नेपाल–भारत सम्बन्ध कहिल्यै पनि टाढा हुँदैन भाजपा वरिष्ठ नेता माधवको भनाई

0
5

काठमाडौं ।

भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता राम माधवले नेपाल र भारतबीचको सम्बन्धमा तलमाथि भए पनि सदियौंदेखिको सभ्यता, संस्कृति र धार्मिक पक्षले गर्दा कहिल्यै दुई मुलुकलाई टाढा नबनाउने बताएका छन् ।

सेन्टर फर एसियन स्टडिज र इन्डिया फाउन्डेसनद्वारा मंगलबार संयुक्त रूपमा आयोजित कार्यक्रममा काठमाडौं आएका भाजपाका पूर्वमहासचिव माधवले भने,‘नेपाल र भारतको सम्बन्धमा तलमाथि हुन सक्छ, तर हाम्रो सभ्यता, संस्कृति र धार्मिक पक्षले कहिल्यै टाढा हुँदैन ।’ उनले नेपाल र भारत छुट्टाछुट्टै सार्वभौम मुलुक भएको उल्लेख गर्दै दुवै मिलेर सहकार्य गर्दै समृद्धितिर अघि बढ्नु पर्ने बताए ।

उनले नेपाल दुई ठूला एसियाका शक्ति तथा दुई प्रतिस्पर्धी मुलुकहरूबीचमा रहेको उल्लेख गर्दै नेपालले जहिल्यै पनि दुविधाको सामना गर्नु परेको पनि बताए । उनले भने,‘यस्तोमा हाम्रो दुई मुलुकबीचको सम्बन्धलाई कसरी विस्तार गर्ने? नेपाल र भारत बीचमा सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भयो । तर दुई मुलुकबीचको सम्बन्ध सदिऔंदेखि धेरै पुरानो हो । हाम्रो सभ्यता, संस्कृति र जनस्तरको सम्बन्ध नै नेपाल–भारत सम्बन्धको मुख्य पक्ष हो ।’ इन्डिया फाउन्डेसनका प्रमुखसमेत रहेका माधवले विश्वनाथ र पशुपतिनाथबीचको दूरी नभएको बताए ।

राप्रपा सांसद धवल शमशेर राणाले भारतले प्रगति गर्दै आइरहेकोमा खुसी व्यक्त गरे । तर उनले भारतले छिमेकी हुनुको नाताले स–साना समस्याहरुको समाधान गर्नु पर्ने पनि उल्लेख गरे । उनले भने,‘सीमा क्षेत्रमा नेपालबाट सवारी लिएर भारत जानेदेखि नेपाली विमानस्थललाई हवाई रुट दिनेलगायतका विषयमा भारत उदार हुनुपर्छ । जसले दुवै मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्छ ।’

कार्यक्रममा परराष्ट्रमन्त्री एन पि साउदले नेपाल–भारत बीचको सांस्कृति सम्बन्ध सुमधुर रहेको उल्लेख गरे । सेन्टर फर एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले भारत भविष्यमा आर्थिक रूपमा तेस्रो शक्ति भएर अमेरिका, युरोप र अन्य मुलुकमा बढी केन्द्रित हुँदै गर्दा छिमेकी नेपालले भारतको ध्यान तान्न सक्नु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here