सैनिकबजारमा वडाध्यक्ष टोलस्तरीय फूटबल प्रतियोगिता हुने

0
11

बिर्तामोड ।

झापाको बिर्तामोड -१०स्थित सैनिकबजारमा वडा खेलकूद विकास समितिको आयोजनामा आगमी चैत्र१६ गतेदेखि २५ गतेसम्म चौथो वडाध्यक्ष टोलस्तरीय फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

आइतबार आयोजक वडा खेलकूद विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो। वडा खेलकूद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकले प्रतियोगितामा बिर्तामोड -१० मा रहेका २६ वटा टोलहरुमा केही टोलहरुलाई संयुक्त टीम बनाई जम्मा १० टीमको सहभागिता रहने जानकारी दिए।

खेल सञ्चालनका लागि अनमानित खर्च ४लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेता टीमलाई ३१ हजार र उपविजेता टीमलाई २१ हजार रुपैयाँ प्रदान गरिनुको साथै मेडल,ट्रफी र सम्मान पत्रले सम्मान गरिने अध्यक्ष तुम्रोकले जानकारी दिए।

विभिन्न टोलभित्र रहेका खेलाडीहरुको खेल क्षमता अभिबृद्धि गर्ने र स्वस्थ समाजको विकास गर्ने उद्देश्यले आयोजित फूटबल प्रतियोगिता स्थानीय महेन्द्रज्योति माविको खेल मैदानमा सञ्चालन हुने समितिका उपाध्यक्ष खड्गबहादुर गुरुङले बताए।

त्यस्तै फाइनल खेलसँगै चैत्र २५ गते बिर्तामोड -१० का महिलाहरुको सहभागिता रहने ४ किमी महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न गरिने समेत आयोजकले जानकारी गराएको छ। म्याराथनको प्रथम,द्वितीय र तृतीय पुरस्कार क्रमशः नगद ६ हजार,४ हजार र २ हजार ५ सय रहने बताइएको छ।

वडा खेलकूद विकास समितिका अध्यक्ष तुम्रोकको अध्यक्षता तथा वडाध्यक्ष दूर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, निवर्तमान बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य गीता घिमिरे पोखरेलगायतले बोलेका थिए।

कार्यक्रममा वडा सदस्यहरु पृथ्वी बस्नेत,दीपिका सिवा,धनमाया श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि,टोल विकास समितिका अध्यक्षलगायतको आतिथ्य रहेको थियो।समितिका उपाध्यक्ष खड्गबहादुर गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नरेन तामाङले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here