प्रहरीको सेटिङमा पक्राउ परेका युवक छुटे

0
7

झापा । केही महिनाअघि सीमाबाटै भारतीय रुपैयाँसहित पक्राउ परेका दुई युवकलाई छाडेको घटना सेलाउन नपाउँदै वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवकलाई पनि त्यतिकै छाडिदिएको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी ७ बजेको समयमा नेपाल–भारत सीमा पिलर ९९ बाट भन्सार छलेर सामान ओसार्ने भद्रपुर–५का एक्का भन्ने आकाश कामतीलाई पक्राउ गरेको थियो । लाइन मेन कामतीको समूहले ५० हजार मूल्य बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रीनर र प्राइमर भन्सार छलेर भित्र्याउन लाग्दा प्रहरीले सामानसहित कामतीलाई पक्राउ गरेको थियो । कामतीलाई पक्रेर वडा प्रहरी कार्यालय लगिए पनि अन्य दुई लाइन मेन सामान छाडेर भाग्न सफल भएका थिए । तर, वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले दबाब र प्रभावमा परेर सामानसहित पक्राउ परेका कामतीलाई राति नै छाडिदिएको घटना बाहिर आएको छ ।
मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय झापाले सञ्चारकर्मीलाई पठाएको प्रेस नोटमा मान्छे पक्राउ गरिएको भन्ने विवरण कहींकतै खुलाइएको थिएन । प्रेस नोटमा ५० हजारको सामान मात्र उल्लेख गरिएको थियो । यस बारेमा प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा इन्स्पेक्टर ढुण्डीराज गिरीसँग बुझ्दा उनले भने– ‘वडा प्रहरीले जे विवरण पठाएको हो, त्यही विवरण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पठाइदिएको हो ।’ उनले पक्राउ परेका मान्छेको बारेमा वडा प्रहरीका इन्स्पेक्टरसँग बुझ्न आग्रह गरे । यता वडा प्रहरीका इन्स्पेक्टर बोगटीले बरामद गरिएका सामान भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको बताएका छन् । पक्राउ परेका मान्छेलाई आइन्दा यस्तो गल्ती नदोहो¥याउने शर्तमा हिजै राति आफन्तको जिम्मा लगाइसकेको उनको भनाइ छ । स्रोतका अनुसार सामानसहित मान्छे वडा प्रहरी पु¥याएलगत्तै जनप्रतिनिधि र त्यहीका केही पहुँच भएका व्यक्तिले इन्स्पेक्टरलाई बारम्बार फोन गर्दै मान्छे छाडिदिनु प¥यो भन्दै दबाब दिएको बताइन्छ ।
भद्रपुर भन्सार कार्यालयका प्रमुख अमित तिवारीका अनुसार सामानसहित पक्राउ परेका मान्छेको हकमा प्रहरी प्रतिवेदनमा सामानको मूल्य उल्लेख भए बमोजिमको धरौटी रकम बुझाएर मान्छेलाई तारिखमा छाडिने प्रावधान रहेको बताए । ५० हजार मूल्य बराबरको सामानको हकमा प्रतिमान्छे ६५ हजार धरौटी रकम बुझाउनुपर्ने कानूनी प्रावधान रहेको उनले बताए । सामानसहित पक्राउ परेका कामती समूहका लाइनमेनहरुले भद्रपुर–५स्थित ९९ पिलर आसपास दोभान नाकाबाट राई बस्ती हुँदै गणेश मन्दिर छेउबाट ठूला मात्रामा भन्सार छलेर सरसामान दिनहुँ जसो भित्र्याइरहेका छन् ।
उनीहरूले व्यापारी र कारोबारीले दिएको अर्डर बमोजिम जस्तोसुकै सरसामान प्रहरीको आँखा छलेर होस् वा सेटिङ्ग मिलाएर होस् सामान भित्र्याइरहेको स्थानीय स्रोतको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here