प्रेस स्वतन्त्रता सेनानी भण्डारीसहित ८ जना सम्मानित

0
15

झापा । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा प्रेस स्वतन्त्रता सेनानी चन्द्र भण्डारीसहित आठ जना पत्रकारलाई प्रेस स्वतन्त्र सेनानी सम्मान प्रदान गरिएको छ ।
नयन एड्भर्टाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेशखबर डटकम (डिजिटल अनलाइन पत्रिका) आफ्ने प्रथम वार्षिकोत्सवको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा झापाका अग्रज पत्रकार भण्डारीसहित प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिबबहादुर कार्की (मोरङ), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा) रहेका छन् । उनीहरूलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले प्रेस स्वतन्त्र सेनानी सम्मान प्रदान– पत्र प्रदान गरेकी थिइन् । सम्मानित व्यक्तित्वमध्ये भण्डारी तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।
उनको नेतृत्वमा तत्कालीन पत्रकार संघलाई २०५३ सालमा सुनसरीबाट पत्रकार महासंघ बनाइएको थियो । उनी त्यसबेला संस्थापक महासचिव थिए । सम्मानित व्यक्तिमध्ये सुब्बा २०२९ सालदेखि पत्रकारिता पेशामा आवद्ध छन् । लम्साल ३०को दशकदेखि नै पत्रकारिता पेशामा आवद्ध रहेका छन् । यसैगरी बराल चार दशकयता पत्रकारितामा आवद्ध छन् । कार्की २०२० को दशकदेखि पत्रकारितामा आवद्ध छन् भने आचार्य २०३२ सालदेखि पत्रकारिता पेशामा आवद्ध छन् । यसैगरी चेम्जोङ पञ्चायती व्यवस्थाको बिरुद्धमा कलम चलाउँदै आएका छन् । राई ०४३ सालदेखि पत्रकारितामा सक्रिय छन् ।
कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन् ।

उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो ।
पुरस्कृतहरू वन्त लामो समयदेखि राष्ट्रिय समाचार समितिमा आवद्ध छन् भने राष्ट्रिय फोटो पत्रकारिता समूहका अध्यक्ष छन् । उनी डेढ दशकयता फोटो पत्रकारिता गर्दै आएका छन् । यसैगरी भण्डारी करिब डेढ दशकदेखि झापामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य हुन् । उनी पूर्वाञ्चल दैनिक पत्रिकामा सहसम्पादकको भूमिकामा लामो समयदेखि कार्यरत रहेका छन् । यता सम्मानित खतिवडा करिब एक दशकदेखि इलाममा रहेर पत्रकारिता गर्दै आएका छन् । यसैगरी बुढाथोकी अन्नपूर्ण पोष्टसँग आवद्ध छन् । विराटनगरमा बसेर आपराधिक क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्दै आएका बुढाथोकी करिब दुई दशकदेखि पत्रकारिता पेशामा आवद्ध छन् । यसैगरी रेग्मी करिब एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध छन् । उनी हिमाल प्रेस र राजधानी दैनिकमा आवद्ध छन् । यस्तै, पर्यटनको क्षेत्रमा योगदान पु¥याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो ।
यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरबी कटुवाललाई सम्मान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । ‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्’– उपसभामुख रानाले भनिन्– ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारण पनि पत्रकारहरूसँग नजिक छु ।’ उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने कलमजीवीहरू रहेको बताइन् । उपसभामुख रानाले भनिन्– ‘पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म निरन्तर जनताका आवाज मुखरित गर्नेहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष हो । खासगरी पत्रकारिताका कारण भ्रष्टाचार शून्य हुन पनि सहज पुग्छ ।’ उनले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन् ।


प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानीबाट उपाधि प्राप्त गरेका बरिष्ठ पत्रकारलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानीद्वय हर्ष सुब्बा र चन्द्र भण्डारी, अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटा, पुरस्कृत व्यक्तिमध्येबाट सुरेन्द्र भण्डारी, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन कोशीका महासचिव सञ्जीव वाग्ले, प्रेस चौतारी नेपालका अनुशासन कमिटीका सदस्य त्रिलोचन पौडेल, प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here