मौलिक संस्कृतिको संरक्षण गरौं

0
7

परम्परादेखि चल्दै आएको चालचलन, संस्कार, रीतिथिति, रहनसहन, खानपिन, विचार र पहिरनबाट निर्मित मूल्य र मान्यताको समष्टि रुप संस्कृति हो । संस्कृतिले कुनै जातिको प्रतिबिम्ब देखाउँछ, जसको निर्माणमा लामो समयको योगदान रहन्छ । अग्रजहरुले निर्माण गरेको संस्कृतिको पुस्तान्तरण गर्न परिवार, समाज र राज्यको भूमिका रहन्छ । पछिल्लो समय समाजलाई विज्ञान र प्रविधिको विकासले जित्दै लगेको छ । जसका कारण परम्परागत संस्कार, संस्कृति, मूल्य र मान्यता छायामा पर्दै जान थालेका छन् । नयाँ पुस्ता मोवाइल, कम्प्युटर र इन्टरनेटमा रमाउँदा परम्परागत मूल्य, मान्यता संस्कृति कमजोर हुन थालेको अवस्थाले शास्त्रीय ज्ञान बिस्मृतिमा पर्दै गएको छ ।

यही अवस्थालाई दृष्टिगत गरी पूर्वी नेपालमा बसोबास गर्ने मुख्य आदिवासी याक्थुङ–लिम्बू समुदायले मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण, विकास र सम्बद्र्धन गर्ने उद्देश्यले कोशी प्रदेशको इलाम जिल्लामा सांस्कृतिक महोत्सवको आयोजना गरेको छ । यही फागुनको २४ र २५ गते इलाम बजारमा हुने महोत्सवमा सांस्कृतिक झाँकीसहित मौलिक नृत्य च्याब्रुङ, धान नाच, पालाम, हाक्पारे लगायत सांस्कृतिक पोशाकको प्रदर्शन गरिने आयोजकले जनाएको छ । अरुण पूर्वका नौ वटा जिल्लासहित उपत्यका र चिवतनका गरी १३ वटा जिल्लाका किरात याक्थुङ चुम्लुङको प्रदर्शनीमा सहभागिता रहनेछ ।

बूढा मरे भाषा सरे भन्ने भनाइ अहिले कमजोर बन्दै गएको छ । हजुरआमा, हजुरबुबाले नैतिक, पौराणिक एवम् सांस्कृतिक कथा सुनाएर बालबालिकालाई सदाचार र मौलिकताको शिक्षा दिने परम्परा एकल पारिवारिक ढाँचाले विस्थापित गरेको छ । यसले बालबालिकालाई एकाकी मात्र बनाएको छैन भौतिक एवम् प्रविधिको विकास, पहुँच र प्रयोगले मानवीय पक्षमा कमजोर पनि बनाएको छ । पारिवारिक सामीप्यता, अन्तरक्रिया गर्ने संस्कृति पनि हराएको छ । स्मार्ट फोन, सामाजिक सञ्जालको बढ्दो प्रयोगले विदेशी संस्कृति, सभ्यता र सम्बन्धलाई नयाँ पुस्ताको अभिन्न अंग बनाएको छ । त्यसैले यसबाट जोगाउन परम्परागत संस्कृति र परम्परा, मानवीय मूल्य र संवेदना सुरक्षित राख्न परिवार, समाज र राष्ट्रकै पहल हुनुपर्छ । यस्ता सांस्कृतिक महोत्सवले मात्र मौलिक भाषा, संस्कृति, धर्म र इतिहासप्रति गौरव गर्न प्रेरित गर्छ । अगुवाहरुको ध्यान त्यता जान आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here