पूर्वमन्त्री बुढाथोकीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

0
9

झापा । पूर्वमन्त्री, संविधानसभा सदस्य एवम् लोकतन्त्रवादी नेता केशवकुमार बुढाथाकीको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।
नेपाली राजनीतिका एक अथक योद्धा, कठिन राजनीतिक समयमा पनि बहुदलका पक्षमा अग्रसर र नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत बुढाथोकीले योगदान पु¥याएको भन्दै उनको निधनले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना–पत्रमा उल्लेख छ । राष्ट्रपति पौडेलले पठाएको समवेदना– पत्र झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले परिवारजनलाई बुधवार प्रदान गरेका छन् ।
अर्जुनधारास्थित बुढाथोकीको निवासमा पुगेर प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले समवेदना– पत्र हस्तान्तरण गरेका थिए । राष्ट्रपति पौडेलद्वारा पठाइएका समवेदना पत्रमा बुढाथोकी एक प्रखर, निडर र हक्की स्वभावको राजनीतिकर्मी रहेको उल्लेख छ । उनको निधनले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको मैले महशुस गरेको छु– राष्ट्रपति पौडेलद्वारा प्रेशित समवेदना–पत्रमा उल्लेख छ । समवेदना पत्रमा दुःखको घडीमा रहेका परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै बुढाथोकीको आत्माको चिरशान्तिको कामना गरिएको छ । समवेदना–पत्र हस्तान्तरणका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरीका दुई नम्बर गणका गणपति देवराज अर्याल लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बुढाथोकी क्यान्सर, मधुमेह, उच्च रक्तचापको कारण बिरामी परेका थिए । उनको उपचारकै क्रममा माघ २२ गते निधन भएको थियो ।
बुढाथोकीको निधनप्रति यसअघि नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतले समेत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here