सुरुङ्गामा कला, संस्कृति र साहित्य महोत्सव शुरु

0
5

सुरुङ्गा ।

झापाको सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव एक भव्य समारोहवीच शुरु भएको छ ।

रोटरी क्लब अफ सुरुङ्गाकोे आयोजनामा फागुन १६ गते बुधबारसम्म चल्ने महोत्सवको नेपाली चलचित्र क्षेत्रका भीष्म पितामहका रुपमा परिचित वरिष्ठ अभिनेता तथा गीतकार नीर शाहले समुद्घाटन गरेका थिए ।

विभिन्न संस्कृति झल्काउने झाँकीसहित बजार परिक्रमापछि शुरु भएको महोत्सवमा स्थानीय कविहरुको गोष्ठी, कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यावसायिक गतिविधि सञ्चालन गरिएका थिए । कविता गोष्ठीमा ३ दर्जन स्रष्टाले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए । कविता लेखन प्रशिक्षणको छन्द कविता अभियानका अगुवा प्रा. डा. देवी नेपालले सहजीकरण गरेका थिए । सो प्रशिक्षणमा ३ सय ५० जनाको सहभागिता रहेको थियो ।

संस्थापक अयक्ष एलपी उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रम रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेंलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुरुङ्गा डान्स सेन्टरले स्वागत नृत्य, संगीत साधना कला केन्द्रले स्वागत गीत, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलले स्वागत कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष शेरबहादुर थापा, रोटरी क्लबका डिस्ट्क्टि एसिस्टेण्ट गभर्नर सन्दीप चापागाईले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा वासुदेव मण्डलद्वारा लिखित ध्रुबसत्य पुस्तकको लोकार्पण गरिएको थियो भने कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीले लोकार्पित कृतिको समीक्षा प्रस्तुत गरेका थिए ।

औपचारिक कार्यक्रम आयोजक संस्थाकी सचिव विनिता मैनाली (बिमली) र साहित्यिक कार्यक्रमको सञ्चालन गजलकार प्रेम प्रभातले गरेका थिए । साँझमा विभिन्न जातिका नृत्य तथा गीतसहित चर्चित हास्यकलाकार मनोज गजुरेलको विशेष प्रस्तुतिका साथमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । साँझको कार्यक्रम युवा उद्घोषक रिसभसिंह चाहारले सञ्चालन गरेका थिए । समग्र महोत्सवको सामाजिक तथा शैक्षिक व्यक्तित्व अखिलकुमार कोइरालाले संयोजन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here