भोजपुरको याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना

0
8
टक्सार (भोजपुर), 
भोजपुरको पूर्वी अरुण गाउँपालिका–१, याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अस्थायी प्रहरी पोष्टको प्रहरीे प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्र कुँवेर खापुङले आज उद्घाटन गर्नुभयो ।
पुरानो वडा कार्यालयको भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । प्रहरी हवल्दार प्रेम कुमार तुम्बापोको नेतृत्वमा प्रहरी व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिले प्रहरी पोष्ट स्थापनाका लागि पठाएको माग स्वीकृति भएर आएपछि प्रहरी पोष्ट स्थापना भएको हो । अन्य प्रहरी पोष्टभन्दा टाढा रहेका कारण सो क्षेत्रमा स्थानीयले प्रहरी युनिटको माग गरेका थिए । प्रहरी पोष्ट स्थापनासँगै याङपाङ र आसपासका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने भएकाले सोहीअनुसार प्रहरी कर्मचारीले काम गर्नुपर्ने प्रहरीे प्रवक्ता डिआइजी ढकालले बताउनुभयो । प्रहरीबाट नागरिकले गरेका अपेक्षाअनुसार शान्ति सुरक्षा सुदृढ गर्ने कार्यमा लाग्न चौकीमा खटिएका प्रहरीलाई डिआइजी ढकालले निर्देशन  दिनुभयो ।
मुलुकमा शान्ति सुरक्षा कायम गराउन नेपाल प्रहरीले भूमिका निर्वाह गरी रहेको बताउँदै प्रवक्ता डिआइजी ढकालले विकास र प्रविधिको विकाससँगै अपराधका घटनामा वृद्धि हँुदै गएकाले यसतर्फ नागरिक पनि सचेत रहन जरुरी रहेको बताउनुभयो । विगत २० वर्षभन्दा अगाडि नचिनेका समूहबाट अपराधिक घटना हँुदै आएकोमा अहिले ८० प्रतिशतभन्दा बढी अपराध चिनजानको पक्षबाट हुने भएकाले प्रहरीसँगै नागरिक पनि सजग हुन जरुरी रहेको प्रवक्ता डिआइजी ढकालले बताउनुभयो ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक खापुङले नागरिकले प्रहरी चौकीको माग गर्नु प्रहरीको सफलता भएको बताउनुभयो । प्रहरी पोष्टको सङ्ख्या घट्नेभन्दा पनि बढ्दै गएको देखिएको बताउँदै प्रदेश प्रहरी प्रमुख खापुङले अस्थायी प्रहरी पोष्टलाई स्थायी बनाउन स्थानीय सरकार र नागरिकले पनि सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
जिल्ला सुरक्षा समितिले ग्रामीण क्षेत्रमा पनि प्रहरी पोष्टहरु आवश्यक देखेकाले सोही अनुसार याङपाङमा पनि अस्थायी प्रहरी पोष्ट स्थापना भएको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताउनुभयो । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले प्रहरी पोष्ट स्थापनापछि शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकाभित्र रहेको अन्य वडाहरुमा प्रहरी पोष्ट आवश्यक देखिएको बताउँदै पालिकाभित्र इलाका प्रहरी कार्यालय स्थापनाका लागि पहल थाल्न जरुरी रहेको पनि बताउनुभयो ।
प्रहरी पोष्ट स्थापनासँगै याडपाङवासीमा उत्साह देखिएको छ । प्रहरी चौकी स्थापनासँगै शान्ति सुरक्षासँगै सुशासनमा पनि सहजता हुने स्थानीयवासी तीर्थ महतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here