भद्रपुरमा चोरीका घटना बढ्यो: सीसी क्यामेरा ‘देखाउने दाँत’ मात्रै

0
8

पार्थ मण्डल
भद्रपुर ।

 

भद्रपुरको एउटै ठाउँबाट पटक–पटक मोटरसाइकल र साइकल चोरीका घटना घटे पनि प्रहरीले अहिलेसम्म चोरी गर्ने गिरोह पत्ता लगाउन सकेको छैन ।

भद्रपुर नगरपालिका–६ स्थित कामेश्वर कम्प्लेक्स (सिनेमा हल) अगाडिबाट मोटरसाइकल र साइकल चोरी हुने क्रम अझै रोकिएको छैन । बुधबार र शनिबार त्यही ठाउँमा हटिया बजार लाग्छ । बजार जाने स्थानीयले सिनेमा हल अगाडिको सडक छेउछाउ आफ्नो सवारीसाधन पार्किङ गरी हटिया गर्न जान्छन् । त्यही ठाउँबाट मोटरसाइकल र साइकल चोरी हुने गरेको स्थानीयहरू बताउँछन् । न त्यहाँ कुनै नेपाल प्रहरी वा नगर प्रहरी खटाइएको हुन्छ, न त वरिपरि कुनै सीसी टीभी क्यामेरा जडान गरिएको छ ।

चोरी गर्ने गिरोहले त्यसको फाइदा उठाउँदै मोटरसाइकल र साइकल चोरी गरेर टाप कस्छन् । चोरी भएका सवारीसाधन खोजीमा प्रहरीले खासै चासो नदेखाउँदा चोरीका घटनाहरू बढ्दै गएको भन्दै नगरवासीले चिन्ता प्रकट गरेका छन् ।
यसैक्रममा बुधबार दिउँसो कामेश्वर कम्प्लेक्स (सिनेमा हल) अगाडिबाट फेरि एउटा मोटरसाइकल चोरी भएको छ ।

भद्रपुर–७ निवासी खेमराज ढुङ्गेलको नाममा रहेको मे९प ६३४ नम्बरको कालो रङ्गको सुपर स्पेलेन्डर मोटरसाइकल चोरी भएको हो । अन्दाजी ४ बजेको समयमा ढुङ्गेल त्यहाँ मोटरसाइकल पार्किङ गरी हटिया गर्न गएका थिए । फर्किएर आउँदा मोटरसाइकल चोरी भइसकेको थियो । ढुङ्गेलले तत्काल मोटरसाइकल चोरी भएको घटनाको बारेमा वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराए ।

तर, उनको मोटरसाइकल अझै फेला परेको छैन । २०७९ माघ २६ गते पार्किङ गरी राखिएको मे७प २०६३ नम्बरको होण्डा कम्पनीको कालो रङ्गको साइन मोटरसाइकल त्यहीबाट चोरी भएको थियो । भद्रपुर–८ निवासी प्रदीप बस्नेतको नाममा रहेको सो मोटरसाइकल हालसम्म फेला परेको छैन । त्यसको एक वर्षअघि भद्रपुर–५ निवासी राजन अधिकारीको पनि एउटा मोटरसाइकल त्यही ठाउँबाट चोरी भएको थियो । त्यो मोटरसाइकल पनि अझै फेला परेको छैन । मोटरसाइकल नभई त्यहीबाट कयौँ साइकल समेत चोरी भइसकेको स्थानीयहरू बताउँछन् ।

सुरक्षा फितलो, चोरीका घटना बढ्यो

वडा प्रहरी कार्यालय भद्रपुरको शान्ति सुरक्षा फितलो बन्दै गएपछि नगरमा चोरीका घटना बढेको बढ्यै छ । चोरी बढेसँगै स्थानीयमा त्रास छाएको छ ।

विहीवार राति भद्रपुर–६ स्थित संगम चोकबाट एउटा सिटी सफारी चोरी भएको छ । स्थानीय लालबहादुर साहको प्र–१–०१–०९ ह १८३७ नम्बरको रातो रङ्गको सिटी सफारी चोरी भएको हो । घर अगाडि पार्किङ गरी राखिएको सफारी चोरी भएपछि उनले शुक्रबार बिहान वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी दिएका छन् । त्यसको एक साताअघि माघ ११ गते भद्रपुर–६ निवासी हेमन्त सुरानाको घरबाट नगद र सुन चोरी भएको थियो ।

घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको पीडित सुरानाले जानकारी दिए । उनको घरको कोठाबाट चार तोला सुन र ७० हजार नगद चोरी भएको हो । उनले घरमा चोरी भएको बारेमा वडा प्रहरी कार्यालयलाई जानकारी गराए पनि हालसम्म प्रहरीले घटनाको सुइँको समेत पत्ता लगाउन सकेको छैन ।

