ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यात्राको बाध्यता

0
8

उदयपुर,

उदयपुरको पहाडी गाउँपालिका क्षेत्रका ग्रामीण सडक व्यवस्थित नहुँदा यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ भने सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे र डिल्लीबर माझखर्क सडक, लिम्चीङबुङ गाउँपालिकाको बाँसबोटे, माझखर्क, बलाम्ता, ताम्लीछाको सडकको अवस्था दयनीय भएकाले सवारी सञ्चालन गर्न जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । यद्यपि उनीहरूले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।

जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा, ताप्ली गाउँपालिकाको नुनथला पिपलभन्ज्याङ, रुपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्म ‘ग्राभेलिङ’ र कालोपत्र नहुँदा सडक भत्किनुका साथै ठूला खाल्डा परेकाले थप जोखिम बढेको यातायात व्यवसायी कुमार राउतले बताउनुभयो ।

रौता, मुर्कुची पुवारे डिल्लीबर सडकखण्डको २७ किलोमिटर विसं २०६६ मा कच्ची सडकका रुपमा निर्माण भएको थियो । त्यसपछि सडक स्तरोन्नति नहुँदा सडक खाल्डा परेको, ठाउँठाउँमा भत्किएको र जीर्ण बनेको मुर्कचीका यातायात व्यवसायी रुद्रबहादुर मगरले बताउनुभयो ।

रुपाटार, नुनथला पिलभञ्याङ ग्रामीण सडकको २५ किलोमिटर पनि जोखिमपूर्ण अवस्थामा रहेको ताप्लीका यातायात व्यवसायी जीवन तामाङ बताउनुभयो । उहाँका अनुसार १५ वर्षअघि निर्माण भएको उक्त सडकमा अहिलेसम्म कालोपत्रे भएको छैन । वर्षौँदेखि सडकखण्डमा ठूला खाल्डा परेको र कतिपय स्थानमा भत्किएको भन्दै यसको पुनःनिर्माण हुनुपर्ने यातायात व्यवसायी जीतबहादुर मगरको भनाइ थियो ।

उदयपुर गढी गाउँपालिकका अध्यक्ष मानबहादुर मगरका अनुसार जिल्लाको पहाडी क्षेत्रका चार गाउँपालिकाको झण्डै दुई सय २५ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ र कालोपत्रेका लागि प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिसकिएको बताउनुभयो ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भन्नुभयो, “प्रदेश सरकारसँग ग्रामीण सडक व्यवस्थापनका लागि पटकपटक बजेट विनियोजनको अनुरोध गरेका छौँ ।” बजेट व्यवस्थापनमा अझै केही समय लाग्ने उहाँको भनाइ थियो ।

गाउँपालिकाको बजेटले मात्र ग्रामीण सडक व्यवस्थापन हुन असम्भव हुने भएकाले प्रदेश सरकारसँग माग गरिएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताउनुभयो । प्रदेशले एकै चोटी बजेट व्यवस्थापन गर्न नसकेपछि पुनःनिर्माणमा समस्या भइरहेको उहाँको भनाइ थियो ।

विसं २०६५ देखि २०६७ सम्ममा उदयपुरको पहाडी गाउँपालिकामा झण्डै तीन सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि हालसम्म स्तरोन्नति हुन सकेको छैन । ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा सञ्चालन हुने अधिकांश यातायात साधन जोखिमपूर्ण सञ्चालन गर्न बाध्य छन् ।

ग्रामीण भेगमा बिरामी लिन जाँदा एम्बुलेन्स सञ्चालनमा अवरोध हुने गरेको भन्दै सडकको अवस्थाका कारण कतिपयको बाटोमै मृत्यु हुने गरेको नेत्रज्योति सङ्घ गाईघाटका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here