रंगशाला व्यवस्थित गर्ने सभामुखको प्रतिबद्धता

0
10

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेल क्षेत्रको माध्यमबाट देशको विकास गर्न सकिने बताएका छन् । शनिवार बिर्तामोडको डोमालाल रंगशालामा शुरु भएको झापा गोल्डकपको उद्घाटन गर्दै प्रमुख अतिथि घिमिरेले खेलले शारीरिक स्फूर्तिसँगै स्वस्थ रहन समेत महत्वपूर्ण सहयोग गर्ने भएकाले खेल क्षेत्रको विकास गर्न जरुरी रहेको बताए ।
डोमालाल राजवंशी रंगशालालाई व्यवस्थित गर्न आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग गर्ने बचन दिएका घिमिरेले केही ब्यक्तिले रंगशाला हडप्न खोजे पनि उक्त प्रयास असफल हुने भन्दै आगामी बर्षसम्ममा रंगशालालाई झापा गोल्डकपको मातहतमा ल्याउन सहयोग गर्ने प्रतिवद्धता जनाए । झापा खेल क्षेत्रको उर्वरभूमि भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा झापा गोल्डकपले महत्वपूर्ण सहयोग गरेको सभामुख घिमिरेको भनाइ छ । उनले रंगशालालाई व्यवस्थित गर्दै स्थायी प्यारापिट तथा घेराबारा गर्नका लागि सहयोग गर्ने बचन दिए ।
अस्थायी प्यारापिट निर्माण गर्दा वर्षेनि १०देखि १५ लाख रुपैयाँ खर्च हुने भन्दै स्थायी प्यारापिट बनाउन सबैले पहल गर्नुपर्ने धारणा राखे । जसका लागि सबै राजनीतिक दल र कानूनी प्रक्रियाका जटिलताहरु फुकाएर अघि बढेको खण्डमा एक वर्षभित्र स्थायी प्यारापिट निर्माण हुने उनको भनाइ छ । बिर्तामोडको बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउन सकिने भन्दै रंगशालालाई व्यवस्थित गरेसँगै भारत, भुटान, वंगलादेशसहितका छिमेकी देशहरुका टिमलाई सहभागी गराउँदै अझ रोमाञ्चक प्रतियोगिता गराउन सकिने सभामुख घिमिरेले बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले रंगशालालाई व्यवस्थित गर्न राजनीतिक नेतृत्व लाग्नुपर्ने धारणा व्यक्त गरे । डोमालाल राजवंशी रंगशालाको संरक्षण गर्नुपर्ने दायित्व सबै झापालीको रहेको भन्दै त्यसका लागि दलगत स्वार्थभन्दामाथि उठ्न उनले आग्रह गरे । उनले रंगशालालाई व्यवस्थित गर्ने काम सबैको भएकाले त्यसमा रहेका कानूनी अड्चन तथा अप्ठ्याराहरुलाई हटाउन राजनीतिक नेतृत्वले चासो दिनु पर्ने बिचार व्यक्त गरे । झापालीलाई स्थायी प्यरापिटसहितको डोमालाल राजवंशी रंगशाला आवश्यक रहेको भन्दै उनले बर्षाैसम्म एउटै विषय सम्झाउनु नपरोस् भन्दै सभामुखलाई घच्घच्याएका थिए । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षा निकायहरुका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उद्घाटन समारोहको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

दर्शकको उत्साहजनक सहभागिता

शनिवारबाट झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शुरु भएको छैठौं झापा गोल्डकपमा दर्शकको उत्साहजनक सहभागिता रहेको छ ।
फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको पहिलोदिन नै दर्शकको उत्साहजनक सहभागिता रहेको हो । कोरोना संक्रमणका कारण स्थगित भएको झापा गोल्डकपमा झापाली दर्शकको उत्साहजनक सहभागिता रहेको हो । गतवर्ष झापा गोल्डकपलाई भद्रपुर गोल्डकपका रुपमा चन्द्रगढीमा रहेको रंगशालामा आयोजना गरिएको थियो । छैठौं संस्करणका रुपमा शुरु भएको गोल्डकप प्रतियोगितामा झापासहित विभिन्न जिल्लाबाट सहभागी भएका दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

मोफसलकै सर्वाधिक राशि र प्रतिष्ठित प्रतियोगिताका रुपमा सञ्चालन हुँदै आएको झापा गोल्डकपमा घरेलु दर्शकको उल्लेख्य सहभागिता रहेको छ । झापा गोल्डकप हेर्न बालबालिकादेखि बृद्धबृद्धाहरु समेत टिकट काटेर रंगशाला प्रवेश गरेका थिए । प्रतियोगिता सञ्चालन अवधिमा प्रत्येक दिन करिव ३० हजार दर्शकले टिकट काटेर प्रतियोगिताको अबलोकन गर्ने अपेक्षा राखिएको झापा गोल्डकपका अध्यक्ष बस्नेतले बताए । विगतका वर्षहरुभन्दा यस बर्ष प्रतियोगितालाई थप व्यवस्थित गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । यस वर्ष प्यारापिट, पार्किङ तथा शौचालयलाई व्यवस्थित गरिनुका साथै उपस्थित दर्शकलाई आवश्यक पिउने पानी वितरणको व्यवस्था मिलाइएको छ । टिकट काउन्टरलाई थप व्यवस्थित गर्दै सहज रुपमा टिकट काट्न सकिने व्यवस्था मिलाइएकाले प्रतियोगिता हेर्न चाहने दर्शकले सहजै टिकट पाउने अध्यक्ष बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here