमबर्गमा प्रकाशित एउटा विवरणका अनुसार रेड सीमा इरानबाट समर्थनप्राप्त हूथी लडाकु समूहले शृङ्खलाबद्ध आक्रमण गर्दा सामुद्रिक सुरक्षामा खलल पुगेको र परिणामस्वरूप सोमालियानजिकै समुद्रमा डकैतीको सङ्ख्या बढेको हो।

ज्यानुअरी २६ मा भारतीय जलसेनाले ‘मर्लिन लुआन्डा’ नामक ट्याङ्करबाट सहयोगको याचना गरिएपछि आफ्नो पानीजहाज ‘आईएनएस विशाखापटनम’ गल्फ अफ एडनमा पठाइएको जनाएको थियो।

हूथी विद्रोहीहरूले एउटा क्षेप्यास्त्र प्रहार गरेपछि यूकेसँग सम्बन्ध भएको उक्त ट्याङ्करमा घण्टौँ आगो लागेको थियो।

फ्रान्स र संयुक्त राज्य अमेरिकाका जलसेनाका जहाजले पनि त्यस क्रममा सहयोग गरेका थिए।

ज्यानुअरी महिनाको सुरुतिर भारतीय जलसेनाका कमान्डोहरूले समुद्री लुटेराहरूले आक्रमण गरेको लाइबेरियाली झण्डावाहक एउटा जहाजबाट २१ जनालाई उद्धार गरेका थिए। बिबिसी बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here