लक्ष्य अनुरुप राजश्व संकलन गर्न अर्थमन्त्री डा. महतको निर्देशन

0
9

भद्रपुर ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आइतबारदेखि शुरु गरेको १५ दिने पाँचौं दमक महोत्सवको उद्घाटन गर्न झापा आएका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् ।

निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुबै भन्सार कार्यालयलाई मासिक रुपमा लक्ष्य अनुरुपको राजश्व सङ्कलन गर्न निर्देशन दिए । उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजश्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । राजश्व घटेमा देशको आम्दानीको स्रोत घट्छ –अर्थमन्त्री महतले भने– राजश्व घटेमा शिक्षा, स्वास्थ्य लगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । त्यसैले राजश्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।

उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै उनले व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे । सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजश्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकरभिट्टा मन्त्रालयबाट छाँयामा परेको बारेमा अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइ दिन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।

अर्थमन्त्री महतले आइतवारबाट शुरु भएको दमक महोत्सवको उद्घाटनसँगै अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायको ठूलो हात रहने बताएका छन् । उनले पछिल्लो समय व्यवसायीहरुलाई राहत दिने गरिका कार्यक्रम ल्याउन सरकार लागिपरेको भन्दै यो सरकार व्यवसायीका पक्षमा रहेको बताए ।

फागुन १२ गतेसम्म चल्ने महोत्सवमा १२ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव दमक उद्योग वाणिज्य संघले आयोजना गरेको हो । दमक –७ को सयपत्री टोल स्थित रतुवा खोला किनारमा लाग्ने महोत्सवमा १ सय भन्दा बढी स्टलहरु रहेको अध्यक्ष गोपाल गुरागाईले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here