झापा ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैटौं झापा गोल्डकपको स्टेजमा पूर्वराष्ट्रिय खेलाडीदेखि राजनीतिक दलका शीर्ष नेता प्रमुख अतिथि बनेका छन् ।
फागुन १९ गतेबाट शुरु भएको झापा गोल्डकप आज फागुन २८ गते समापन हुँदैछ । नौ दिनसम्म सञ्चालन भएको खेलमा झापा ११ सहित राष्ट्रिय टिमका ए डिभिजन क्लवहरुको सहभागिता रह्यो । आज उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लव र चर्च ब्वाइज क्लव प्रतिष्पर्धा गर्दैछन् ।
झापा गोल्डकपले शुरुवाती चरणबाट नै झापाबाट नेतृत्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने गरेको छ । छैटौं झापा गोल्डकपको उद्घाटन झापा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य तथा सभामुख देवराज घिमिरेले गरे भने समापन झापा क्षेत्र नम्वर १का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्दैछन् ।
प्रतियोगिता सञ्चालनका अवधिमा झापाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बाँस्तोला प्रमुख अतिथि बनेका थिए भने हरेक दिन सञ्चालन भएका प्रतियोगितामा फरक–फरक प्रमुख अतिथि राखेर कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतियोगितामा पूर्वमुख्यमन्त्री उद्धव थापा, हिक्मत कुमार कार्की, पूर्व राष्ट्रिय फुटवल खेलाडी मित्रसेन भट्टराई, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतरा प्रसाई, पूर्व महान्याधीवक्ता अग्नि खरेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल लगायत प्रमुख अतिथि बने । कार्यक्रममा प्रमुख अतिथि बनेर सहभागी भएका उनीहरुले खेल क्षेत्रको विकासका लागि राज्य पक्षबाट सहयोग गर्न जरुरी रहेको बताए ।
डोमालाल राजवंशी रंगशालाको स्तरोन्नतिका लागि सबै क्षेत्र एकजुट हुन आवश्यक रहेकोमा प्रमुख अतिथिहरुको जोड थियो । रंगशाला अहिले पनि भूमाफियाकै कब्जामा रहेकाले त्यसलाई सरकारको मातहतमा ल्याउन सबै क्षेत्रबाट पहल गर्नुपर्नेमा उनीहरुले जोड दिए । झापा गोल्डकप झापाको गौरव र शान भएकाले प्रतियोगितालाई निरन्तरता दिँदै खेलाडी उत्पादनतर्फ ध्यान दिन आयोजकलाई उनीहरुले आग्रह गरेका छन् ।
वर्षेनि अस्थायी प्यारापिटका कारण लाखौं रुपैयाँ खर्च भइरहेकाले त्यसलाई रोक्न पनि स्थायी संरचना आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन् । डोमालाल राजवंशी रंगशाला देशकै उत्कृष्ट रंगशाला रहेकाले यसको संरक्षणमा झापा गोल्डकपले ध्यान दिनुपर्ने प्रमुख अतिथिहरुको भनाइ छ ।
छैटौं झापा गोल्डकपलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग पु¥याएको भन्दै आयोजक समितिले जग्गा दाता परिवार सहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । डोमालाल राजवंशीका सन्ततिसहित डोमालाल राजवंशीको स्केच तयार गर्ने प्राज्ञ पवन राजवंशी, पूर्वखेलाडी लुना प्रधान, पूर्व राष्ट्रिय खेलाडी महेन्द्र ढकाल, झापा गोल्डकपका कार्यसमिति सदस्य यादव पोखरेल, सचिवालय सदस्य चन्द्र तिम्सिना, सञ्चारकर्मी हिमाल खरेल, भूमिका सुब्बा, विशला नेम्वाङ्ग र सचिन सुब्बालाई सम्मान गरिएको थियो ।
एउटै स्टेजमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा पूर्वखेलाडीहरुलाई प्रमुख अतिथिका रुपमा सहभागी गराएर झापा गोल्डकपलाई सबैको अपनत्व हुने गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बिनोद बस्नेतको भनाइ छ । झापा गोल्डकप सफल बनाउन स्थानीय तह, अन्तर्राष्ट्रिय झापाली समाज, यति ब्रुअरी, विभिन्न राजनीतिक दल, सामाजिक संघ– संस्था, झापाली दर्शक तथा सबै क्षेत्रको सहयोगका कारण गोल्डकप सफल बनेको अध्यक्ष बस्नेतको भनाइ छ ।





























