चालु आवको छ महिनामा अर्जुनधारा नपाको आय ४३ करोड बढी

0
12

अर्जुनधारा ।

चालु आर्थिक वर्ष ०८०/०८१ को छ महिनामा अर्जुनधारा नगरपालिकाको जम्मा आय ४३ करोड ७७ लाख ५८ हजार तीन सय ७७ रुपैयाँ रहेको छ ।

अर्जुनधारा नगरपालिकाको आइतबार सम्पन्न नगर सभाको नियमित १४औं अधिवेशनमा उपप्रमुख एवम् बजेट योजना तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीबाट प्रस्तुत चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमको समिक्षात्मक विवरण तथा संशोधित अनुमानित प्रतिवेदनमा उक्त आय उल्लेख गरिएको छ ।

नगरपालिकाको १३औं नियमित अधिवेशनबाट चालु आर्थिक वर्षको लागि जम्मा ७६ करोड २२ लाख ८० हजार रुपैयाँ बराबरको आय र व्ययको अनुमान गरि बजेट स्वीकृत भएको थियो । त्यसैगरी नगरपालिकाले हालसमम २७ करोड ४६ लाख ७५ हजार एक सय ३३ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही अधिवेशनमा चालु आर्थिक वर्षको लागि ८९ करोड ४४ लाख ७० हजार आठ सय ९४ रुपैयाँ संशोधित आय र व्ययको अनुमानमा पनि पेश गरिएको छ ।

जसअनुसार थप भएको बजेट अन्र्तगत नेपाल सरकारबाट प्राप्त हुने सशर्त कार्यक्रमतर्फ ५५ लाख ५० हजार रुपैयाँ, स्थानीय राजश्व बाँडफाँड बापत चार करोड १८ लाख ३१ हजार रुपैयाँ, प्रदेश सरकार सशर्त कार्यक्रमतर्फ पाँच लाख ३७ हजार तथा अल्या रकम बाँडफाँडतर्फ आठ करोड ४२ लाख ७२ हजार आठ सय ९४ रुपैयाँ थप आय प्राप्त हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रस्तुत प्रतिवेदनमा कार्यक्रम सञ्चालनतर्फ भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह तथा सुशासन र चुनौतीहरुको विषयमा नगरपालिकाले हालसम्म गरेको र आगामी दिनमा गर्ने कार्यक्रम बारे उल्लेख गरिएको छ ।

त्यस्तै अधिवेशनमा आवधिक नगर विकास योजना २०८०–०८५, मेलमिलापकर्ताहरुको विवरण अद्यावधिक र चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट नीति तथा कार्यक्रम अन्र्तगतको योजनाहरु अनुमोदन प्रस्ताव पेश गरिएको छ । नगर विकास योजना २०८०–०८५को प्रस्ताव नगर कार्यपालिका सदस्य चन्द्रमाया तामाङ, मेलामिलापकर्ताहरुको विवरण अद्यावधिक सम्बन्धी प्रस्ताव न्यायिक समितिकी सदस्य शर्मिला सुब्बाले र चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट नीति तथा कार्यक्रम अन्र्तगतको योजनाहरु अनुमोदन प्रस्ताव अर्का कार्यपालिका सदस्य हरिशचन्द्र बाँस्तोलाले प्रस्तुत गरेका थिए ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, विषयगत शाखाका प्रमुख एवम् प्रतिनिधिहरु, पत्रकारहरुलगायतको सहभागिता रहेको थियो । अधिवेशनको अर्को बैठक यही फागुन १० गते दिउँसो १ बजे सञ्चालन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here