गैरकृषक मतदाता भएपछि कृषि उपजको निर्वाचन स्थगित

0
8

झापा।

बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

कृषकतर्फका मतदाता प्रतिनिधिका रुपमा रहेकोमा गैरकिसानको नाम समावेश गरिएको भन्दै उनीहरुलाई मतदाता सूचीबाट हटाउनुपर्ने माग राख्दै उजुरी परेपछि निर्वाचन अनिश्चित कालका लागि स्थगित भएको हो ।

स्थानीय तहबाट छनौट भएर आएका भनिएका कृषि प्रतिनिधिको विषयमा उजुरी परेपछि निर्वाचन समितिले सूचना टाँसेर आइतवार तय भएको कृषक प्रतिनिधि छनौटको निर्वाचन स्थगित भएको जनाएको हो ।

झापाका आठ स्थानीय तहबाट पाँच जनाका दरले छनोट भएर आएकामध्ये पाँच जना कृषक प्रतिनिधिका विषयमा उजुरी परेको निर्वाचन समितिले जनाएको छ । बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाबाट कृषक प्रतिनिधि भएर आएका पाँचजनाविरुद्ध उजुरी परेको हो ।

बिर्तामोडका निरजकुमार ओली, अर्जुनधाराका भीमप्रसाद लम्साल र रमेश काफ्ले, कनकाईका कृष्णमाया भुजेल र तपनकुमार मण्डलबिरुद्ध उजुरी परेको हो ।कृषकले प्रतिनिधित्व गर्नुपर्नेमा गैरकृषकलाई प्रतिनिधि बनाएको भन्दै उनीहरुविरुद्ध उजुरी परेपछि निर्वाचन स्थगित भएको कृषि उपज बजार व्यवस्थापन समिति अध्यक्ष कमल पौडेलले बताए । तर, सोमवार निर्वाचन गराउन आफूले सूचना टाँस गरेको उनको भनाइ छ । निर्वाचन रोकिएसँगै सहज रुपमा निर्वाचन सम्पन्न गराउन छलफल भइरहेको अध्यक्ष पौडेलले बताए ।

कृषिथोक बजार व्यवस्थापन समितिमा कनकाई, बिर्तामोड, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र बाह्रदशी, हल्दिबारी र बुद्धशान्ति गाउँपालिकाका छनौट भएका प्रतिनिधिमध्येबाट मतदाता बन्ने व्यवस्था रहेको छ । प्रत्येक स्थानीय तहले पाँच जना कृषक प्रतिनिधि सहभागी गराउनुपर्ने प्रावधान भए पनि गैरकृषकलाई सिफारिस गरेको भन्दै उजुरी परेको हो ।

नगरको कृषि शाखामा नगरको कृषि समितिसँग छलफल पछि प्रतिनिधि पठाउनुपर्नेमा त्यसो नगरी नगरप्रमुख आफैंले प्रतिनिधि पठाएको समाचार श्रोतले जनाएको छ । जुन दलबाट गाउँ, नगरप्रमुख निर्वाचित भएको छ, सोही दलका किसान कार्यकर्ता सिफारिस हुँदै आएका छन् ।

यसअघि शनिवार सम्पन्न व्यवसायीको निर्वाचनबाट तीनजना निर्वाचित भइसकेका छन् । व्यवसायीबाट इन्द्रजित चौधरी, पार्वती खतिवडा र खगेन्द्र महतो निर्वाचित भएका छन् । नौजना उम्मेदवारमध्ये उनीहरु निर्वाचित भएका हुन् । व्यवसायीबाट २७८ जना मतदाता रहेका थिए ।

व्यवसायीबाट तीन र कृषकबाट तीनजना निर्वाचित भएपछि छ जनामध्येबाट अध्यक्ष चयन हुने प्रावधान रहेको छ । व्यवस्थापन समितिको पदावधि तीन वर्षको हुनेछ । निर्वाचनका लागि कृषि विभागबाट दामोदर पोखरेल, अनुसा कार्की र उर्मिला शाही आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here