झापा गोल्डकपको उपाधि आफैले जित्ने एपीएफ र चर्च ब्वाइजको दाबी

0
11

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित डोमालाला राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि भोली सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् ।

पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा पुगेका दुवै टिमले नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् । फाइनल खेलको पूर्व सन्ध्यामा आज बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका हुन् ।

प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम कप्तान दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफका टिम म्यानेजर सुशिल अधिकारी र कप्तान हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका हुन् । प्रि–म्याच कन्फ्रेसको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

बिभागीय टोली एपीएफले झापा गोल्ड कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएपले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफ पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइजको यात्रा भने प्रतियोगितामा उत्साहजनक रहयो ।

चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथी १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रि–म्याज कन्फ्रेसमा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी, महासचिव गजेन्द्रबहादुर पौडेल, झापा फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा) ले झापा गोल्डकपका बिषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।

झापा गोल्ड कपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here