झापा । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म महोत्सव सञ्चालन हुने शुक्रवार आयोजित पत्रकार भेटघाटमा आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए ।

साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरेलगायतका श्रष्टाहरुको अगुवाइमा स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानलाई चलायमान बनाउन, कनकाई नगरमा रहेका सर्जक चित्रकार पवन राजवंशी, मूर्तिकार हिम्मतबहादुर नेम्वाङ लगायतको सम्मान र प्रर्वद्धन, कला, संस्कृति र साहित्य क्षेत्रमा अघि बढ्न खोजी रहेका नवप्रतिभाहरूलाई प्रोत्साहन गर्न सघाउन पु¥याउने उद्देश्यले साहित्य महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष कँडेलको भनाइ छ ।
महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू समावेश हुने बताइएको छ । स्थानीय विविध जातिहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पु¥याउने आयोजकको धेय रहेको छ । महोत्सवको पहिलो दिन बिहान ११ बजे सुरुङ्गा बजारमा प्रभातफेरी गरेर शुरु हुने महोत्सवमा एक दर्जन कार्यक्रमहरू तय गरिएको छ । प्रभातफेरी पछि दैनिक रुपमा फरक–फरक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ । महोत्सव अवधिभरमा साहित्य गोष्ठी, ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, हास्यव्यंग्यसहित सांस्कृतिक कार्यक्रम राखिएको छ । हास्यव्यङ्गयसहित सांस्कृतिक कार्यक्रम, पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यवसायिक गतिविधि भने तीन दिननै सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।
अन्य कार्यक्रमहरूमा शिक्षक, साहित्य सर्जकहरूका लागि कविता लेख प्रशिक्षण, जिल्लास्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहकाले भागलिन सक्ने गरी कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्रियस्तरको साहित्य गोष्ठीलगायतका कार्यक्रमहरू रहेको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए । साहित्य महोत्सवमा अग्रज साहित्यकारहरू तुलसी कनकाईमा … दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, प्राध्यापक डाक्टर देवी नेपाल, कवि मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाललयागत सुपरिचित स्रष्टा कलाकारहरूको उपस्थिति रहने आयोजक संस्थाका कुमारमणि पोखरेलले जानकारी दिए ।































