सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय

0
5
काठमाडौँ,
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही थप प्रमाण र तथ्य प्राप्त हुन आएकाले सोको अध्ययन विश्लेषण गर्न र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइनसकेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो ।
आयोग प्राप्त प्रमाणको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रुपमा बुझिदिनुहुन उहाँले आग्रह गर्नुभयो । आयोगले फागुन मसान्तभित्रै सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उहाँको भनाइ छ ।
सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तीन महिनामा अध्ययन नसकिएपछि आयोगलाई दुई महिनाको समय थप गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here