निष्ठाको धरोहरको बिदाइ

0
6

सत्य, निष्ठा, इमान, समानता र न्यायका प्रतीकका रुपमा स्थापित झापाका राजनीतिकर्मी केशबकुमार बुढाथोकी अब भौतिकरुपले अनुपस्थित भएका छन् । तत्कालीन मेची अञ्चलको सुन्दर पहाडी जिल्ला इलाममा जन्मिएका बुढाथोकी अध्ययनपछि झापाको शनिश्चरेलाई कर्मथलो बनाएर त्यहीँबाट राजनीतिसँगै सामाजिक सेवामा समर्पित रहँदै आएका थिए । आमा नन्दकुमारी र बुवा रघुवीर बुढाथोकीका छोरा केशवकुमार बुढाथोकीले एसपी शैलेन्द्र काण्ड भनेर चिनिने झापाको विद्यार्थी आन्दोलन मार्फत करिब साढे पाँच दशकअघि जागरण, स्वतन्त्रता र मानव अधिकारको पक्षमा झापाली युवा विद्यार्थीको नेतृत्व गरेका थिए । निडर, साहसी, निष्पक्ष, विवेकशील र हक्की स्वभावका कारण समाजको जुनसुकै वर्गमा गहिरो प्रभाव पार्न सक्ने उनको विशेषता थियो । त्यही विशेषताका कारण प्रजातन्त्र र प्रजातान्त्रिक आन्दोलनहरुमा जहिल्यै अग्रपंक्तिमा रहेका उनी जीवनपर्यन्त राजनीतिको केन्द्रमा रहे ।

युवाकालमै तत्कालीन शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्चमा अत्यधिक मतका साथ विजयी उनी जिल्ला पञ्चायत झापाको सभापति पनि भए । गाउँबाट प्रारम्भ भएको उनको समाजसेवा जिल्लामा समेत त्यत्तिकै लोकप्रिय र चर्चित रह्यो । जसको परिणाममा उनी तत्कालीन पञ्चायती व्यवस्था पनि व्यवस्थापिका सभा अर्थात् राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुँदै पहिलोपटक मन्त्रीमण्डलमा सामेल भएका थिए । तत्कालीन राजा वीरेन्द्रका सहपाठी उनी उच्च शिक्षा अध्ययनपछि वि.सं. २०२४ सालदेखि विद्यार्थी राजनीति हुँदै जीवनपर्यन्त प्रजातान्त्रिक आन्दोलनमा समर्पित रहे । सम्भ्रान्त परिवारमा जन्मिएर पनि सादा जीवन र उच्च विचारका अनुयायी उनको जीवन धेरैका लागि प्रेरणाको स्रोत थियो र चिरकालपर्यन्त रहने छ ।

नेपाली कांग्रेसभित्र जुझारु, जनपक्षीय र साझा नेताका रुपमा परिचित केशवकुमार बुढाथोकी स्पष्ट वक्ता पनि थिए । विगत केही वर्षदेखि प्रोस्टेटको समस्या झेलिरहेका उनी अन्ततः त्यसैसँग पराजीत हुन पुगे । हक्की र निर्भीक व्यक्तित्वकै कारण ‘बाघ’को उपनाम पाएका उनी अन्तिम पटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य बुढाथोकी झापा बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकका संस्थापक मध्येका एक थिए र अविराम पाठक र आदर्श व्यक्तित्व थिए । उनको भौतिक अवसानको दुःखद् क्षणमा उनको अमर आत्माको सायुज्य मुक्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here