इलाम धार्मिक महोत्सव आजदेखि

0
6

मङ्गलबारे (इलाम),

इलामको इलाम नगरपालिका–६ र ८ स्थित सिंह सिद्धदेवी तथा देवी पञ्चालन मन्दिर सिङफिरिङमा आजदेखि ‘इलाम धार्मिक महोत्सव’ सुरु हुँदैछ । अठार पुराण समापन तथा इलाम धार्मिक महोत्सवका लागि विभिन्न धर्मगुरुहरू यहाँ आइपुग्नुभएको छ ।

धार्मिक पर्यटनमा जोड दिन जिल्लालाई बहुधार्मिकस्थलका रूपमा विकास गर्नका लागि आयोजना गरिएको इलाम धार्मिक महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बहुधर्मको विकासका लागि धार्मिक महोत्सव गर्न लागिएको आयोजक १८ पुराण मूल आयोजक समितिका संयोजक सन्दीपकुमार बुढाथोकीले बताउनुभयो ।

बैदिक सनातन धर्मको साझास्थलका रूपमा इलामलाई विकास गर्न जिल्लाका विभिन्न शक्तिपीठमा १७ पुराण सम्पन्न भइसकेपछि १८ पुराणको तयारी गरिएको हो ।

धार्मिक सहिष्णुता, मानव एकता एवं विश्व शान्तिको सन्देशसहित धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सवमा भावगत मञ्जरी राधिका दासी, वौद्ध धर्मगुरु खेन रेम्पोछे फुर्तेम्बा शेर्पा, किरात धर्मगुरु महिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन र जगदगुरु श्रवालसन्त मोहन शरणदेवचार्य महाराजश्रीको उपस्थिति रहने छ ।

महोत्सव समापन तथा १८ पुराण समापनका लागि एक हजार ९३ जनाको मूल आयोजक समिति गठन गरिएको आयोजक समितिका सचिव रविन रायले जानकारी दिनुभयो ।

अठार पुराणका लागि १८ वटै मण्डप निर्माण गरिएका छन् । अठार पुराण समापन र इलाम धार्मिक महोत्सवबाट बचेको रकमले बहुधार्मिक सङ्ग्राहलय निर्माण गरिने उहाँले बताउनुभयो । महोत्सव यही चैत ९ गतेसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here