प्रजातन्त्र दिवसको सम्झना

0
7

नेपालीले आफूले चुनेका प्रतिनिधिबाट देशको शासन व्यवस्था सञ्चालन गर्न प्रारम्भ भएको दिन हो– फागुन ७ गते । अर्थात् २००७ साल फागुन ७ गते नेपाली वीर सपुतहरुको प्राण उत्सर्गबाट प्राप्त उपलब्धीको स्मरण गर्ने दिन । त्यही दिनदेखि नागरिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ढोका खुलेको थियो । एक सय चार वर्षे लामो जहानीया र निरंकुश शासन व्यवस्थाको अन्त्यका लागि हाम्रा वीरहरु दशरथ चन्द, धर्मभक्त, शुक्रराज र गंगालाल जस्ता सपुतहरुले प्रजातन्त्रका निम्ति प्राणको आहुती दिएका थिए । त्यही चेतनाले तत्कालीन राजा त्रिभूवनलाई समेत राजगद्दी दाउमा लगाउन ऊर्जा प्रदान गरेको थियो । आखिर राजा र प्रजाको संयुक्त संघर्षका अघि झुक्न बाध्य भएका राणा शासकले शासन सत्ताबाट हात धुनु परेको थियो ।

त्यही फागुन ७ को उपलब्धीलाई प्रजातन्त्र दिवसका रुपमा स्मरण गर्दै त्यसका लागि समर्पित अग्रजहरुप्रति सम्झना प्रकट गर्ने पर्वका रुपमा मनाइन्छ यस दिनलाई । यद्यपि २००७ सालमा प्रजातन्त्र आएको देशमा हिजोआज लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भइसकेको छ । देशको भौगोलिक, प्रशासनिक तथा राजनीतिक संरचनाहरु परिवर्तन भएका छन् । नेताहरु प्रजातन्त्र शब्दसँग नै तर्सिएका देखिन्छन्, तर उनीहरुले भने जस्तै लोकतन्त्र वा गणतन्त्र जनबोली बन्न सकिरहेको छैन । अनि पनि आधुनिक राजनीतिक व्यवस्था शब्दावली र भाष्यको गणतन्त्रको जग त्यही प्रजातन्त्रको उपलब्धी हो । त्यसैकारण पनि कसैले चाहेर पनि प्रजातन्त्रको महŒवलाई अस्वीकार गर्न सक्दैन ।

प्रजातन्त्र स्थापनाका लागि युगान्तकारी भूमिका र योगदान दिने तत्कालीन राजनीतिक दलहरु हाल अस्तित्वमा छैनन् । तर, तिनको संघर्षपूर्ण र बलिदानी योगदान इतिहासका नमेटिने पाना हुन् । आज देशमा गणतन्त्र स्थापना भएको पनि डेढ दशक नाघिसकेको छ । तर, प्रजातन्त्रकालीन र गणतान्त्रिक शासन व्यवस्थामा आमजनताले फरक अनुभूति गर्न पाएका छैनन् । सत्ताका लागि ‘जे पनि गर्न सक्ने’ खेल अहिले पनि त्यसरी नै चलिरहेको छ । भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण अन्त्य भएको छैन । बरु भ्रष्टाचारको मात्रा र स्वरुप झन् व्यापक बन्दै गएको छ । नेपाल युवाविहीन वृद्धाश्रम जस्तै बन्दै गएको छ । श्रमलाई सम्मान गर्ने संस्कृति विलुप्त हुन थालेको छ । यस्तोमा प्रत्येक वर्ष आउने फागुन ७ ले हाम्रा शासकलाई इतिहास पढेर वर्तमानलाई परिष्कार गर्ने चेतना पलाउनुपर्छ । अनि मात्र नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाउने छन् । शब्द साटेर मात्र परिवर्तनलाई संस्थागत गर्न सकिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here