शनिबारबाट छैठौं झापा गोल्डकप शुरु हुँदै

0
10

झापा ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिवारबाट अर्ना छैठौँ झापा गोल्डकप शुरु भएको छ ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताका रुपमा हेरिने झापा गोल्डकपको छैठौँ संस्करण आजबाट शुरु भएको हो । फागुन २८ गतेसम्म हुने प्रतियोगितामा ए डिभिजन क्लवका १० वटा टिमले सहभागिता जनाउने झापा गोल्डकपका अध्यक्ष बिनोद वस्नेतले जानकारी दिए ।

बिर्तामोड–३स्थित बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव र संकटा एफसी मैदानमा उत्रनेछन् । शुक्रवार झापा गोल्डकपको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष बस्नेतले भने – सबै तयारी पूरा भयो भव्य उद्घाटनका साथ झापा गोल्डकप शनिवारबाट शुरु हुन्छ । झापा गोल्डकप सफल बनाउन नेपाल तथा विभिन्न
देशबाट सहयोग प्राप्त भएको भन्दै उनले सहयोगीहरुलाई धन्यवाद दिएका छन् । उनले राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय झापाली समाज तथा झापाका विभिन्न संघ–संस्था र नागरिकको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे ।

झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको पत्रकार सम्मेलनमा झापा जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले मामा, महासचिव गजेन्द्र पौडेल, कोषाध्यक्ष केदार गिरी, बिर्तामोड नगरपालिका वडा नम्वर ३का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा यो वर्ष पुरस्कारको राशि बढाइएको झापा गोल्डकपका अध्यक्ष बस्नेतले जानकारी दिए । यो वर्ष झापा गोल्डकपको बिजेता टिमले नगद १३ लाख र उपबिजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा बिजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव पौडेलले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कोषाध्यक्ष गिरीले बताए । छैठौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ ।

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ । छैठौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगिता चर्च ब्वाइज युनाइटेड एफसी, मच्छिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् । यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्डकप खेल्ने पक्का भएको हो । झापा गोल्डकपको शनिबार हुने उद्घाटन झापा क्षेत्र नम्वर २ का सांसद एवम् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने बताइएको छ ।

हरेक दिन झापाका राजनीतिक , सामाजिक, खेल क्षेत्रका अगुवाहरु अतिथिको रुपमा आगमन हुने बताइएको छ । झापा गोल्डकपको सञ्चालनको अवधिमा ३० हजार दर्शकले टिकट लिएर गोल्डकपको अवलोकन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here