लोकप्रिय नेताको पहिचान बनाउन सफल बुढाथोकीको निधन

0
8

अर्जुनधारा ।

नेपाली काँग्रेस पार्टीका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको ७९ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार पाँच दिन अघि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा थप उपचारको लागि लगिएको उनको सोमबार राती १०ः५७ बजे सोही अस्पतालमा निधन भएको हो ।

क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिका बिरामी उनलाई केही दिन अघि छातीमा समस्या भएपछि उपचारको लागि झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको थियो । बिर्ता सिटीमा उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि विराटनगर लगिएको थियो ।

वि.सं. २००१ असोज २२ गते साविक मेची अञ्चल(हाल कोशी प्रदेश)को इलाम जिल्लामा आमा नन्दकुमारी र बुबा रघुवीर बुढाथोकीको सन्तानकारुपमा जन्मिएका बुढाथोकीले निडर र हक्की स्वभावका नेताको छवि बनाएका थिए । पछि झापालाई कर्मथलो बनाउँदै युवा अवस्थादेखि नै राजनीतिको माध्यमबाट नागरिक स्वतन्त्रता र जनअधिकारका लागि तत्कालिन् पञ्चायत शासनविरुद्ध संघर्ष गर्दै बहुदल प्राप्तीको लागि नेतृत्व गर्ने क्रममा उनी जेलसमेत परेका थिए ।

उनी तत्कालिन् शनिश्चरे गाँउ पञ्चायतको प्रमुख, जिल्ला विकास समिति झापाको सभापति हुँदै वि.सं. २०६४ र २०७० सालमा सम्पन्न भएको संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नं.५बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसको १२औं महाधिवेशनदेखि निरन्तर केन्द्रीय सदस्य रहेका उनी आम झापाली जनताको मनमा लोकप्रिय नेताको रुपमा बस्न सफल उनलाई ‘झापाको सेतो बाघ’को उपमा दिइएको थियो ।

केन्द्रीय सदस्य बुढाथोकीको पार्थीव शरीरलाई मंगलबार श्रद्धाञ्जलीको लागि नेपाली काँग्रेसको पार्टी झापाको कार्यालयमा केही समय राखिने र सोही दिन कनकाई नगरपालिकास्थित कनकाई नदी घाटमा अन्तयष्टी गरिने बताइएको छ ।

उनका श्रीमती गीता, दुई छोराबुहारीहरु आनन्द+हेली र शिशिर+पूजन, दुई छोरीज्वाईंहरु ममता+सन्तोष खत्री र कविता+निरज गिरी, तीन जना नाति र छ जना नातिनी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here