त्यसैगरी माघ १७ गते भद्रपुर नगरपालिका–१ सोमबारेस्थित साना किसान सहकारी संस्थामा चोरी भएको थियो । कार्यालयको झ्यालको पल्ला र ग्रिल फोडेरभित्र प्रवेश गरी लकर समेत फोडेर लकरभित्र रहेको नगद ३ लाख २ हजार ९ सय ७६ रुपैयाँ र सीसी क्यामेराको हार्ड डिस्क चोरी भएको थियो । सो घटनाको बारेमा पनि केही पत्ता लागेको छैन ।
नगरमा चोरीका घटना बढेसँगै प्रहरीले गस्ती बढाएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले बताए । अहिलेसम्म चोर भने फेला परेको छैन । सीसी क्यामेराले काम नगर्दा चोर समात्न समस्या भइरहेको बताउँदै इन्स्पेक्टर बोगटीले भने– ‘चोरीका घटनामा संलग्नको पहिचानका लागि शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ ।’

सीसी क्यामेरा देखाउने दात मात्र

भारतीय सीमासँग जोडिएको भद्रपुर नगरमा चोरीसँगै आपराधिक क्रियाकलाप रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले सीसी टीभी क्यामेरा जडान गरिएको छ ।

कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका, नागरिक समाज, स्थानीय संघ–संस्थाको सहयोग तथा वडा प्रहरी कार्यालयको पहलमा नगर क्षेत्रमा २०७५ साल पुसमा सीसी क्यामेरा जडान गरिएको थियो । पहिलो चरणमा १४ वटा र दोस्रो चरण १४ वटा गरी २८ वटा सीसी क्यामेरा जडान गरिएको थियो । नगरमा जडान गरिएको सीसी क्यामेरा देखाउने दाँत मात्रै बनेको छ । प्रहरीले सीसी क्यामेराको सहयोगमा अहिलेसम्म कुनै अपराधी फेला पार्न सकेको छैन ।

मेची पुल, प्रहरी कार्यालय अगाडि, भन्सार छेउ, सगरमाथा चोक, हस्पिटलचोक, संगमचोक, भानुचोक, झापाचोक, बसपार्क, भद्रपुर बजार, जनताचोक, गिरीचोक, कनहाचोक, गणेश मन्दिर, झिम्की चोक, नगरपालिका कार्यालय अगाडि लगायतका स्थानमा सीसी क्यामेरा बिजुलीको पोलमा झुण्ड्याइएको छ । २८ वटा सीसी क्यामेरामध्ये हाल ९ वटाले मात्र काम गरिरहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर बोगटीले जानकारी दिए । सीसी क्यामेरा मर्मत सम्भारका लागि भद्रपुर नगरपालिकालाई आग्रह गर्दा पनि अझै बन्न नसकेको इन्स्पेक्टर बोगटीले बताए ।

सडकमा जडित सीसी क्यामेरा नचल्दा वा चलेकोले पनि मान्छे पहिचान गर्न नसक्दा शान्ति सुरक्षामा चुनौति थपिएको स्वीकार्दै इन्स्पेक्टर बोगटीले भने– ‘सवारीसाधनको नम्बर पनि पहिचान गर्न समस्या भइरहेको छ, पहिला लगाइएका क्यामेराले काम गरेन, अब राम्रो क्वालिटीको क्यामेरा लगाउनुपर्ने भएको छ ।’ त्यसको लागि नगरपालिकासँग पुनः आग्रह गरिने उनको भनाइ छ ।

यता नगर प्रमुख गणेश पोखरेलका अनुसार यति धेरै सीसी क्यामेरा बिग्रिएको बारेमा प्रहरीले नगरपालिकालाई जानकारी नगराएको बताएका छन् ।

प्रहरीले दशैँतिहार अघि केही बिग्रिएको भनी जानकारी गराएको थियो । १९ वटा सीसी क्यामेरा बिग्रिएको बारेमा जानकारी नआएको बताउँदै नगर प्रमुख पोखरेलले भने– ‘नगरपालिकाले वर्षेपिच्छे सीसी क्यामेरा मर्मत सम्भार गरिदिँदै आएको छ, नगरको शान्ति सुरक्षाका लागि आइटीसँग समन्वय गरी बिग्रिएका क्यामेराहरू पुनः मर्मत सम्भार गरिन्छ, यसको लागि प्रहरीले नगरपालिकासँग समन्वय गर्नुप¥यो’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here