प्रादेशिक अस्पताललाई एक्स–रे र प्रिन्टर मेसिन

0
9

झापा ।

भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स–रे र प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ ।

नेपाल क्षयरोग निवारण संस्था भद्रपुरले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) द्वारा प्राप्त एक्स–रे मेसिन र संगम बायो मेडिकल सोल्युशन विराटनगरले प्रदान गरेको प्रिन्टर मेसिन बुधबार एक कार्यक्रमकाबीच प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो ।

अस्पतालभित्रै करिब डेढ करोड रुपैयाँको लागतमा जडान गरिएको एक्स–रे मेसिन सञ्चालन गर्ने सहमति अनुसार १४ बुँदे सम्झौता पत्रमा नेपाल क्षयरोग निवारण संस्था भद्रपुरका सभापति गोपालबहादुर थापा र प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता–पत्रको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले रोहबरमा हस्ताक्षर गरेका छन् । एक मात्र ठूलो सरकारी अस्पतालमा पछिल्लो समयमा बिरामीको चाप अत्यधिक बढेको र एक्स–रे सेवालाई छिटोछरितो बनाउने उद्देश्यले क्षयरोग निवारण संस्थाको पहलमा दातृसंस्थाहरूले एक्स–रे र प्रिन्टर मेसिन उपलब्ध गराएको संस्थाका सभापति थापाले जानकारी दिए ।

उनले सम्झौता–पत्र अनुसार क्षयरोग निवारण संस्थाबाट एक्स–रे सेवाका लागि सिफारिस गरिएका अति विपन्न व्यक्ति र क्षयरोगीहरूलाई निःशुल्क सेवा दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले अस्पताललाई प्रदान गरिएको एक्स–रे मेसिनले सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास लिएको बताए ।

अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा नगर उपप्रमुख कार्की, अध्यक्ष गौरव सुब्बा लगायतले मन्तव्य राखेका थिए । सम्झौता–पत्रको वाचन संस्थाका सदस्य गोपाल गिरीले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केदार महतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here