बिराटनगर ।

इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाका प्रहरी नायव निरीक्षक जीवनकुमार कार्की र ट्राफिक प्रहरी कार्यालय इनरुवा सुनसरीका प्रहरी हवल्दार विशाल प्रधानलाई २०८० साल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी वेष्ट पुलिस अफ द मन्थ घोषित गरी पुरस्कृत गरिएको छ ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उच्च मुल्याङकन गर्दै पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका कार्कीले इन्धन बोक्ने ट्याङकरमा लुकाई छिपाई ल्याएको ६०० केजी गाँजा ओसार पसारमा संलग्न चार जनालाई पक्राउ गर्नुका साथै अन्य विभिन्न अपराधिक घटनाहरुमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको र हवल्दार प्रधानले सुनसरीको ईनरुवाबाट ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएकोले दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरेको हुनाले दुबै जनालाई उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” वेष्ट पुलिस अफ द मन्थ घोषणा गरी पुरस्कृत गरिएको बताइएको छ ।
प्रहरी नायव निरीक्षक कार्कीले झापाको भद्रपुरस्थित भद्रपुर विमान स्थलमा रहेका बेला समेत उत्कृष्ट कार्य गरेका थिए । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा रहेको समयमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कार्कीले ट्राफिक प्रहरीमा कार्यरत रहेको समयमा ट्राफिक नियम सम्बन्धी काक्षहरु समेत सञ्चालन गरेका थिए । उनले नेपाली सेनाादेखि विद्यामर्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायत चालक तथा सहचालकहरुलाई समेत उनले ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कक्षहरु सञ्चालन गरेका थिए ।
धनकुटास्थित भेडेटारको जिम्मेवारी सम्हाले लगत्तै उनले त्यस क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि विभिन्न सचेतनासंगै अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । पर्यटकीय क्षेत्र भेडेटारमा शान्ति सुरक्षा कायम गर्न उनले जनप्रतिनिधिसहित होटल ब्यवसायी, विभिन्न संघ–संस्था तथा नागरिकसंग सहकार्य गर्दै काम गर्दै आएका छन् ।































