चोरीको सुन फिर्ता, नगद र सजाय छुट

0
11

युद्धबहादुर बोहोरा,
इलाम।

चोरी गरेको तीन तोला सुन फिर्ता गरेपछि चोरलाई माफी दिएको छ ।

नगद एक लाख पैसासहित सुन चोरी गरेका चोरले सुन चाहिँ फिर्ता दिए । उनले लगेको पैसा र सजाय भने पीडितले छुट गरेका छन् ।

यो घटना इलामको फाकफोकथुम–१ ठिंगेपुरस्थित याक्सारे टोलमा घटेको घटना हो । यसै टोलमा बस्ने ७४ वर्षीया डल्लीमाया थेगिमले चेप्टे सुन, औंठी र सुनको टिका घरको सानो बाकसमा राखेर गत पुष १५ गते छोराको घर झापामा झरेकी थिइन् । जब उनी माघ १६ गते घर फर्किइन् र सामाजिक सुरक्षा भत्ताको लागि कागजात खोजिन् तब थाहा पाइन् बाकस फोरेर सुन र पैसा हराएको ।

त्यसबेला उनको घरमा श्रीमान्, साहिँली र कान्छी बुहारी थिए । उनीहरुसँगै बुबा–आमा सानैमा निधान भएर पाँच वर्षमा टुहुरो बनेका स्थानीय २१ वर्षीय युवक प्रकाश सावा भनिने (रक्की लिम्बू) पनि साथमै थिए । लिम्बूलाई छोरो सहर पालेर राखेका परिवारले कहिल्यै कुनै कुरामा शंका नगरेको बताए । यसको फाइदा उठाउँदै डल्लीमाया घरमा नभएको मौका पारेर उनले राखेको सुन र पैसा चोरी गरेको ७४ वर्षीया पीडित थेगिमले सुनाइन् ।

त्यसपछि उनै २१ वर्षीय युवकलाई शंका गरेर आमचोक प्रहरी चौकीमा माघ १७ गते उजुरी दिइन् । उनलाई पक्राउ गरेपश्चात् थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय इलाममा पठाइयो । प्रहरी कार्यालयमा पुगेपछि माघ १८ गते चोरी गर्ने व्यक्तिले लगेको एक लाख पैसाबाट मोवाइल किनेको र काठमाडौं घुमेर सकिएको बताउँदै साथमा कुच्याएर बोकेको तीन तोला सुन फिर्ता गरेपछि आपसी समझदारीमा मेलमिलाप भयो ।

सानैदेखि परिवारको सदस्य मानेर राखेको व्यक्तिले फटाई गरेता पनि आगामी दिनमा सुध्रियोस् भनेर एक पटक मौका दिएर सजाय र पैसा छुट गरेको परिवारले जानकारी दिए । डल्लीमाया भन्छिन्– ‘आजभोलि कसैको विश्वास गर्ने दिन रहेनछ । आफैले पालेको सर्पले, आफैलाई डस्छ भन्थे हो रैछ ।’

उनीहरुको साथमा पाँच वर्षदेखि आफ्नै घरमा पालेर हुर्काएका प्रकाशले त यसरी धोका दिन्छन् भने झन् अरुबाट बढी खतरा हुने बताउँदै सबैलाई सचेत बन्न १ नम्बर वडाका पूर्व वडाध्यक्ष टेकबीर लिम्बूले आग्रह गरेका छन् ।

आफ्नो थैलीको सुर्को, आँफै दह्रो बाध्नु अरुलाई चोर नलगाउनु भन्ने बुढापाकाको भनाइलाई बिर्सन नहुने उनले बताए । उनी छुटकारा पाएसँगै घर छोडेर अन्यत्रै बस्ने गरेको पीडित परिवारको भनाइ छ । प्रहरी कार्यालयमा मेलमिलाप गरेपछि फिर्ता गरिएको तीन तोला सुन १ नम्बर कार्यालयको रोहबरमा पीडित परिवारलाई घरैमा पुगरे हस्तान्तरण गरिएको वडाध्यक्ष कर्णबहादुर लिम्बूले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here