अहिले पनि चिनियाँ नाकाबन्दी , गृहमन्त्री श्रेष्ठलाई बुझाईयो ज्ञापनपत्र

0
8

गोरखा ।

चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले चीनसँगको नाका खुल्ला गर्न पहल गरिदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्। गाउँपालिकाका अध्यक्ष निमा लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खुलाउने वातावरण बनाइदिन माग गरेका हुन्।

कोभिड-१९ महामारी सुरु भएपछि चीन सरकारले २०७६ सालदेखि चुमनुब्री र तिब्बती सीमास्थित रुइला र ङुइला नाका एकातर्फी रूपमा बन्द गरेको छ। नाकाबन्द हुँदा नजिकको तिब्बती बजारमा गई दैनिक उपभोग्य बस्तु खरिद गर्न तथा सीमा वारपारका आफन्तहरू भेटघाट गर्नसमेत समस्या भएको स्थानीयबासीको गुनासो छ। ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले नाका खुलाउनका लागि संवेदनशील भएर कूटनीतिक पहल गर्ने जनाएका थिए।

जनप्रतिनिधिले पेश गरेको ज्ञापनपत्रमा मनास्लु क्षेत्रमा लागु गरिएको निषेधित क्षेत्रले स्थानीयबासीलाई दैनिक जीवनयापनमा समेत दुश्प्रभाव पारेको भन्दै निषेधित क्षेत्रको व्यवस्था हटाइदिन माग गरिएको छ। त्यस्तै सीमा क्षेत्रका सामागाउँ र छेकम्पारमा बोर्डर आउटपोस्ट(बिओपी) स्थापना गर्न पनि माग गरिएको छ। चुम्चेत र बिहीमा प्रहरी चौकी स्थापना गर्न पनि ज्ञापनपत्रमार्फत स्थानीयबासीले माग गरेका छन्।

एउटै समुदायको बाक्लो बसोबास रहेको स्थानलाई विशेष क्षेत्र घोषणा गर्न मिल्ने संवैधानिक व्यवस्था लागु गर्दै भोटे लामा समुदायको बसोबास रहेको चुमनुब्री गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गर्न माग गरेका छन्। चुमनुब्री ३ को देवल गाउँका ७६ घरधुरी र चुमनुब्री ६ को लोक्पा गाउँ पहिरोको अत्याधिक जोखिममा रहेकाले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न पनि जनप्रतिनिधिहरुले माग गरेका छन्। अन्नपूर्णपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here