संसद अधिवेशन फलदायी होस्

0
7

संसद विधान निर्माण गर्ने थलो हो । त्यसका सदस्यहरुलाई सांसद वा विधायक भनिन्छ । उनीहरुले निर्माण गरेको विधान जब पारित हुन्छ तब कानून बनिन्छ । त्यही विधायकहरुले निर्माण गरेको कानून अनुसार देशको शासन व्यवस्था सञ्चालन हुन्छ । यस अर्थमा सांसद विषयगत ज्ञान भएको, अध्ययनशील, परिपक्व र जिम्मेवारीप्रति सचेत र गम्भीर हुनुपर्छ । त्यसो भएमात्र देशमा विकासका पूर्वाधार निर्माण गर्न, विकासका गतिविधि सञ्चालन गर्न, सुशासन कायम गर्न र देशको अर्थतन्त्रलाई बलियो बनाउन सहज हुन्छ । त्यसका लागि विद्यमान कानून र प्रक्रियागत त्रुटिहरु हटाइ स्वच्छ, पारदर्शी, जवाफदेही र प्रतिबद्ध सांसदहरुको उपस्थिति महत्वपूर्ण हुन्छ ।

राज्यका प्रमुख तीन अङ्गहरु मध्ये व्यवस्थापिका सभा सबैभन्दा महत्वपूर्ण अङ्ग हो । हाम्रो संविधानको व्यवस्था अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा त्यही सभाको रुप हो । जसले विगतका त्रुटिहरुबाट सिकेर संसदको गरिमाको रक्षा गर्नुपर्छ र यो जनताको जीवनलाई सुरक्षित र चलायमान बनाउन योगदान दिनु पर्दछ । तर, हामीकहाँ संसद बेकामेहरुको थलो भएको आरोप लाग्दै आएको छ । अर्बौं रुपैयाँ खर्च गरेर निर्माण भएको संसद र त्यसको अधिवेशन गफ गर्ने, निदाउने र पक्ष–विपक्षमा विभाजित भई आरोप–प्रत्यारोप गर्ने थलो बनिएको छ । दलीय ह्विप अनुसार मात्रै सञ्चालन हुने सांसदहरुमा विषयको गहनतालाई बुन्ने, अध्ययन गर्ने र निकास दिने भूमिका नै देखिएको छैन ।

यस्तोमा फरक ढङ्गले गत सोमबारदेखि शुरु भएको संसद अधिवेशनले थाती रहेका धेरै विधेयकहरुलाई पारित गर्नुछ । देशको अर्थतन्त्र संकुचनमा छ, विकास निर्माणका काम अलपत्र छन्, भ्रष्टाचारले सगरमाथा टेकेको छ, सुशासन व्यवहारमा छैन । यस्तो अवस्थामा सांसदहरु गम्भीर हुनुपर्छ । हाजिर गरेर हिँड्ने, घाम तापेर बस्ने अनुपस्थित भएर पनि भत्ता बुझ्ने र आफ्नो भूमिका पूरा नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । संघीय एवम् गणतान्त्रिक व्यवस्थालाई बलियो पार्न, राजनीतिक प्रणालीप्रतिको नकारात्मक धारणा बदल्न र भ्रष्टाचारमुक्त शासन व्यवस्था सुदृढ बनाउन सांसदहरु कै भूमिका रहन्छ । त्यसैले सांसदहरु चालू अधिवेशनलाई सार्थक र उत्पादक बनाउन सचेत र जिम्मेवार बन्नुपर्छ । यसका लागि सांसदहरुले आफ्नो भूमिका बदल्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here